टेम्केमा छुटेका कविताहरु
अक्कल झुक्कल सञ्जालमा पोष्टिइएका फोटोहरू हेरेर टेम्के चखियाले निकै पहिलै नै मलाई खिचेको थियो । चखियाको जादुई प्राकृतिक सौन्दर्यले एकपटक त्यहाँ पुगेरै छाड्ने रहरलाई भकभक उमालेको थियो । मुन्धुम ट्रेलको महिमा र प्राकृतिक सौन्दर्यात्मक वातावरणीय माहौलले हुरुक्कै बनाएको थियो ।
अर्कातिर पहिचान पुरस्कार समारोह काठमाडौँमा वितरण गरिन्थ्यो । स्थनिकतासँग जोडिएको पहिचान पुरस्कार काठमाडौंमा वितरण गरिनु पेचिलो विषय थियो । केन्द्रीय मानक भत्काउने भन्ने तर, केन्द्रलाई नै पक्षपोषण गर्ने कार्य सुहाउँदिलो देखिएको थिएन । नरेश काङमाङले फेसबुकमा हठात् ०७७ को पहिचान पुरस्कार चखिया भोजपुरमा वितरण गर्ने घोषणा गरेपछि यो फरक प्रकारले जिज्ञासापूर्ण बन्यो । र जसरी पनि चखिया पुगेरै छाड्ने रहर पलायो ।
पूर्वबाट कृष्ण बराल, विराट किराँती, साङ्सेन पङ्धाक, सेलिङ केसी, भवानी आङ्देम्बे, रुमानी कुलुङ र पंक्तिकार स्कोर्पियोमा हुइँकियौँ । कुमार भट्टराई बाइकमा हुइँकिए । तीन दिने यात्रा सम्पन्न गर्ने निधोका साथ बाटो लाग्यौ ।
० यात्रा रमाइलो अविस्मरणीय रह्यौ । जीवनलाई झमेलाभन्दा पर लगेर एक छिन शून्यमा आफूलाई अड्याउनु पनि निकै लामो समय कुर्नुपर्छ ।
साथीहरू भनेको यो जुनीको घाम जुन हुन् । जसले जीवनको अँध्यारोमा अलिकति उज्यालो खसेको सम्झनाको नदी बगाउँछन् । सम्झन सक्ने सम्झनाहरू दिन्छन् । व्यवहारले गलेको ओठमा हाँसोको बर्सात गराउँछन् ।
यात्रामा ननभेज ठट्टाले साथ दियो । फेरि ठट्टा नगरी बाटो काट्नु सजिलो पनि हुन्न । हाँस्यरसले अझ जिउन सजिलो बनाउँछ । दमालेको यात्रा अरूभन्दा छुट्टै मजाको हुन्छ । त्यसका लागि हामीले कुनै कसर बाँकी राखेनौँ । यद्यपि साहित्यकारहरूको समूहमा शृङ्गारिक ठट्टाको कुनै बन्देज हुँदैन । विशेष नेपाली साहित्यमा पूर्वेली योगदानबारे पनि छलफल भयो । समीक्षाले संवाद निकै ततायो ।
० अचानक भेटिएकी बदाम बेच्ने सोल्टिनीले भोजपुर पुग्न आँट्दा मन बिछट्ट बनायो । बाटोमा मास्कमा बदाम बेच्न आएकी युवतीलाई ‘सोल्टिनी’ सम्बोधनले विभूषित गरेर कविहरूले मास्क खोलेमा बदाम किन्ने सर्त अघि सारे । उनले पनि बाध्य भएर एक छिन मास्क खोलेर मुस्कानको बादल छोडेको दृश्य अदभूत थियो ।
मास्क लाउनु र खोल्नु सामान्य हुन् । तर, जब त्यो बाजीमा परिणत हुन्छ, विशेष बनेर मन छुने हुँदो रैछ । उनले बदाम बेच्न मास्क खोलिन् मुस्किलले । र सौन्दर्य फुकाइन् ।
० बाटोमा भेटिएको तीन तले झरनाको प्राकृतिक दृश्यले मोहित बनायो । पानी कम थियो तर, तला तलाबाट ओर्लिएको पानीको आवेगले कविहरूको मनको तलालाई उछाल दियो । म र साङ्सेन कवि दोस्रो तलासम्म बल्लतल्ल उक्लियौँ । फोटो सुट गर्यौँ । भवानी आङ्देम्बेले भिडियो खिच्न मेहनत गरे । अरू कविहरूले फेदैबाट तस्बिर लिएर चित्त बुझाए । यो झरना मधेसदेखि एक घण्टासम्मको ड्राइभमा पुगिने भए त्यो क्षेत्रको कायापलट हुन्थ्यो झैँ लाग्यो ।
० गुराँसको बोटको मृत्यु छलेर बाँचियो । तीन तले झरना छेउमा बाटोमुनि राताम्मे भएर फुलेको गुराँसले हामीलाई हुरुक्कै बनायो । ओर्लेर नजिकै गएर फोटो लिन तँछाडमछाड गर्दा मैले पक्रेको बिरुवा लुलो परेकोले म बत्तिएर भिरतिर जान लाग्दा कवि सेलिङ केसीले एक्कासि मलाई समाते । अस्वाभाविक दुर्घटनाबाट बचाए । झरेको भए अकल्पनीय घटना हुन सक्थ्यो ।
मेरो ज्यानै सिरिङ्ग भयो । निकै बेरसम्म बिसन्चो भयो । घर पुगेर पनि यो घटना गुपचुप नै राखियो । बित्थामा किन परिवारको मन अमिलो बनाउनु हगि ! त्यस्तै घटना कवि विमलसित इटहरी जाँदा हामी चढेको स्कुटीलाई लरी ट्रकले छोएर अलिकतिले दुर्घटनाबाट बचेको हो । बल्लबल्ल स्कुटी नियन्त्रण भएर बाँचियो । कवि विमलले भेट्ने बित्तिकै झन्डै मारिएको घटनाबारे सधैँ सम्झाउँछन् । यो पनि हामीले घरमा नभन्ने निधो गर्यौँ । सेलिङ् केसीले त्यत्तिखेर ज्यान फिर्ता दिएको हो मलाई ।
० लामो यात्रामा निस्केको पानी हाँसको बथान साँझमा विश्राम गर्न ओर्ले झैँ पूर्वेली हृदय बोकेर साँझपख चखिवा पुगियो । कवि मुकारुङहरुको घर कता होला भन्ने निक्कै सोधखोज समेत गरियो । हामी पुग्दा मेसमा साथीहरू झ्याप्प बसेका थिए, डाँडाको फेदमा कर्याङकुरुङको बथान बास बसेजस्तो ।
तर, हामीले चखियाको साँझको लोभ गर्यौँ र डाँडामा उक्लियौँ । लोभलाग्दो साँझलाई भरपुर उपयोग गर्यौँ । भोजपुरको टक्सार डाँडामाथि झुलिरहेको जुनलाई हत्केलामा राख्ने बहुत कष्ट गरियो । बुकी फुलको सानो टुसाहरू बिचार जस्तो टुसाउँदै थियो नाङ्गो चखिया डाँडामाथि । फर्किदा मेसमा ढिलो भएछ। उभ्रिएको लियौँ र कोठा छिर्यौं ।
० चखियाको मेसमा आयोजक नरेश काङमाङको मिलिट्री अनुशासन हाबी थियो । यो सहभागीको धारणा हो । स्वयम् नरेश काङमाङले बिचबिचमा कमान्ड गर्दा यो लाइन उद्घोष गर्ने गरेका हुन् । चखियामा दुई चार घर बाहेक थिएन । त्यस्तो अनकन्टार क्षेत्रमा अनुशासन नहुँदा टिक्न टिकाउन मुस्किल हुने नै भो । उनको यो अनुशासनले नै पहिचान पुरस्कार स्थापना भयो । र यो उचाइ प्राप्त गर्यो ।
टेम्के मैयुङ गाउँपालिकाको अध्यक्ष ध्रुव राई भान्सामा खटिएका थिए । दोस्रो स्थानीय चुनावमा चाहिँ उनी पराजित भएछन् ।
ढुङ्गामा पोलेको सुँगुरको सेकुवा, कोदोको लोकल सिजँवा कवि नरेश र लोकल साथीहरूले आफै पस्किन्थे । त्यहाँको सिजंवाको मिठास यता तीन पानेमा मात्रै पाइन्छ । तीन पानेको ब्रान्डिङ गर्ने र अन्तर्राष्ट्रिय निकासी गर्ने भन्ने अभियान चुनावी नारा बाहेक माथी उठेन ।
० मेसमा भेटिएको आयोजकमध्ये पाविहाङ साइनोले धेरैको मामा बाजे पर्ने रहेछन् । गुराँस जोगाउन फूल टिप्नेलाई हायलकायल पार्ने उनको अभियान रहेछ । प्रकाश दिप्सालीसित हामीले गुराँस टिप्दा यो प्रसङ्ग उठेको थियो ।
धेरैसँग आवेगमा तर्क गर्ने, स्ल्याङ शब्दले जोरजुलुम आक्रमणमा उत्रने उनको सामान्य स्वभाव रहेछ । कुनै समय सिडिओलाई कार्यालयमै स्ल्याङ हानि पठाएका थिए रे ! थोरै लफडा समेत भएर सम्झौता भएछ । वामपन्थी नेता अजम्बर काङमाङसँग घमासान वाक युद्ध पर्यो । तीन दिन बस्दा एक दिन पाविहाङ कुन कामले गयल भए कुन्नि । कवि विराट किराँतीले पाविहाङ खोइ भने । ‘छैन’ भनेपछि आजको पाविहाङ विराट किराँती हो भनेर उपरखुट्टी लाए । हाँसोले चखिया गुन्जियो ।
आधारातको हाइकिङ टेम्केको मिसनमा थियो । टेम्के शिखरमा तेप्लायुको विमोचन गर्नु थियो । चखियादेखि टेम्केको उकालो चार घण्टाको यात्रा रहेछ । कृष्ण दाइ र म अघि लाग्यौँ आधारातमै । पछिपछि अरू आए । हामी गाडीको बाटो अघि लाग्यौँ । सुनसान रातमा गुराँस र कटुसको जङ्गलको बिचमा हिँडिरहेका थियौँ । एक जना महिला आधारातमा ओरालो झरिरहेको देखेर छक्कै पर्यौं । डर पनि लाग्यो । पहिले त भुत वा कुनै जनावर हो कि लाग्यो । पछि अरू सित बुझ्दा दिमागी हालत अस्वाभाविक भएर वर्षौँदेखि यसरी घुम्दी रहिछन् ती दिदी ।
मेरी आमाको पनि ठिक यस्तै हालत थियो दशकौँ अघि । मन दुखिरह्यो एकतमास । जिन्दगीको खास टुङ्गो छैन । सोचेको जस्तो नि भइरहँदैन । तथापि बाँच्नु छ जसरी पनि । गन्तव्यविहिनहरुले पनि जसोतसो बिताउनु छ यस धर्तीमा ।
० टेम्के शिखर आरोहण यात्रा मुन्धुम ट्रेलबाट जाने रहेछ । मुन्धुम ट्रेल ढुङ्गा बिछ्याइएको उकालो बाटो हो । जो सिधा छ । ट्रेलबाट मात्र जाने भनेर पछाडिबाट ठूलो स्वरमा उर्दी भएपछि हामीले जङ्गलको बिचमा बाटो मोड्यौँ ।
खगेन्द्र सङ्ग्रौला लगायत काठमाडौँको टोली हाम्रो अगाडि लागे । खगेन्द्र दाइको खुट्टाले उकालो चढ्दा एउटा ढुङ्गा धसारेर खसाए अँध्यारोमा । त्यो ढुङ्गा कृष्ण दाइको खुट्टामा बजारियो । उनी घाइते भए । म पछि थिएँ । दाइ हिंड्न सकेनन् । ‘बोरोको निरङ्कुश खुट्टाको प्रहारले आकस्मिक निर्मित चोटले बराल घाइते भए’ भन्ने किस्सा कार्यक्रम भरी गसिप बन्यो ।
हामी अँध्यारोमा बाटो खोज्न भौतारियौं । सास बढेर ज्यान सिद्धिएला जस्तो भयो । लुगा भारी भएर फ्याँक्नु जस्तो भयो । ट्रेलबाट हिँड्नेहरु माथि जङ्गलमा यता यता भन्दै कराइरहेका थिए । हामी तल दुई जना अलमलमा थियौँ ।
अरूले हामीलाई छोडेका थिए । मैले दाइलाई ढुक्क हुनु दाइ म तपाईँलाई छोडेर जान्नँ भनेँ । हामी बिस्तारै हिँडेर ट्रेलमा पुग्यौँ । आराम गर्यौँ । दाइको मोबाइल खसेछ । अरू कोही पछाडि अझै आइरहेका थिए । उनीहरू कसैले ल्याएर दिए । हामी सबैभन्दा पछि उकालो लाग्यौँ । धेरै पछि कवि साङसेनको समूह बाँकी रहेछ । ढुङ्गा मिलाएर बिच्छ्याएको कपरिङ कपरिङ उकालो बाटोमा ठाउँ ठाउँमा ढुङ्गाकै चौतारी बिसाउँदै सास फाल्दै हेपेक हेपेक हुँदै अरूलाई पच्छ्यायौँ ।
दुई–दुई वटा लौरो टेकेका थियौँ । उँभो हेर्दा स्वर्गको लिस्नो जस्तो कलात्मक ढुङ्गे बाटो, जो जहिल्यै नसिद्धिने अनन्त मुन्धुमीद्वार जस्तो आकाश उक्लिरह्यौं । उँधो हेर्दा सुनसान गुराँसे वन । कतै सिरिङ्ग हुने अप्ठ्यारो साँघुरो उकालो र गोडा काप्ने भिर । हेमान– हेमानको गुराँसको बोटको जङ्गल । सायदै अन्यत्र पाइएला यति ठूलो गुराँसको बोट !
चालिसको दशकमा पाथिभरा मुकुमलुङ जाँदा यस्तै अग्लो गुराँसको रुख र लौठ सल्लाको रुखको घना पट्टेर जङ्गल थियो । अहिले विकासको नाममा सबै फाँडेछन् । कवि नरेशले भने, ‘अब हामी टुप्पामा पुगेर सूर्योदय हेर्न सक्दैनौ, अबेर भयो ।’
नरेशको कुराले हामी थोरै निराश भयौँ । सवा छ बजे० बिहान हामी उकालो बोकेर उक्लिरहेका थियौँ । आफैलाई घिसारिरहेका थियौँ । म कृष्ण दाइसँगै थिएँ ।
कृष्ण दाइको रोकिएको सासले आधा बाटोपछि स्वतःस्फूर्त पुनर्जीवन प्राप्त गर्यो । शिखर देखेर हाम्रो जाँगर गुराँस जस्तो हलक्क हुर्कियो । हामी शिखर पुग्यौँ । टेम्केको शिखर चढेको आख्यान मैले प्रगति राईको तेस्रो उपन्यास ‘थाङग्रा’को पाण्डुलिपिमा पढेको हो । आज आफै चढेँ।
प्रसिद्ध गीतकार श्रवण मुकारुङको ‘माथि माथि सैलुङगेमा चौरी चराउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई’ गीत सम्झेर हुरुक्क हुँदै टेम्के चढियो । हेमान गुराँसको बोटले ढाकेको जङ्गल हेर्दै डाँडा उक्लियौँ । सैलुङ थोरै होचो टेम्केबाट दक्षिण पर्दो रैछ ।
० टेम्के प्राकृतिक अवस्थामा रहनु पर्छ भन्नेहरूले मुन्धुम ट्रेल बनाए । उनीहरूले भने, ‘हिँडेरै शिखर टेक्नु पर्छ । हिँड्नु जतिको हाइकिङको मजा अरू थोक हुन्न । प्राकृतिक अवस्थामा छोड्नु थोरै आवश्यकीय विनाशले विकास आउँछ ।’
वातावरण संस्कृति विकाससँगै लिएर जानू उनीहरूको धारणा देखियो । मोटर बाटो लग्यो भने विकास छिटो हुन्छ, पर्यटन चाँडो फस्टाउँछ भन्ने समूहले सडक भूटावर बनाउनु पर्छ भनेर डाँडामा ठूलो खाडल पनि खनेछन् । डाँडाको त्यो भौडी देखेर मन कटक्क खान्छ । टेम्के आफै भ्यूटावरभन्दा अग्लो छ । फराकिलो छ । मनमोहक छ । सुरम्य छ । त्यहीँ साथीहरूले खाल्डा खने । नरमाइलो लाग्छ।यो द्वन्द्व जताततै छ ।
वास्तवमा भ्यूटावर बनाउनु पर्ने ठाउँमा मात्र बनाउने हो । मेरो गाउँको धारागोलामा भ्यूटावरको प्रस्ताव गर्ने मेरो मिसनप्रति म पश्चताप गरिरहेको छु अहिले । साठी लाख ज्यादा खर्च भइसक्दा पनि निर्माण सकिएको छैन । स्थानीय सरकारको दुई कार्यकाल भइसक्दा पनि राम्रो नियमन छैन । राजनैतिक इस्यू ज्यादा हुने र’छ । नयाँ सरकारले वा वडाध्यक्षले पुरानोको कामलाई मान्यता नदिने मनोविज्ञान नेपाली विकासको असफलताको मूल कारण रहेछ । आफ्नो मात्र ठिक ठान्ने परिपाटी नेपाली समाजको मनोवैज्ञानिक अधोगति हो । यो हाम्रो समाजको विडम्बनाको सूचक हो ।
कवि साङसेन वरकले भ्यूटावर बनाउनु कति उचित अनुचित भन्ने बहस पनि चलाए । जत्तिखेर राज्यको भ्यूटावर मिसनको धुवाँदार बिरोध चलिरहेको थियो । कसैले पनि भ्यूटावर निर्माण सही भनेनन् । त्यो लगानी उत्पादक क्षेत्र शिक्षा रोजगार तथा स्वास्थ्य आदिमा लगानी गर्न सुझाए ।
० शिखरको अनुपम दृश्यपान गरेर मुग्ध भयौँ । चार घण्टाको हैरानी कुहिरो हटे जस्तो छ्याङ्ग भयो । पक्की सिमेन्टेड भवन पनि बनेको रहेछ । त्यो सबैले नबनाएको भए हुन्थ्यो भने । नजिकै ढुंगाको सानो मन्दिर रहेछ, जो स्थानीय कला सीप झल्काउने खालको थियो । नजिकै टिनको छानाको हावा घर रहेछ । यी दुई संरचनाको भने सबैले प्रशंसा गरे ।
हाम्रो मन उडेर रुवा जस्तो भयो । यति विशाल फाँट डाँडामा हाम्रो मन मृगको बच्चा जस्तो बुरुक बुरुक उफ्रियो । पुतली झैँ फिर्फिर नाच्यो । जता हेरे नि छ्याङ्ग ! मनलाई दृश्यसँगै परपर, तलतल अवतरण गर्यौँ । फाँटमा उभिएर हेईईई गरेर करायौँ । स्वरहरू पारी पारी पुगेर प्रतिध्वनित हुँदै फर्केर आयो । हिमाललाई एकछिन चुमेर आए ओठहरू । परको थुम्काथुम्कीलाई अङ्गालो हालेर फर्किए इच्छाहरू ।
तल चिन्डोको भुईँ चित्र रहेछ । माटो पेन्टिङ देखेर गदगद भयो हृदय । किराँत राईहरूको अधि सांस्कृतिक समयको मुन्दुमीक भौतिक सामग्री हो । जसले जीवन, सभ्यता र संस्कृतिसित बेजोड सम्बन्ध राख्छ । चिण्डोले जीवन बाँच्न आदिवासीहरूमा सभ्यताको उठानदेखि खोला तर्न, सामग्री सञ्चय गर्न, बिउँ बिजन जोगाड गर्न, पानी भर्न, सिँजवा, दुग्ध पदार्थ भण्डारण गर्न सहयोग गरेको हो । जो काष्ठ कलाको विकास अघिको सभ्यता हो ।
तेप्लायु विमोचन टेम्केको शिखरमा खगेन्द्र दाइको हातबाट सम्पन्न गरियो । तेप्लायु भनेको राई भाषामा योनी हो । जीवन र जगतको सृष्टिलाई निर्माण र सम्वद्र्धन गर्न मातृ शक्ति र मातृत्वको निर्विकल्प भूमिका हुन्छ भन्ने महत्त्व दर्साउन तेप्लायु नामकरण गरिएको हो । आदिवासीहरूले हिजो प्रथम र दोस्रो युद्धमा देश छोडे । आज अरब, मलेसिया, कोरिया, युरोपका लागि देश छोडिरहेका छन् । गाउँ रित्तै छ । हिजो युद्धमा हराएकाहरूको शोकमा आँसुको पुल बनाएर बाँचेकाहरू अझै छन् ।
दोस्रो दिन दिउँसो पहिचान पुरस्कारको भव्य आयोजना भयो । पहिचान पुरस्कार श्याम साहको “पथेर“ कथा सङ्ग्रह जो मधेसको उत्पीडन बोल्छ । र अनन्त वाग्लेको ‘कदम’ राउटेमाथिको रिसर्च कथालाई प्रदान गरिएको थियो । ‘कदम’ले नेपाली समाजमा समाहित हुन बाँकी एक मात्र राउटे जातिको पात्रलाई लिएर नेपाली समाजमा समाहित भएको कथा बोल्छ ।
दुवैले चार लाख दुई हजार पुरस्कारको आधा हिस्सा प्राप्त गरेका थिए । कृतिमाथि मेरो र गुरुङ सुशान्तको मन्तव्य थियो । संस्थापकको पक्षबाट नरेश काङमाङले अर्को वर्ष पुस्तकको सूची प्रकाशित नगर्ने घोषणा गरे पनि यो वर्षसमेत अग्रिम रुपमा छ वटा पुस्तकको सूचि पुरस्कारको लागि घोषणा गरिएको थियो । ती मध्ये यो वर्ष २०७९ मा अर्जुन माबुहाङ र अमित थेबे मिहाङको संकलित ‘सिरिजङ्गा ,फाल्गुनन्द र इमानसिङ चेमजोङको लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई प्रदान गर्ने कार्यक्रम छ ।
जाति, भाषा, राष्ट्र, सभ्यता, मानवता, भाइचारा, अस्तित्व, संस्कृतिको जगेर्ना, सम्मान र सम्वद्र्धनका लागि स्थापना र वितरण हुन्छन् पुरस्कारहरू । त्यो काम पहिचान पुरस्कारले पनि गरिरहेको छ । पुरस्कार सर्वसम्मत विवादरहित हुनु पर्छ । तथापि यो हुन सक्दैन । पहिचान पुरस्कार पनि विवादरहित भएको छैन । नभए पनि यो बाँचिरहनु पर्छ । निजी क्षेत्रको यो यति महत्त्वपूर्ण पुरस्कार गर्वको विषय हो । सर्वसम्मत होस् भन्ने सबैको चाहना हो ।
० चर्चित मुकारुङ निवास निस्किने हाम्रो अभीष्ट थियो । राजन मुकारुङबाट खानाको निम्तो समेत आएकोले हामी मुकारुङ हिम छिर्यौं । हाम्रो फिर्तीको दिन थियो । छिनोले कुँदेको ढुङ्गाको नाङ्गो पर्खालमाथिको काठे टाँढे दुई तले घुमाउने बरन्डा सहितको टिनको घर अगाडि ढुङ्गाको पानी धारा थियो । बाहिर चौरमा पलेटी मारेर लोकल भालेलाई रससित मजाले दन्काइयो । धौले कान्छा आएका थिए कुखुरा बनाउन । लेखकले चिनाए ।
० चखियाको नागी हेरेर अघाइँदैन । थुम्काथुम्की र दम्स्याइलो पाखाको नागीमा निकै रमायौँ । सयौँ रोपनीको खुल्ला डाँडामा घुमन्तेहरूको थुप्रै समूह आएर नाचगान, वनभोज आयोजना गरे।
त्यो डाँडापाखा काङमाङछा, एवैछा, माङपाङहरुको र मुनिको भाग मुकारुङहरुको थातथलो चरिचरन सिमेभुमे रैछ । नरेश काङमाङको नयाँ हिममा बगैँचा र आधुनिक पुस्तकालय तयारी हुने क्रममा थियो । भित्ता खारेर मेहनतका साथ बनिने क्रममा थियो । सायद यो पटक कार्यक्रम त्यही हुने होला ।
० हाम्रो अर्को योजना मुन्धुम ट्रेल भ्रमण गर्ने थियो । तर, टेम्के चढाइले कैँडा लागेर ज्यान लखतरान भएकाले मुन्दुम ट्रेलको यात्रा हाप्यौं । खासमा मुन्धुम ट्रेलको यात्रा पूरा गर्न कम्तीमा हप्ता दिनको समय छुट्टाउनु पर्छ । तरै पनि यसो एक दिनसम्म घुम्ने योजना थियो हाम्रो । जुन आउने चैत्रमा पूरा हुनेछ ।
ढुङ्गे सडक ढुङ्गाको बिसौनी, पहाडको अनुपम सौन्दर्य, हिमालको बिछट्ट छटा, गुराँस, चाँप, कटुसको घना जङ्गल बिच हिमाली चराहरूको सङ्गीत, पहाडी जनजीवनको सांस्कृतिक झलक, देहाती कठिन प्राकृतिक जिन्दगी जिउने कला बादलको घुम्टोको लुकामारी, मुन्धुमि गल्लीको दार्शनिक सांस्कृतिक भौतिक मानवीय प्राकृतिक वातावरणीय आध्यात्मिक अधिभौतिक चैतन्यको महसुसको प्राप्ति खोज नै मुन्धुम ट्रेलको विशेषता हो । जो कोलाहलभन्दा दूरको शान्ति हो ।
०००