‘आराध्या’को सन्देश: अभिभावकले समय नदिँदा बच्चाबच्चीमा एन्जाइटी र डिप्रेशन हुनसक्छ
रुपन्देही । विद्यालय परिसरको दृश्य । आराध्याको पढाइमा खासै ध्यान छैन । टोलाइरहेकी उनलाई त्यहीवेला एक साथीले भन्छन्, ‘आराध्या ? हिजो मेरो बर्थडे थियो नि ! सबैले के-के गिफ्ट दिनुभयो मलाई । दादाले, मामा, मामुले र साथीले । अनि थाहा छ ? हिजो म जु पनि गएको नि ! बाबाले मीठो पापा पनि किनिदिनुभएको थियो । अनि, आज मामुले मेरो फेभरेट टिफिन पनि आफ्नै हातले बनाउनुभएको छ, खान्छौ ?’
एक्लो हुँदै जाँदा आराध्या दुःखी दिइन् नै । साथीको यो कुराले उनलाई झन् दुःखी बनायो । कारण साथीले भनेका कुराहरु कहिल्यै आफ्ना आमाबाबुबाट पाएकी छैनन् उनले । साथीले जस्तै आफ्नै आमाले बनाएको टिफिन खान आराध्याले मौका पाएकी छैनन् ।
बुबा विजनेश म्यानेजर, आमा डाक्टर । घरमा काम गर्ने एकजना दिदी छन्, कोपिला । आराध्यालाई अभिभावकसँग खेल्न मन छ । तर, पाउँदिनन् । अनेक कोसिस गर्छिन् । अभिभावकले बुझ्दैनन् । अभिभावकले माया त गर्छन् । भनेको हरेक कुरा घरमै पुर्याइदिएका छन् । तर, आराध्यालाई चाहिएको अभिभावकको समय छैन ।
आमाबुवाले ध्यान नदिँदा उनको मनभित्र के बिजिरहेको छ ? उनको मस्तिष्कमा परेको असर कसरी बढिरहेको छ ? आराध्या जस्तै अभिभावकको माया नपाउँदा बालबालिका कसरी एक्लिएका छन् भन्ने कुराको प्रश्न र चित्रण छोटो फिल्म ‘आराध्या’ले गरेको छ ।
छोटो फिल्म ‘आराध्या’ले अहिलेको शहरमा बस्नेहरुको वास्तविक कथा बोकेको छ । यो फिल्मलाई पत्रकारिताबाट कलाकारितामा छिरेका रामजी ज्ञवालीले निर्देशन गरेका हुन् ।
‘यो फिल्म हेरेका अधिकांश परिवारले मेरै स्टोरी भन्ने गरेका छन्’, निर्देशक ज्ञवाली भन्छन्, ‘सर्ट फिल्म बनाएर यो विस्तारै अभिभावकसम्म पुगेकोमा दिल खुस छ ।’
हुनेखाने सम्पन्न परिवारमा काम गर्न एकजना कसैलाई राख्ने र बुबाआमा काम तथा विजनेशमा ब्यस्त हुने र बच्चा एक्लो हुने । व्यस्तताले छोराछोरीहरुले अभिभावकको समय पाउन मुस्किल परिरहेको छ । बच्चाबच्चीको करिअरका लागि दुःख गरिरहेका अभिभावकले वर्तमानमै बच्चाबच्चीको करिअर बिगारिरहेकोमा कुनै ध्यान छैन ।
‘अभिभावकको समय नपाउँदा बच्चाबच्चीको बाल मस्तिष्कमा असाध्यै नराम्रो असर पर्ने निर्देशक ज्ञवाली बताउँछन् । मैले बाल चिकित्सकहरुसँग सल्लाह गरेरै यो फिल्म बनाएको थिएँ, निर्देशक ज्ञवालीले भने, ‘भनिने परिभाषा फरक होला । तर, बच्चाबच्चीमा पनि एन्जाइटी, डिप्रेशनजस्ता समस्या हुने रहेछन् । बच्चाबच्चीले तनाब लिएको, चिन्ता लिएको कुरालाई अभिभावकहरुले निकै सामान्य तरिकाले लिन्छन् । यो असाध्यै गम्भीर कुरा हो । अभिभावकहरुले सन्तानको मन बुझ्न सक्नुपर्छ ।’
फिल्ममा आराध्याको भूमिकामा देखिएकी छन् द्रोेस्टी शाह । साथै यो छोटो फिल्ममा चर्चित अभिनेता आमीर गौतमले बुबाको भूमिकामा काम गरेका छन् भने अभिनेत्री सुरविना कार्कीले आमाको भूमिका खेलेकी छन् । सफु बुढाथोकी, नारायण कँडेल, प्रन्जल पौडेल, सृष्टि भुसाललगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मभित्र समावेश मिठी पापा बोलको गीतले बच्चाबच्चीले के चाहन्छन् भन्ने अर्को सन्देश पनि बोकेको छ । गीत राम्रो छ ।
आराध्याको कथा र कन्सेप्ट निर्देशक ज्ञवालीले तयार गरेका हुन् । उनलाई आर्यन अधिकारीले साथ दिएका छन् । निर्देशक ज्ञवाली भन्छन्, ‘यो मैले नजिकका साथीभाइहरु, संगतबाट भेटाएको कथा हो, यही कथालाई सर्ट फिल्ममार्फत समाजमा एउटा सन्देश र परिस्थिति देखाउन खोजेको हुँ ।’
राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नहकुल खड्काको सम्पादन छ । फिल्म संकल्प भुजेलले खिचेका हुन् । काठमाडौं उपत्यकाभित्रै खिचिएको फिल्मलाई केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागीसमेत गराइएको थियो ।
निर्देशक ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभरलगायत सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनी ठूला फिल्मको र चर्चित कलाकारहरुको मिडिया म्यानेजमेन्टको काम गर्छन् ।