अनमोल केसी : पर्दाभित्र, पर्दाबाहिर
काठमाडौं । मिडियाहरूमा समाचार आइरहेका छन्- अनमोल केसीले अभिनय गरेको पछिल्लो फिल्म ‘छड्के २’ ले बक्स अफिसमा पानी पनि भन्न पाएन । ३ करोड लागतमा निर्माण भएको फिल्मले ३० लाखमात्रै कलेक्सन गरेको वितरक सुनील मानन्धरले सार्वजनिकरूपमा नै बताइसकेका छन् ।
अनमोलमाथि नै भर गरेर मानन्धरले डेढ करोड रूपैयाँमा यस फिल्मको प्रदर्शन अधिकार खरिद गरेका थिए । तर, अहिले उनलाई १० लाख पनि हात नपर्ने अवस्था आएको छ । सँगै रिलिज भएको चलचित्र ‘छक्का पञ्जा ४’ ले दिनदिनै करोडौं छापिरहँदा सो चलचित्रसँग ६०:४० अनुपातमा मल्टिप्लेक्स शो पाएको ‘छड्के-२’ हलबाट उत्रिसकेको छ । आखिर छड्केलाई किन दर्शकले छड्के आँखाले पनि हेर्न चाहेनन् ? के यो अनमोलको स्टारडम ओरालो लागेको संकेत हो ? सिनेवृत्तमा चर्चाको बजार गरम छ ।
स्मरणीय रहोस् कि ‘छड्के २’ एउटा फ्लप फिल्मको सिक्वेल हो । ८ वर्षअघि प्रदर्शनमा आएको ‘छड्के’ कथावस्तुका हिसाबले भिन्न र प्रस्तुतिका हिसाबले बुलन्द हुँदाहुँदै पनि व्यवसायीकरूपमा असफल भएको थियो । जबकि त्यस चलचित्रमा ३ जना अभिनयका उस्तादहरू सौगात मल्ल, दयाहाङ राई र विपिन कार्की थिए । निर्देशक निगम श्रेष्ठले ‘छड्के’ बाट राम्रै सम्भावना देखाएका हुन् । तर, अलि बढी प्रयोगात्मक हुन खोज्दा उनी चुके ।
‘छड्के २’ मा आइपुग्दा निगमले सबैभन्दा पहिलो गल्ति विषयवस्तु छनोटमा गरेको देखिन्छ । तीन करोड लगानी गरिएको फिल्म व्यवसायीक रूपमा सफल हुनका लागि १० करोडभन्दा बढीको व्यापार गर्नुपर्छ । त्यसनिम्ति फिल्मले आमदर्शकलाई नै हलसम्म तान्नेपर्ने हुन्छ । ग्याङ्स्टरको कथामा आकर्षित हुने दर्शकहरूको समूह नेपालमा धेरै सानो छ । त्यसैले यस फिल्मले ‘मास अपिल’ गर्नै सकेन ।
छड्के २ को व्यापार सम्भावना पूर्णरूपमा अनमोलमा टिकेको थियो । चलचित्रमा उनीबाहेक नाम चलेका अरु कलाकार छैनन् । कम्तीमा एकजना चल्तीको नायिका राखिएको भए पनि व्यवसायमा केही न केही बुस्ट अप हुन सक्थ्यो । नेपालमा एउटा ‘स्टार’ ले मात्रै फिल्म हिट हुने अवस्था अझै आइसकेको छैन । अनमोलले बढीमा फिल्मलाई राम्रो इनिसियल दिलाउन सक्छन् । उनको नामले दुई-तीन दिन हल आउसफुल हुने अपेक्षा गरिन्छ । त्यसपछिको व्यापार भने माउथ पब्लिसिटीमा नै भर पर्छ । कन्टेन्ट कमजोर छ भने फिल्म एक हप्ता टिकाउन पनि मुस्किल पर्छ ।
यो यथार्थलाई बिर्सेर अनमोल भएपछि चलिहाल्छ भन्ने मनोविज्ञान लिनु निर्माण पक्षको भुल भयो । अरु कुरामा एकदमै खेलाँची गरियो । प्रचार-प्रसारमा पटक्कै ध्यान दिइएन । फिल्मको टिजर र ट्रेलर सामाजिक सञ्जारमा सेयर गर्नेबाहेक अरु कुनै खालको प्रचार भएन । अनमोल आफैंले पनि प्रमोसनमा खासै जाँगर चलाएनन् ।
फिल्म फ्लप हुँदा धेरै सेलिब्रिटीहरू आफ्नो असफलता स्वीकार्नुका साटो विभिन्न बहानाहरूको खोजी गर्ने गर्छन् । आफू पानीमाथिको ओभानो हुन खोज्छन् । अनमोल यसमा पनि पृथक देखिए । उनले सामाजिक सञ्जालमार्फत नै छड्केबाट आफूले दर्शकलाई निराश बनाएको स्वीकारोक्ति व्यक्त गरे । यति मात्र होइन, उनले प्रतिस्पर्धी फिल्म छक्का पञ्जा ४ हिट भएकोमा बधाईसमेत दिएका छन् ।
चलचित्र असाध्यै छोटो पनि भयो । सामान्यतया एउटा फिल्म अढाईदेखि तीन घण्टाको हुन्छ । ‘छड्के २’ केबल १ घण्टा ४० मिनेटको फिल्म हो । सर्ट फिल्मभन्दा अलिकति लामो । सुटिङ गर्दागर्दै बजेट सकिएर हतारमा प्याकअप गरिएको होइन भने फिल्म अवश्य पनि योभन्दा लामो हुनुपर्थ्यो । तीन घण्टा मनोरञ्जन लिन भनेर हलमा आएका दर्शक डेढ घन्टामै निस्किनुपर्दा अवश्य पनि अन्यायमा पर्छन् । थप डेढ घण्टामा अरु धेरै उपकथाहरू बुनेर फिल्मलाई खँदिलो बनाउन सकिन्थ्यो ।
फिल्मको पहिलो ट्रेलर सार्वजनिक हुँदा नै अनमोलका फ्यानहरू निराश भएका थिए । ‘ग्याङ लिडर’ को भूमिका अनमोललाई पटक्कै नसुहाएको प्रतिक्रिया ट्रेलर रिलिजपछि व्यापकरूपमा आए । सामाजिक सञ्जालमा अनमोलको ‘डन क्यारेक्टर’ र डाइलगहरूमाथि व्यापक ट्रोलसमेत गरियो । यहीँबाट फिल्मको ‘नेगेटिभ पब्लिसिटी’ सुरू भएको हो । अनि मेनस्ट्रिम मिडियाले पनि रिलिज भएकै भोलिपल्टबाट नकारात्मक समीक्षाहरू छापेपछि फिल्म बक्स अफिसमा थचक्कै बस्यो ।
त्यसो त मिडियाहरूले छड्के २ का बारेमा गरेका टिप्पणीहरू कतिपय अतिरञ्जित पनि थिए । आजसम्म अनमोलले खेलेका कुनै पनि फिल्मलाई समीक्षकले ‘राम्रो’ भनेको रेकर्ड छँदा पनि छैन । हुन त कुनै पनि नेपाली फिल्मका बारेमा राम्रा टिप्पणीहरू नेपाली मिडियामा कमै पढ्न पाइन्छ । त्यसमाथि अनमोललाई असफल बनाउन अहिले सिनेपत्रकारहरूको एउटा गुट नै लागिपरेको अवस्था छ । कुनै बहाना नभेटिँदा बुवा भुवन केसीसँग जोडेर उनलाई जबर्जस्ती विवादमा तान्ने कोसिस पनि गरिन्छ ।
राजेश हमाललाई महानायक स्वीकार नगर्दा भुवन विवादित बने । राजेश हमालका फ्यानहरू अहिले पनि भुवनलाई गाली गरेर थाक्दैनन् । अनि भुवनको छोरा भएकै कारण अनमोलमाथि खनिनेहरू पनि छन् । यो विल्कुल गलत हो । नेपाली चलचित्रमा भुवन केसीको आफ्नो योगदान थियो । उनी आफ्नो जमानाका सफल नायक र अझ सफल निर्माता हुन् । अनमोलजस्तो स्वच्छ छविका नहोलान्, तर राजेश हमाललाई महानायक नमानेकै कारण उनको सधैँ खोइरो खन्नु उचित हुँदैन । अनमोल त झन् त्यो विवादसँग विलकुल असम्बन्धित हुन् ।
यो निर्विवाद नै हो कि अभिनयमा अनमोल अब्बल छैनन् । खासगरि उनको डाइलग डेलिभरी ‘आर्टिफिसियल’ लाग्छ । सबैखाले भूमिकामा फिट हुन सक्ने कलाकार होइनन् उनी । तर, कुनै पनि चलचित्र नगरीमा सबै ‘सुपरस्टार’ हरू बुलन्द अभिनयका लागि मात्रै चिनिँदैनन् । छिमेकी बलिउडमा सलमान खानलाई नै उदाहरण लिउँ । उनी जोडदार अभिनयको बलमा यो स्थानमा पुगेका होइनन् । सलमानभन्दा कयौं गुणा राम्रो अभिनय गर्ने कलाकारहरू सडक नाटक खेलिरहेका हुन्छन् ।
अनमोलबाट पनि विपिन कार्कीको जस्तो अभिनय आशा गर्नु हुन्न । फिल्म इन्डष्ट्रीमा अनमोलहरूको एउटा स्थान हुन्छ, विपिन कार्कीहरूको अलग्गै । उनीहरू फरक-फरक क्याटेगोरीका कलाकार हुन् । अनमोललाई अनमोल नै रहन दिनुपर्छ । यद्यपि, अभिनयमा सुधार गरे सुनमा सुगन्ध हुन्छ नै ।
समकालीन हिरोहरूमध्ये सबैभन्दा ‘चुजी’ मात्र नभएर मेहनती पनि मानिन्छन् अनमोल । उनी आफूले मागेको पारिश्रमिक पाएपछि फिल्मको कथासमेत सुन्दै नसुनी सीधै सुटिङ स्पट पुग्ने र डाइलग सोध्ने राजेश हमाल मार्काका अभिनेता होइनन् । वर्षमा एउटा फिल्ममात्रै खेल्छन्, आफ्ना शर्तहरूमा । र, कुनै फिल्ममा आबद्ध भइसकेपछि आफ्नो सबै समय र ध्यान त्यसमै लगाउँछन् । क्यारेक्टरमा फिट हुन कुनै कसर छाड्दैनन् ।
छड्के २ मा पनि अनमोलले मिहिनेत नै नगरेका होइनन् । उनको अभिनय र डाइलग डेलिभरीमा सुधार छ । तर, ग्याङ्स्टरको भूमिका उनलाई जँचेन । त्योभन्दा पनि चलचित्रको कथावस्तु नै कमजोर भयो । त्यसैले चलचित्रको असफलताको एक्लो भागिदार अनमोललाई बनाउनु उचित हुँदैन ।
चलचित्र असफल भए पनि यतिबेला अनमोलले सबैको सहानुभूति र प्रशंसा पाइरहेका छन् । किन त ? त्यो उनको चलचित्रबाहिरको व्यवहारले हो । उनका एकपछि अर्को क्रियाकलापले दर्शकको मन जितिरहेको छ । पर्दाभित्रको कमजोरीलाई उनले पर्दाबाहिरको विनम्रता र शालिनताबाट ‘कभर अप’ गरिदिए ।
उमेरले अल्लारे नै भए पनि अनमोल निकै विवेकशील युवा हुन् । उनको अभिनयका कट्टर आलोकहरू पनि व्यक्तिगत स्वभावसँग कायल छन् । अरु सेलिब्रिटीभन्दा धेरै अर्थमा अनमोलले आफूलाई भिन्न देखाउँदै आएका छन् । उनकै बुवा भुवन केसीभन्दा अनमोलको स्वभाव र शैली आनको तान फरक छ । उनको व्यक्तित्वमा सुपरस्टारको घमण्ड कतै पनि देखिँदैन । उनले अरु कसैलाई होच्याएर बोलेको, आलोचना गरेको विरलै सुनिएको छ । आफूमाथि हुने आलोचना र ट्रोलहरूमाथि पनि उनी मौन नै बस्छन् ।
छड्केको असफलताले अनमोलको करिअरमा कस्तो असर पर्ला त भन्ने प्रश्न अवश्य उठ्छ । उनले अहिलेसम्म खेलेका ९ फिल्ममध्ये ७ वटा हिट भएका थिए भने २ वटाले पनि जसोतसो लगानी उठाउन सफल भएका छन् । छड्केको दयनीय व्यापार उनको पहिलो अनुभव हो ।
तर, आफ्नो स्टारडमलाई भने अनमोलले गज्जबसँग मेन्टन गरेका छन् । युट्यूवरका अघिपछि घुम्ने, अन्तर्वार्ता दिएर नथाक्ने स्टारहरू एकातर्फ छन् भने अनमोललाई सार्वजनिक कार्यक्रममा देख्नसमेत मुस्किल पर्छ । उनी केवल आफ्नो काममाथि मतलब राख्छन् । उनलाई कन्ट्रोभर्सी क्रियट गरेर मिडियामा छाउनु छैन । न अहिलेसम्म कुनै युवतीसँग अफेयरको पुष्ट खबर नै मिडियाले सार्वजनिक गर्न सकेका छन् ।
रिलिजभन्दा अगाडि छड्के-२ र छक्का पञ्जा-४ बीचको टकरावलाई लिएर सिनेवृत्तमा ठूलै हलचल थियो । यसलाई अनमोलको स्टारडम परीक्षाका रूपमा पनि लिइएको थियो । तर, प्रतिस्पर्धाको भावनालाई बिर्सेर अनमोलले रिलिजको अघिल्लो दिन आफ्नो फिल्मसँगै छक्का पञ्जा ४ लाई पनि फेसबुकमा शुभकामना दिए । जबकि छक्कापञ्जाका कसैले पनि त्यतिबेलासम्म छड्कोको नाम लिन चाहेका थिएनन् । अनमोलले शुभकामना दिएपछि दीपकराज गिरीलाई पनि छड्केलाई शुभकामना दिन कर लाग्यो । छोराको उमेरका अनमोलले दीपकराजलाई शिष्टाचार सिकाइदिए ।
फिल्म फ्लप हुँदा धेरै सेलिब्रिटीहरू आफ्नो असफलता स्वीकार्नुका साटो विभिन्न बहानाहरूको खोजी गर्ने गर्छन् । आफू पानीमाथिको ओभानो हुन खोज्छन् । अनमोल यसमा पनि पृथक देखिए । उनले सामाजिक सञ्जालमार्फत नै छड्केबाट आफूले दर्शकलाई निराश बनाएको स्वीकारोक्ति व्यक्त गरे । यति मात्र होइन, उनले प्रतिस्पर्धी फिल्म छक्का पञ्जा ४ हिट भएकोमा बधाईसमेत दिएका छन् ।
करिअरको १० औं सिनेमामा आफू चुकेको उल्लेख गर्दै अनमोलले लेखेका छन्, ‘अहिले म शून्यमा छु । अब मेरो १० औं फिल्मबाट मेरो करिअरको दोस्रो सत्रको सुरूवात हुने छ ।’
अनमोलको यो ‘स्टाटस’ पनि हिट भएको छ । स्टाटसमा १३ हजार लाइक र १३ सयभन्दा बढी प्रतिक्रिया आएका छन् । अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन् । एउटा असफलताबाट हतोत्साहित नहुन र आगामी दिनमा फिल्म छनोटमा ध्यान दिन दर्शकहरूको सुझाव छ ।
स्मरणीय रहोस् कि ‘छड्के २’ एउटा फ्लप फिल्मको सिक्वेल हो । ८ वर्षअघि प्रदर्शनमा आएको ‘छड्के’ कथावस्तुका हिसाबले भिन्न र प्रस्तुतिका हिसाबले बुलन्द हुँदाहुँदै पनि व्यवसायीकरूपमा असफल भएको थियो । जबकि त्यस चलचित्रमा ३ जना अभिनयका उस्तादहरू सौगात मल्ल, दयाहाङ राई र विपिन कार्की थिए । निर्देशक निगम श्रेष्ठले ‘छड्के’ बाट राम्रै सम्भावना देखाएका हुन् । तर, अलि बढी प्रयोगात्मक हुन खोज्दा उनी चुके ।
यो स्टाटसलाई लिएर सिनेकर्मीहरूले पनि अनमोलको प्रशंसा गरेका छन् । अनमोलसँग कहिल्यै काम नगरेका निर्देशक दीपेन्द्र के खनाल लेख्छन्, ‘शालिनता र सुझबुझेले अनमोल अनमोल नै रहनेछन् । तिम्रो आगामी दिनका लागि शुभकामना ।’
छड्केको असफलताले अनमोलको करिअरमा कस्तो असर पर्ला त भन्ने प्रश्न अवश्य उठ्छ । उनले अहिलेसम्म खेलेका ९ फिल्ममध्ये ७ वटा हिट भएका थिए भने २ वटाले पनि जसोतसो लगानी उठाउन सफल भएका छन् । छड्केको दयनीय व्यापार उनको पहिलो अनुभव हो ।
घोडा चढ्ने मान्छे अवश्य लड्छ । एकपटक लड्दैमा फेरि उठ्न नसकिने होइन । त्यसमाथि कुन त्यो स्टार होला, जसले करिअरमा फ्लप फिल्म दिएको नहोस् । हिट र फ्लप दुई खुट्टाका जुत्ताजस्तै हुन् । त्यसैले अनमोलले पनि यसमा धेरै भावुक हुनु आवश्यक छैन ।
उनले आफ्नो कामबाटै आलोचकलाई जवाफ दिने हो । अभिनयमा सुधार नै उनको पहिलो प्राथमिकता हुनुपर्छ । उनले प्रयास त गरिरहेकै छन्, तर अझै पनि निखार आइसकेको छैन । त्यसपछि फिल्मको छनोट गर्दा सतर्क हुनु आवश्यक छ । कथावस्तुमात्र नभएर फिल्म निर्माण गर्ने ब्यानर, निर्देशक र सहकलाकारहरू पनि उनले हेर्नुपर्छ ।
‘छड्के-२’ फ्लप हुनासाथ अनमोलले अब फिल्म नै नपाउने हो, पारिश्रमिकबाट एउटा शून्य हटाउनुपर्ने अवस्था आउँछ जस्तो लाग्दैन । यद्यपि, यो उनका लागि ‘अलार्म बेल’ अवश्य हो । मुख्य कुरा आफ्नो फिल्म चयनमा बुवालाई हाबी हुन दिनु भएन ।