छुवाछुत गर्ने गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग – Nepal Press

छुवाछुत गर्ने गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

जनकपुरधाम । भोजमा समुदाय अनुसारको मेस चलाएर जातीय छुवाछुत गरेका सिरहा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई निलम्बन गरी कानूनी कारबाही गर्न दलित संघ-संस्थाहरूले माग गरेका छन् ।

समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश समिति, नेपाल दलित मुक्ति मोर्चा, संयुक्त दलित संघर्ष समिति, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल राष्ट्रिय मुसहर संघ लगायतका संघ संस्था जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

गाउँपालिका अध्यक्ष यादव अक्षम्य अपराध गरेको भन्दै उनलाई निलम्बन गरी जातीय विभेद एवं छुवाछुत कसूर सजाय ऐन, २०२८ बमोजिम हदैसम्मको कारबाही गर्न गृह प्रशासन एवं नेपाल सरकारसँग दलित संघ संस्थाहरुले ज्ञापन-पत्रमार्फत माग गरिएको छ ।

गाउँपालिका अध्यक्ष यादवले आमाको १३ औं पूण्यतिथिमा जातीय अनुसार प्लेकार्ड झुण्ड्याएर अलग अलग राखेर भोज खुवाएका थिए । नेपाल जातीय विभेद एवं छुवाछुत मुक्त राष्ट्र घोषणा भइसकेको दशक बितिसक्दा पनि यसरी भोज खुवाएर मानव जातिलाई कलंकित गरेको दलित संघ संस्थाको ठहर छ ।

नेपालको संविधानलाई टेकेर गाउँपालिका अध्यक्ष जस्तो गरिमामय एवं सम्वेदनशील जिम्मेवारीमा रहेका व्यक्तिले जातीय विभेद एवं छुवाछुत गर्नु भनेको कानूनी अपराध गरी देशको संविधानलाई खिल्ली पनि उडाएको ज्ञापन-पत्रमा उल्लेख छ ।

जातीय छुवाछुत गर्ने अध्यक्ष यादवलाई कारबाही नगरी आफूहरुको मागलाई नजरअन्जार गर्ने प्रयास भयो भने संघर्षका कार्यक्रमहरु अगाडी बढाउन बाध्य हुने चेतावनीसमेत ती संस्थाहरूले दिएका छन् ।

अध्यक्ष यादवलाई कानूनी कारबाही गर्न संयुक्त दलित मोर्चा सिरहाले शनिबार सिरहाको गोलबजारमा प्रदर्शन गरेको थियो । राष्ट्रिय दलित आयोगले समेत जातीय छुवाछुत गरेको ठहर गर्दै गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गरी कारबाही गर्न सरकारलाई निर्देशन दिइसकेको छ । यद्यपि प्रशासनले अहिलेसम्म कुनै एक्सन लिएको छैन ।

जातीय छुवाछुतलाई बढावा दिनेगरी आयोजना गरिएको भोजमा पूर्वकानूनमन्त्री एवं नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठ, प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंह, आधा दर्जन सांसदहरु, सिरहाका सीडीओ र एसपीसमेत सहभागी थिए ।

यो पनि पढ्नुस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर