डीएसपी ठग बहादुरलाई भ्रष्टाचार मुद्दा चलाउन सिफारिस
रुपन्देही । व्यापारीसँग अवैध असुलीमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीले पदीय दायित्व विपरीत बदमासी गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका व्यापारी किसन विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डीएसपी केसीले सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको घटना छानबिन गर्न समिति गठन गरिएको थियो । समितिका संयोजक एसएसपी चन्द्र कुवेर खापुङले आईजीपी धिरज प्रताप सिंहलाई प्रतिवेदन बुझाएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।
डीएसपी केसी अहिले निलम्बनमा छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह सचिव विनोद प्रकाश सिंहले उनलाई पुस १४ मा निलम्बन गर्ने निर्णय गरेका हुन् ।
यो पनि पढ्नुहाेस् :- ३५ तोला सुन र २५ लाख नगदसहित भेटिएका डीएसपी ठगबहादुर निलम्बित
प्रतिवेदनमा डीएसपी केसीले सुन व्यापारीसँग सुन रितपूर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ छानबिन समितिको निष्कर्ष छ ।
सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भए पनि डीएसपी केसीले बदनियत राखेको समितिले प्रतिवेदनमा भनेको छ । सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डिएसपीले आफ्नो पदीय दायित्व पुरा गरेको नदेखिएको प्रतिवेदनको निष्कर्ष छ ।
समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ ।
समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागि सो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको स्रोतले जनाएको छ ।