जिन्दगी बोल्ने ‘जिन्दगी’मा निरजको आवाज, मर्मस्पर्शी अभिनयमा बिराजको राज (भिडिओ)
काठमाडौं । निरज खतिवडाको म्यूजिक भिडिओ ‘जिन्दगी’ रिलिज भएको छ । हाइलाइटस् नेपालको युट्युब च्यानलबाट सार्वजनिक म्यूजिक भिडिओमा बिराज बाँस्कोटाको दमदार अभिनय रहेको छ ।
जीवनका भोगाइ, संघर्ष, दुःख सुखका पाटोलाई मर्मस्पर्शी ढंगले भिडिओमा प्रस्तुत गरिएको छ । एकजना पात्र जो सामान्यभन्दा फरक छन् उनी बुख्याचासँग कबड्डी खेल्दै रमाएको देखिन्छ । त्यसैमा उनले रंग, ढंग र जिउने उमंग देखेका छन् । साे पात्र रमाउँछ, कराउँछ उत्साहित भएर हिँडछ, कुद्छ, स्मृतिमा हराउँछ । बुख्याचालाई जिन्दगीको ‘बिम्ब’ को रुपमा प्रस्तुत गरिएको छ । बाँच्दै जाने क्रममा मान्छे मर्छ, हरेकले चित्तामा नै कहिल्यै नउठ्ने गरी सुत्नुपर्ने हुन्छ ।
त्यसका लागि पनि मान्छे सधैं हतारमै छन् भन्ने आशयले निकै मार्मिकता प्रदान गरेको छ । अन्त्यमा पात्रले त्यसलाई छोडेर हिँड्छ । त्यो हिँडेको को हो ? भन्ने जिज्ञासाको उत्तर दर्शक स्रोता आफैंले विश्लेषण गर्दा उत्तम हुन्छ । गीतका शब्दहरु उत्तिकै ओझिला छन् जसले हर कोहीको पनि जीवनको केही न केही अंशलाई बोकेको छ ।
यसअघि दुईदर्जन बढी म्यूजिक भिडिओमा अभिनय गरिसकेको बाँस्कोटाको छोटो चलचित्रहरु पनि सार्वजनिक छन् । उदयीमान कलाकारका रुपमा रहेका उनी रंगमञ्चमा विशेष भूमिका निभाउँछन् । उनले केही समयअघि रविन्द्रनाथ टेगोरको नाटक ‘मालिनी’ मा गरेको अभिनयको चौतर्फी चर्चा भएको थियो ।
भिडिओको निर्देशन राज शेर्माले गरेका हुन् भने फाइनल प्रोडक्सन किलाइट मोसनमार्फत याेगेश दाहालले गरेका हुन् । शेर्माले कवि नवराज पराजुलीकाे ‘एक्लै’ कवितालगायत सिर्जनाहरुको निर्देशन गरेका छन् ।
गीतको शब्द, संगीत तथा एरेन्ज धुर्वराज आचार्यले गरेका छन् भने सिनेम्याटोग्राफी सुवास लिम्बू मेन्यांबोको रहेको छ ।
भिडिओ