शीतल निवासमा विद्यादेवी भण्डारीका सात वर्षः कोरोना कूटनीतिदेखि कन्ट्रोभर्सीसम्म – Nepal Press

शीतल निवासमा विद्यादेवी भण्डारीका सात वर्षः कोरोना कूटनीतिदेखि कन्ट्रोभर्सीसम्म

काठमाडौं । दोस्रो कार्यकालको पाँच वर्षे अवधि पूरा गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २९ मा शीतल निवास छाडिन् । उनको कार्यकालका विषयमा विभिन्न कोणबाट समीक्षाहरू भइरहेका छन् ।

२०७२ कात्तिक ११ गते पहिलो कार्यकालमा राष्ट्रपतिको रूपमा विजयी भएकी भण्डारीले शीतल निवासमा सात वर्ष चार महिना बढी राष्ट्र प्रमुखका रूपमा बिताएकी थिइन् । नेपालमा संविधानसभा र इलेक्ट्रोल कलेज दुवैबाट राष्ट्रपति चुनिने पहिलो व्यक्ति भण्डारी नै हुन् । २०७२ कात्तिक ११ गते नयाँ संविधान बनेपछिको व्यवस्थापिका सांसदबाट उनले ३२७ मत ल्याएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २१४ मत ल्याएका थिए ।

इलेक्ट्रोल कलेजको भोटमा भण्डारीले दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ मा पनि भारी मतान्तरले जित निकालिन् । उनको मतभार ५१४८२ हुँदा उनकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईको ११७३० मतभार आएको थियो ।

दुई फरक-फरक चुनावी प्रकृयाबाट शीतलनिवासमा पुगेर देशको आलंकारिक प्रमुख भएकी भण्डारीको कार्यकाल मिश्रित रह्यो । विद्यार्थी राजनीतिबाट आएर राजनीतिको राष्ट्रिय राजमार्ग हुँदै मूलधारमा होलिएकी भण्डारीले सांसददेखि रक्षामन्त्री बनेको अनुभव लिइसकेकी थिइन् । अगामी असार ५ मा ६२ वर्ष उक्लने भण्डारीले बनाएको भोजपुरको मानेभन्ज्याङदेखि शीतल निवाससम्मको राजनीतिक उचाइ नेपाली आम महिलाहरूका लागि प्रेरणादायी छ ।

राष्ट्रपतिको रूपमा भण्डारीलाई तारिफ र आलोचना गर्ने दुवैथरि विचार समूह छन् । राष्ट्रपति हुँदा चालेका कदमका पक्ष र विपक्षमा बाँडिएका मतको आधारमा उनका समर्थक र प्रशंसकहरू पनि बाँडिएका छन् ।

महिला हुनुको खुशी, महिला हुनुले दुःखी

महिला हुनुको खुशी विद्यादेवी भण्डारीलाई राष्ट्रपति हुँदा बनेको रेकर्ड हो । उनी नेपालको दोस्रो र महिलाको रूपमा पहिलो राष्ट्रपति बन्न सफल भइन् । महिला राष्ट्रप्रमुख भएकैले उनले अन्तर्राष्ट्रिय चर्चा पाइन् । विश्वका शक्तिशाली महिलाहरूको सूचीमा पर्नसमेत सफल भइन् ।

सन् २०१६ मा अमेरिकाको फोर्ब्स म्यागजिनले विश्वका १०० शक्तिशाली महिलामा भण्डारीलाई ५२ औं शक्तिशाली महिलामा सूचीकृत गरेको थियो । तत्कालीन जर्मनीकी चान्सलर एङ्गेला मर्केलदेखि अमेरिकी राष्ट्रपति उम्मेदवार हिलरी क्लिन्टन पहिलो र दोस्रो प्रभावशालीको सूचीमा हुँदा भण्डारी ५२ औँ सूचीमा अट्नु उनका लागि मात्र नभएर देशका निम्ति समेत खुशीको खबर हो ।

आफ्नो कार्यकालमा भण्डारीले महिलाका पक्षमा केही देखिने काम गरेकी छिन् । राष्ट्रपतिका नाममा हेलिकप्टर खरिद गरिँदा त्यसबेला निकै आलोचना भएको थियो । तर, त्यो हेलिकोप्टर दुर्गमका गर्भवती र सुत्केरी महिलाको उद्धारमा अत्यधिक प्रयोग भयो । यसको श्रेय भण्डारीलाई जान्छ ।

महिला मुद्दामा भण्डारीको रुचि उनले महिला मुद्दामा लेखिएका पुस्तकमा देखाएको प्रेमले पनि दर्शाउँछ । लेखक सुजित मैनालीले लेखेको पुस्तक ‘सती’ को विमर्श उनले शीतल निवासमै गराएकी थिइन् ।

महिला हुनुको दुःख पनि भण्डारीले भोगिन् । अरु त अरु महिला नेतृबाटै उनले अपमानको सामाना गर्नुपर्‍यो । चाहे जनकपुर मन्दिरमा पूजाआजा गरेर आएपछि विधवाले टेकेको भन्दै चोख्याइएको कुरा होस्, चाहे नेतृ रामकुमारी झाँक्रीले गरेको असहिष्णु टिप्पणी होस्, ती उनले महिला भएकै कारण भोग्नुपरेको थियो । उनले सांस्कृतिक र राजनीतिक दुवै हिसाबले पीडित हुनु पर्‍यो । महिला मुद्दामा संवेदनशील मानिने रामकुमारी झाँक्रीले २०७७ माघ २९ गते गोरखामा गरेको भण्डारीमाथि छुद्र टिप्पणी गरेकी थिइन् ।

त्यसमा उनले भण्डारीलाई शीतल निवास छोडेर बालकोट जान चुनौती दिएकी थिइन् ।

झाँक्रीले भनेकी थिइन्, ‘मदन भण्डारीको हत्या पछाडि सेतो साडी ल्याएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अध्यास गरेको थियो नेकपा एमालेले, त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी ।’

झाँक्रीले भनेजस्तो भण्डारीको राजनीति श्रीमान् मदन भण्डारीको मृत्युपछि सुरू भएको भने होइन । पञ्चायतकालमै भोजपुरमा विद्यार्थी नेतृको रूपमा भण्डारीले पञ्चायती दस्तासँग जुधेको बताउँछन् उनका तत्कालीन शिक्षक प्राध्यापक डाक्टर टंक न्यौपाने ।

उनी भन्छन्, ‘मैले उनलाई आईएमा नेपाली पढाएको हो । उनी त्यो बेलै राजनीतिमा थिइन् । पञ्चेहरूले विद्यार्थी चुनावको बुथ कब्जा गर्दा उनी एक्लै पनि डटेर बस्थिन् ।’

यस्तै मदन भण्डारीको जीवनी ‘श्वेत सार्दुल’का लेखक रमेशरुछेन राईले पनि विद्या-मदनको भेट राजनीतिकरूपमै भएको लेखेका छन् । उनीहरूले भोजपुरमा पहिलोपटक भेट गरेको र विराटनगरमा आएर जनवादी विवाह गरेको मदनका जीवनीकार राईले उल्लेख गरेका छन् ।

राष्ट्रपतिको औपचारिकताको फेरोः सरलदेखि जटिलसम्म

विद्यादेवी भण्डारीले २०७७ चैत २१ गते इतिहासकार महेशराज पन्तलाई घरमै पुगेर भेटिन् । केही समय अगाडि उनी आफ्नो जन्मघर भोजपुरमा पुगिन् । राष्ट्रपति जस्तो औपचारिकताले भरिएको संस्थाका प्रमुखले पन्तलाई भेट्नु सरलताको एक उदाहरण थियो ।

सरलतामा जस्तै जटिलतामा पनि भण्डारी जोडिएकी छिन् । केही समय अगाडि संसदलाई सम्बोधन गर्न जाने क्रममा भएको लाठीचार्जका घटना त्यसको ताजा उदाहरण हो । राष्ट्रपतिको सवारीको नाममा सर्वसाधारणले पाएका पटकपटकका ट्राफिक तनावमा सात वर्ष भण्डारी सार्वजनिक आलोचनामा परिरहिन् ।

उसो त भण्डारीले सरकारी आवासदेखि उपचार खर्चमा राज्य दोहनमा सक्रिय डा. रामवरण यादवभन्दा फरक देखिने तयारी गरेको देखिन्छ । कार्यकाल सकिएपछि सरकारसँग घर नमागेर आफ्नै निवासमा फर्किएर भण्डारीले साधारणपना देखाउन खोजेकी छिन् । बूढानीलकण्ठ नगरपालिका-२ मा रहेको आफ्नो घरमा सर्ने र राज्यकोष जोगाउने उनको कदमले सकारात्मक प्रतिक्रिया पाएको छ ।

सफलतादेखि कन्ट्रोभर्सीसम्म

२०७८ सालमा भण्डारीले गरेको ‘कोरोना कूटनीति’ पनि चर्चायोग्य विषय हो । उनले २०७८ वैशाख-जेठताका भारतीय समकक्षी रामनाथ कोभिददेखि चिनियाँ समकक्षी सी चिनफिङसम्मलाई कल गरेर खोप मागिन् । चीनसँगको खोप मगाई प्रभावकारी देखियो । तत्काल दश लाख डोज खोप चीनले अनुदानमा दियो ।

त्यसको भूराजनीतिक फाइदा नेपाललाई भयो । पछि भारतदेखि अमेरिका सबैले नेपाललाई खोप दिन होड गरे । उनीहरूले नेपालको खोपको मागलाई सकारात्मकरूपमा सम्बोधन गरे । भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि बेलायती महारानी एलिजावेथ द्वीतियसम्मलाई कूटनीतिक पत्र लेखिन् । कतिपयले आलंकारिक राष्ट्रपतिले सक्रिय भूमिका देखाएको भनेर आलोचना पनि गरे । तर, भण्डारीको कोरोना कूटनीतिले संकटको समयमा सकारात्मक प्रभाव पारेपछि आलोचक मत्थर भएको थियो ।

कोरोना कूटनीतिमा सफल भएपनि संसदीय र सरकारी मामिलामा विद्यादेवी भण्डारी राष्ट्रिय राजनीतिमा विवादित बनिन् । केपी ओली सरकारले २०७८ पुस ५ र जेठ ८ गते दुईपटक गरेको संसद विघटनलाई तत्काल सदर गरेकी उनले देउवा सरकारका केही विधेयकलाई भने प्रमाणीकरण गर्न मानिनन् । त्यसमा उनले मिश्रित प्रतिकृया पाएकी छिन् । नागरिकता विधेयक रोक्दा सत्ता गठबन्धनका नेताहरू बिच्किएका थिए भने जनमानसमा भने समर्थन पाएकी थिइन् ।

हालै राप्रपा नेपालका नेता कमल थापाले राष्ट्रपति भण्डारी बारेमा एक भावुक पोष्ट लेख्दै त्यो विषय सम्झिएका छन् ।

उनले लेखेका छन् ‘राष्ट्रहीतविपरीतको नागरिकता विधेयक र गम्भीर अपराधमा संलग्नहरूलाई उन्मुक्ति दिने अध्यादेशमा लिनुभएको अडानको कारण विद्यादेवी भण्डारी सदैव अविस्मरणीय रहनुहुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर