कुमारी घरमा राष्ट्रपतिको अनौपचारिक सवार- प्रोटोकल फेरिएको कि समर्थकको जयजयकार
काठमाडौं प्रहरी भन्छ– कुमारी घरमा राष्ट्रपति पौडेलको भ्रमण निजी, औपचारिक जानकारी थिएन
काठमाडौं । राष्ट्रपतिको शपथग्रहण नगर्दै सडक खाली गराएर पशुपतिनाथको दर्शन गर्न गएपछि आलोचित बनेका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शनिवार बसन्तपुरस्थित कुमारी घरमा सुटुक्क पुगेपछि आमसञ्चारदेखि सोसल मिडियामा समेत प्रशंसा भइरहेको छ ।
शनिवार सार्वजनिक बिदाको दिन उसै पनि सडकमा ट्राफिक कम हुन्छ । त्यसमा पनि राष्ट्रपतिको औपचारिक कार्यक्रम त्यस दिन थिएन । जीवित देवी मानिने कुमारीको दर्शनका लागि राष्ट्रपति वसन्तपुर जाँदा सडक खाली नगराइएको विषय ठूलै समाचार बन्यो ।
के वास्तवमै नयाँ राष्ट्रपतिले भीभीआइपीको सवारी सम्बन्धी निर्देशिकालाई संशोधन गराउन चाहेका हुन् ? के राष्ट्रपति निजी वा अनौपचारिक भ्रमणमा निस्कँदा यसअघि सडक खाली गराइन्थ्यो ?
यसबारे निकट विगततिर पनि कोही फर्किन नखोजी राष्ट्रपतिको जयजयकार भइरहेको छ । भीभीआइपीको सवारीका कारण समस्या भोगेका काठमाडौँवासीका लागि राष्ट्रपतिले सट्याकसुटुक कुमारी घर भ्रमण गरेको विषयले अवश्य पनि राहत दिएको छ ।
यद्यपि राष्ट्रपतिका औपचारिक भ्रमण र सवारीहरूमा भने प्रोटोकल अनुसार नै हुने गर्छ ।
वास्तविकता के हो त ?
प्रहरीका अनुसार पौडेलको यो औपचारिक भ्रमण थिएन। काठमाडौंको शान्ति सुरक्षा व्यवस्थापन गर्ने नेपाल प्रहरीले समेत शनिवार दिउँसो ११ बजेतिर मात्र पौडेलले भ्रमण गर्दैछन् भनेर जानकारी पाएको थियो।
मन्दिर व्यवस्थापन स्रोतबाटै प्रहरीलाई खबर आएको थियो। राष्ट्रपति कार्यालयले पौडेलको भ्रमणबारे कुनै जानकारी गराएको थिएन ।
‘निजी भ्रमणहरूमा राष्ट्रपति कार्यालयबाट मौखिक जानकारी हुने कुरा बेग्लै हो तर लिखित रूपमा कुनै जानकारी आएको हुँदैन। हिजोको सन्दर्भमा राष्ट्रपति कार्यालयबाट कुनै जानकारी थिएन,’ काठमाडौं प्रहरी कार्यालयका एक उच्च अधिकारीले भने।
यसअघि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका निजी भ्रमणमा पनि प्रहरीले आकस्मिक रूपमा जानकारी पाएर सुरक्षा व्यवस्थापन गर्ने गरेको अधिकारीहरूले बताएका छन्।
राष्ट्रपतिका औपचारिक कार्यक्रमहरूमा भने जिल्ला सुरक्षा समितिले नै बैठक बसेर आवश्यक सुरक्षा व्यवस्थापन गर्ने गरेको छ।
‘औपचारिक कार्यक्रमहरूमा लिखित रूपमा सुरक्षा व्यवस्थापन हुन्छ। त्यसैले त्यहाँ तामझाम देखिनु बेग्लै कुरा हो। तर निजी भ्रमणमा प्रहरी आफैले बुझेर शान्ति सुरक्षा प्रदान गर्छ। निजी भ्रमण राष्ट्रपतिका निजी कार्यक्रम भएकाले त्यसमा सरकारी तामझाम नहुनु स्वभाविक हो’, ती अधिकारी भन्छन्।
राष्ट्रपति कार्यालयका अनुसार विगतमा पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी निजी भ्रमण वा अनौपचारिक समारोहमा जाँदा बाटो खाली गराइने प्रचलन थिएन ।
शीतल निवास स्रोतले भन्यो, ‘राष्ट्रपतिज्यू कुमारी घर जानुभएको त्यो अनौपचारिक हो र कुनै औपचारिक समारोह थिएन । विगतमा पनि विद्या भण्डारीज्यू इतिहासकार महेशराज पन्तको घरमा जाँदा होस् वा अन्य निजी भ्रमणमा बाटो खाली गराइएको थिएन । तर औपचारिक समारोहमा कुमारी घरमै जाँदा (इन्द्रजात्रालगायत)मा भने प्रोटोकल अनुसार हुन्छ।’
राष्ट्रपतिको सुरक्षा व्यवस्थापन हेर्ने जिम्मेवारी नेपाली सेनालाई हुन्छ। काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापन हेर्ने काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्र भट्टले भने राष्ट्रपतिका सवारीबारे जानकारी हुने गरेको बताए।
‘राष्ट्रपति कार्यालयको कम्पाउन्डबाहिर निस्कने बित्तिकै त्यसको जानकारी हामीलाई हुने गर्छ। भ्रमणको प्रकृतिअनुसार आवश्यक ट्राफिक व्यवस्थापन हुन्छ’, भट्टले भने ।
नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीले विशिष्ट र अति विशिष्ट अधिकारीको सुरक्षार्थ गृहमन्त्रालयले बनाएको कार्यविधि फलो गरेर सेनाले आफ्नो जिम्मेवारी पूरा गर्ने गरेको बताए । राष्ट्रपतिले चाहेबमोजिम कम सुरक्षा अधिकारी लिएर हिँड्ने वा सवारी साधनसहित हिँड्ने हुन्छ कि हुँदैन भन्ने प्रश्नमा भण्डारीले त्यसका लागि कार्यविधि नै हेर्नुपर्ने बताए ।