नेपाल-टर्की जोड्ने काव्य कूटनीति ‘बोलिरहेका थियौंजस्तो’
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अवधारणा आउनु अगाडि नै दक्षिण एसियाका फिल्मकर्मीहरु एकापसमा जोडिएका थिए । नेपाली चलचित्रहरु पाकिस्तान, बंगलादेशदेखि श्रीलंकासम्म चल्नुमा त्यही साइनो थियो । सार्क राष्ट्रमा अफगानिस्तान ल्याउनुभन्दा अगाडि सार्क साहित्य महोत्सव आयोजक फोस्वालले अफगानिस्तानलाई ल्याएको थियो । फिल्मकर्मीहरुदेखि फोस्वालसम्मले जसरी राज्यसत्ताभन्दा अगाडि देशहरु जोड्ने काम गरे, ठीक त्यसैगरी अहिले नेपाल र टर्कीका कविहरुले कविताबाट दुई देश जोडेका छन् ।
तीन महिना अगाडि ‘शिखा बुक्स’बाट प्रकाशन भएको नेपाली र टर्कीका कविताहरुको संगालो ‘बोलिरहेका थियौंजस्तो’ले नेपाल र टर्कीलाई काव्य कूटनीतिले जोड्ने सेतुको काम गरेको छ । नेपालका भीष्म उप्रेती र टर्कीका फादिल ओक्तयले संयुक्त रुपमा सम्पादन गरेको कविता संग्रहमा दुवै देशका ३२ जना कवि समावेश भएका छन् । नेपालका १६ र टर्कीका १६ जना कवि संग्रहमा समेटिएका छन् । दुवै सम्पादकले नेपाल र टर्कीका दुवै कविता जोड्ने यो पहिलो ग्रन्थ भएको संकेत गरेका छन् ।
उनीहरुले भूमिकामा भनेका छन्, ‘यो सङ्ग्रह नेपाल र टर्किए दुवै देशको कविता साहित्यका लागि एक-अर्को भाषाका कविता हाम्रो आफ्नो भाषामा अनुवाद भई संयुक्त पुस्तकको प्रकाशन सम्भवतः पहिलो प्रयास हो ।’ सम्पादकहरुले टर्कीको पुरानो नाम प्रयोग नगरेर नयाँ औपचारिक नाम ‘टर्किए’ प्रयोग गरेका छन् । सन् २०२१ को डिसेम्बरबाट टर्कीको औपचारिक नाम टर्किए भएको हो । अहिले संयुक्त राष्ट्रसंघले पनि टर्किएलाई नै आधिकारिकता दिएको छ ।
नेपाल र टर्कीको कूटनीतिक साइनो बनेको ६१ वर्ष पुगेको छ । सन् १९६२ नोभेम्बर १५ (२०१९ कार्तिक ३०)मा दुई देशको औपचारिक कूटनीतिक सम्बन्ध बनेको हो । यो ६१ वर्षमा विश्वका शीर्ष २० धनी मुलुकको सूचीमा परेको टर्कीको नेपालमा दूतावास बन्न सकेको छैन । नेपाल र टर्कीबीचमा कूटनीतिक सम्बन्धले दूतावासको आकार नलिए पनि कवितामा भने दुई देश जोड्ने काम यो संग्रहले गरेको छ ।
यो ६१ वर्षमा विश्वका शीर्ष २० धनी मुलुकको सूचीमा परेको टर्कीको नेपालमा दूतावास बन्न सकेको छैन । नेपाल र टर्कीबीचमा कूटनीतिक सम्बन्धले दूतावासको आकार नलिए पनि कवितामा भने दुई देश जोड्ने काम यो संग्रहले गरेको छ ।
संग्रहमा दुई देशका कविहरुले लेखेका सुन्दर कविताहरु छन् । समुद्रले छोएको देश टर्कीका कविहरुले समुद्रका सुन्दर विम्बमा कविता लेखेका छन् । सबैभन्दा अगाडि नाम राखिएकी अएतेन मुत्लुको कविता नै समुद्रको विम्बबाट लेखिएको छ । १९ वटा कविता संग्रह प्रकाशन गरिसकेकी मुत्लुको कविता ‘तिम्रो अनुहार र घन्टीको आवाज’ मा समुद्रको विम्ब यस्तो छः
तिम्रो अनुहारको बन्द समुद्रमा
चराहरु विषाक्त वाणहरु जस्तै उडे
अर्का टर्कीका कवि यासर बेद्रीको कविता ‘अवास्तविक बार्दलीका सपनाहरु’मा पनि समुद्रको सुन्दर विम्ब प्रयोग गरिएको छ । १३ कविता संग्रह ल्याइसकेका कवि बेद्रीको कवितामा भनिएको छः
.. सानो पानीजहाजको सिट्टीले घामलाई उठाउँछ ।
टर्कीका कविहरुका कवितामा समुद्रमात्रै छैन । हिमाल पनि छ । हिमाली विम्बहरु छन् । आधा दर्जन कविता संग्रह ल्याएकी कवि नुरदुरान दुमरले आफ्नो कविता ‘योग्यता’मा हिमाली कुरा जोड्दै लेखेकी छन्ः
आवाज केवल अस्तित्व हो, प्रतिध्वनिले हिमालयलाई पर्खिरहेको छ
छ वटा कविता प्रकाशन गरिसकेका तथा टर्कीको अर्थ मन्त्रालय, संसद, राष्ट्रपति कार्यालयमा प्रेस क्षेत्रको जिम्मेवारीमा सात वर्ष काम गरेका कवि मेहमेत महजुन दोगनले पनि कवितामा हिमाललाई जोडेका छन् । ‘टाढा र नजिक’ शीर्षक कवितामा उनले लेखेका छन्ः
सूर्य पिता हो, हिमालहरु हिउँमय छन्
म राम्रोसँग बनेको छु, तिमी आफूभित्रको इच्छालाई न्यानो पार
त्यसपछि गीतहरुको बाढी बग्छ
सडकबत्ती र चौबाटाहरु हुँदै
फेरि हेर
हेर, टाढा कति नजिक छ ।
खासगरी अरब र इस्लाम विश्वका वास्नाहरु आउने विम्बहरु बोकेका टर्कीका कविताहरुको कवितामा विद्रोहका चेत पनि उत्तिकै शक्तिशाली भएर आएका छन् । युवा कवि मुएसेर येनिअले लेखेको ‘स्तनहरु’ शीर्षक कविता त्यसको एक उदाहरण हो । सात वटा कविता संग्रह प्रकाशन गरिसकेकी येनिअले लेखेको कविता भन्छः
मेरा स्तनहरु जादूका कचौरा हुन्
जसमा तिम्रा हातहरु रगडिन्छन्
र धूलो बन्छन्
पाँच पुस्तक ल्याइसकेकी कवि निशा लेलाको कविता ‘शान्ति’ले अरबी विश्वको कथा भनेको छ । इजरायल-प्यालेस्टाइनी तनावको कविता भनेको छ । अरब र इस्लाम दुनियाँको आँखाबाट अमेरिका हेर्ने झ्याल देखाएको छ । उनको कवितामा भनिएको छः
म हिटलर थिएँ, मैले यहुदीहरुलाई गाडें
मैले भियतनामका आदिवासीहरु अनि
गाजा शहरका दूधे बालकहरुलाई मारें
म अमेकिकृत भएँ
मैले सबै समयलाई मारें, म फेरि मार्न सक्छु
उनै कवि लेलाको अर्को कविताको एक ठाउँमा युद्धकै कुरा गरिएको छ । कविताले भन्छः
गोलीका आवाजहरु यतिबेला चराको बोलीभन्दा चर्का छन्
दुःखले भरिएको मेरो भूगोलमा….
यो संग्रहले नेपाल र टर्कीलाई काव्य पुलबाट जोड्ने ऐतिहासिक पाइला चालेको छ । त्यत्ति हुँदाहुँदै संग्रहले नेपालको समकालीन कविता दुनियाँका केही राख्नैपर्ने कविहरु समेटिन पाएका छैनन् ।
संग्रहमा नेपाली कविहरुका पनि राम्रा-राम्रा कविताहरु समेटिएका छन् । पूर्वसचिव, गीतकार तथा कवि दिनेश अधिकारीको कविता ‘योजना’मा भनिएको छः
सरकार !
मेरो चासो यत्तिमात्रै हो-
अरब पुगेको मेरो छोरालाई
ज्युँदै फेरि यो देशमा फर्काउने
के तिमीसँग त्यस्तो कुनै योजना छ ?
कवि केशव सिग्देलको कविता ‘एउटा बहुलाको सुसाइड नोट’ विम्बले भरिएको बलियो कविता हो । कविता भन्छः
एउटा रुख ढल्यो
र मूढो बन्यो
रुखले बाँचेको समय पनि ढल्यो
र इतिहास भयो
मान्छेले इतिहास खनिखोस्री गर्यो
र स्मृति बन्यो
त्यही स्मृति फेरि मुढोमा खोप्यो
र जीवनको नयाँ बान्की बन्यो ।
झ्याल बाहिर अब कुनै रुख बाँकी छैन ।
कवि टंक उप्रेतीको विम्ब प्रधान कविता उत्तिकै शक्तिशाली छ । ‘रबरको रोटी शीर्षक’ कवितामा उनी भन्छन्ः
समस्त तेज गुमेपछि
रबरको रोटी बन्छ सूर्य
जसको कुनै अर्थ रहन्न
भोकाहरुलाई
कवि कृष्ण प्रसाईंको कविता ‘घर’ उत्तिकै शक्तिशाली छ । कविता यस्तो छः
मेरो बस्ने घर
मैले आफैं बनाएँ
ऊ निर्जीव थियो
म सजीव थिएँ
एकदिन उसले
आफ्नै ढोकाबाट
निर्जीव बनाएर
मलाई नै निकाल्यो
कवि मन्जुलको कविता ‘हिउँ’ शक्तिशाली छ । कवितामा भनिएको छः
हिउँका लागि
रुनु अभिसाप हो
रोयो कि पग्लिहाल्छ
पग्ल्यो कि सिद्धिहाल्छ
फेरि उसलाई कसले भन्छ र हिउँ ?
ऊ पानी हुन्छ, सुक्छ र सिद्धिन्छ
यो संग्रहले नेपाल र टर्कीलाई काव्य पुलबाट जोड्ने ऐतिहासिक पाइला चालेको छ । त्यत्ति हुँदाहुँदै संग्रहले नेपालको समकालीन कविता दुनियाँका केही राख्नैपर्ने कविहरु समेटिन पाएका छैनन् । मनु मन्जिल, श्रवण मुकारुङ, सुमन पोखरेल, सीमा आभासदेखि भूपिनसम्मका नेपालका केही स्टार कविहरुसमेत समेटिएको भए संग्रहमा अझ परिपक्वता आउने थियो । नेपालका चलेका स्टार कविहरुको उपस्थिति अझ बाक्लो सवालमा केही कमजोरी देखिए पनि कम्तिमा नेपाल र टर्की जोड्ने काव्य कूटनीतिमा यो संग्रह सफल छ । नेपाल र टर्कीको काव्य कूटनीति बलियो बनाउने कोशेढुङ्गो भएको छ यो संग्रह । निजी क्षेत्रबाट गरेको यो पहललाई आम नेपाली कविता पाठकहरुले मात्रै होइन नेपालको कूटनीतिक वृत्तले पनि धन्यवाद भन्नुपर्छ ।