चार तिब्बतीलाई नेपाली नागरिकता दिलाएका ७० वर्षे ‘नक्कली’ बाबु – Nepal Press

चार तिब्बतीलाई नेपाली नागरिकता दिलाएका ७० वर्षे ‘नक्कली’ बाबु

काठमाडौं । काठमाडौंको बबरमहलका रैथाने न्युल्केस श्रेष्ठ झट्ट हेर्दा शेर्पा जस्तो पनि देखिन्छन् । हिँडडुल गरिरहँदा नजिकै रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालय आसपासमा लेखापढी काम गर्ने झापाका कृष्णबहादुर कटवालको आँखामा उनी परे ।
७० वर्षे श्रेष्ठलाई प्रयोग गरेर मनग्गे आम्दानी गर्न सकिने सपना उनले देखे ।

नेपालमा बस्दै आएका तिब्बतीहरु नेपाली नागरिकताको खोजीमा पटकपटक सम्पर्कमा आए पनि उनले उपयुक्त बाबु फेला पार्न सकेका थिएनन् । त्यसअघि पनि उनले धेरैलाई नक्कली बाबु बनाएर तिब्बतीलाई नेपाली नागरिकता बनादिएका थिए । तर, फ्रेस नक्कली बाबु फेला पर्न सके काम गर्न सजिलो हुने उनलाई लागेको थियो ।

श्रेष्ठसँग नजिक भएर एकदिन प्रस्ताव राखे, ‘तपाईंलाई नक्कली नागरिकता बनाइदिन्छौं । त्यसबाट अरुलाई छोराछोरी बनाएर नागरिकता बनाइदिनुस् । कुनै चिन्ता लिनुपर्दैन । हामीले सबै कुरा मिलाएका छौं । एउटा नागरिकता बनाइदिएबापत १० हजार रुपैयाँसम्म तपाईंले पाउनुहुन्छ।’

श्रेष्ठ तयार भए । सबै नक्कली डकुमेन्ट बनाएर उनको नाममा नागरिकता बन्यो, नाम जु¥यो मिङछुङ शेर्पा । बौद्ध ठेगाना उल्लेख भएको नागरिकतामा २०४० साल असार १९ गते जारी भएको ब्यहोरा उल्लेख थियो ।

अब काठमाडौं जिल्ला प्रशासनमा श्रेष्ठलाई मिङछुङ शेर्पाका रुपमा प्रस्तुत गरेर तिब्बतीलाई नागरिकता बनाउने बाटो खुल्यो । जिल्ला प्रशासनभित्र उनीहरुलाई कुनै टेन्सन थिएन । त्यसअघि पनि नक्कली नागरिकताबाट नक्कली छोराछोरीका नाममा सक्कली नागरिकता जारी गरिरहेकाले उनीहरु ढुक्क थिए ।

मिङछुङ शेर्पाको छोरा बनेर सोनाम छोडेनले २०७९ कात्तिक ४ गते जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए । सोनामको जन्म मिति २०४९ चैत २० गते उल्लेख थियो । गत पुस ३ गते टासी शेर्पाले २०५१ माघ १९ गतेको जन्ममितिमा नागरिकता लिए । त्यसको ९ दिनपछि यशोदा शेर्पाले २०६१ असोज २४ गतेको जन्ममिति राखेर र नाम्से शेर्पाले २०६० बैशाख २१ गतेको जन्ममिति राखेर नागरिकता लिए ।

तीन महिनाबीचमा श्रेष्ठले मिङछुङ शेर्पा बनेर ४ जनालाई छोराछोरी बनाइसकेका थिए, नागरिकतामार्फत । सबै नक्कली सन्तानको ठेगाना बौद्ध थियो । ‘यसबाट पनि थाहा हुन्छ कि उनीहरु तिब्बतीलाई नेपाली नागरिकता दिलाउने समूहका सदस्य हुन्’, घटना अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन् ।

अनुसन्धान अधिकृतका अनुसार गिरोहले नागरिकता बनाउन आवश्यक सम्पूर्ण कागजात नक्कली बनाउने गरेको थियो ।

गिरोहका पाँचौं ग्राहक प्रहरी बनेपछि…

प्रहरीले गोप्य सूचनाका आधारमा उक्त गिरोहबारे चाल पाएको थियो । प्रहरी आफू तिब्बती भएको र नागरिकता चाहिएको भन्दै उक्त गिरोहको सम्पर्कमा पुग्यो ।

मख्ख परेको गिरोहले तत्काल काम सुरु गर्‍यो । फेरि पनि श्रेष्ठ नै बाबु बन्दै थिए । प्रहरीले प्रमाणहरु र गिरोहका नेक्ससहरु पनि फेला पर्दै चनाखो भएर काम गरिरहेको थियो । सबै डकुमेन्ट तयार भएर नागरिकता बनाउने बेलामा प्रहरीले गिरोहलाई नै झ्यापझुप पार्‍यो ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमु्ख मनोज केसीका अनुसार कटवालले हालसम्म ५०० जनाभन्दा बढीलाई नक्कली नागरिकताका आधारमा नक्कली बाबु खडा गरेर सक्कली नागरिकता बनाएको बयान दिएका छन् । अनुसन्धानमा खटिएका अधिकृतका अनुसार तिब्बतीलाई नागरिकता बनाउने नक्कली बाबुमध्ये ४-५ जनाको पहिचान भइसकेको छ ।

‘नक्कली नागरिकता र थर पनि शेर्पा, गुरुङ भएकाले ती व्यक्तिको सक्कली पहिचान के हो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ’, ती अधिकारीले भने । प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयका बहालवाला र पूर्वकर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याएको छ । तर, उनीहरुमध्ये हालसम्म कोही पक्राउ परेका छैनन् ।

‘काठमाडौं जस्तो ठाउँमा यस्तो गतिविधि जिल्ला प्रशासन कार्यालयबाट हुनु अचम्मको कुरा हो । नक्कली नागरिकताबाट नक्कली छोराका नाममा नागरिकता कसरी जारी भयो भन्नेमै हामी अचम्मित छौं । जबकि हरेक जिल्ला प्रशासन कार्यालयमा सिटिजनसिप इन्फरमेसन म्यानेजमेन्ट सिस्टम भन्ने सफ्टवेयर हुन्छ । जहाँ हरेक नागरिकताका बारेमा बुझ्न सकिन्छ’, ती अनुसन्धान अधिकृत भन्छन् ।

प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा क्यान्टिन सञ्चालन गर्दै आएका ३० वर्षीय विजय लामासहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विजयले जिल्ला प्रशासन कार्यालयका हाकिमहरु मिलाउने जिम्मा लिएका थिए । प्रारम्भिक अनुसन्धानबाट कटवालले नेपाली नागरिकता बनाउन चाहने तिब्बतीबाट ५ लाख रुपैयाँसम्म लिने गरेको खुलेको छ । लामाले भने भित्र मिलाउन एक लाख ५० हजार रुपैयाँसम्म माग्ने गरेको पाइएको छ ।

श्रेष्ठ बबरमहलस्थित छोराको घरमा बस्दै आएका थिए । उनका एक छोरा र दुई छोरी छन् । श्रीमतीको भने १० वर्षअघि मृत्यु भएको थियो । होटल म्यानेजमेन्ट पढेर कुनै समय सोल्टी होटलमा काम गरेका श्रेष्ठ त्यहाँ जागिर छाडेर पछि म्यानपावर व्यवसायमा लागेका थिए ।

त्यसपछि उनले भारतको मद्रासमा १२ वर्ष होटल क्षेत्रमा काम गरेको छोरा सुजनले बताए । ‘तीन चार दिनअघि घरबाट निस्कनुभएको थियो । योबीचमा सम्पर्क भएको थिएन । पहिला पनि जानकारी नदिई सम्पर्कविहीन भएर २-३ हप्तासम्म हराउनुहुन्थ्यो’, सुजनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *