नेहा चौधरीका श्रीमान् पंकजलाई धरौटीमा छाड्न अदालतको आदेश
जनकपुरधाम । दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका महोत्तरी रामगोपालपुर नगरपालिका-५ का डा. पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ ।
न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले तीन लाख रूपैयाँ धरौटी लिएर छाड्न बिहीबार आदेश दिएको हो । स्रोतका अनुसार उनी आज धरौटी बुझाएर रिहा हुनेछन् ।
श्रीमती नेहा चौधरीले पंकज, उनका बुबा, आमा, बहिनीसहित पाँचजनाविरुद्ध दाइजो र घरेलु हिंसालगायतका मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा पक्राउ परेका पंकज पुस २२ गते जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल गएका थिए ।
पंकजका बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि गत फागुन ३० देखि जलेश्वर कारागारमा छन् । आमा, बहिनी र ज्वाइँ भने घर छाडेर हिँडेका छन् ।
तीन वर्षको प्रेम सम्बन्धपछि २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्पराअनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । नेहाका परिवारले दाईजोसहित विवाहमा एक करोड बढी खर्च गरेको बताउँदै आएको छ ।
तर, विवाहको केही दिनमै दाइजो कम भएको भन्दै पंकजका परिवारले नेहालाई यातना दिएकी थिइन् । पंकजको कुटाइबाट नेहा अस्पतालसमेत भर्ना भइन् । लगत्तै पंकजले डिभोर्स मुद्दा चलाए ।
तर, नेहाले पंकजसँगै बस्ने भनेर संघर्ष गरिन् । पंकजले नमानेपछि उनीसहित परिवारका ५ जनामाथि नेहाले पनि मुद्दा हालेकी थिइन् ।