९ महिनाअघि पहिलोपटक आफ्नो ब्याचलाई ‘टपेका’ नवनियुक्त आईजीपी कुँवर – Nepal Press

९ महिनाअघि पहिलोपटक आफ्नो ब्याचलाई ‘टपेका’ नवनियुक्त आईजीपी कुँवर

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ महानिरिक्षक-आईजीपीमा बढुवा गरेका बसन्तबहादुर कुँवर ९ महिनाअघि पहिलोपटक आफ्नो ब्याचलाई टप्दै वरियताको पहिलो नम्बरमा पुगेका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले कुँवरलाई आफ्नो ब्याचको एक नम्बरमा राखेर गत असारमा डीआईजीमा बढुवा गरेको थियो । यही कारण आईजीपीमा कुँवरको दावेदारी बलियो बनेको थियो । त्यसअघि उनी एसपीबाट एसएसपीमा बढुवा हुँदा आफ्नो ब्याचको १३ औँ नम्बरमा रहेका थिए ।

वरियतामा १२ स्थान सुधार हुनुमा प्रहरी प्रवक्ता र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखका रुपमा उनको कार्य सम्पादन उल्लेख्य रहेको थियो । उनले कालो बजारीसँग जोडिएका केही गम्भीर प्रकृतीका अपराधको अनुसन्धान गरेका थिए ।

व्यावसायिक अधिकृतको छवि बनाएका उनी आफ्ना दाजु बाबुराम कांग्रेस नेतृत्वको सरकारमा महान्यायधिवक्ता रहेका कारण उक्त पार्टीनिकट मानिन्छन् । उनी पहिलो नम्बरमा डीआईजीमा बढुवा हुँदा पनि कांग्रेसनिकट रहेको प्रतिफल मिलेको भनेर टिप्पणी भएको थियो ।

दुई साताअघि सरकारले रिक्त ५ एआईजीमा बढुवा सिफारिस निकाल्दा कुँवर पहिलो नम्बरमै रहेका थिए । नयाँ आईजीपी आउनु दुईसाताअघि मात्र एआईजीमा पहिलो नम्बरमा बढुवा भएकाले कुँवरलाई नयाँ प्रहरी प्रमुखका रुपमा हेरिएको थियो ।

सर्वेन्द्र खनालको जस्तै ‘भाग्य’, सरकारले वरियता मिचेन

यसअघि सर्वेन्द्र खनाल एसएसपीबाट डीआईजी बनेको ९ महिनामा आईजीपी बनेका थिए । त्यतिबेला उनले डीआईजी बन्ने क्रममा पहिलोपटक आफ्नो ब्याचलाई टपेका थिए ।

खनाल पनि एसएसपीमा हालको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख पनि रहेका थिए । उनको पालामा डीआईजीबाट सोझै आईजिपी बनाउनुपर्ने अवस्था थियो । सरकारले डीआईजीको वरियतामा पहिलो नम्बरमा रहेका खनाललाई नै आईजिपी नियुक्त गर्यो ।

तर गत वर्ष देउवा सरकारले १६ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजिपी बनाएका कारण यसपटक पाँचैँजना एआईजीले आफुलाई दावेदार मानिरहेका थिए ।

सिंह प्रकरणमा सर्वोच्च अदालत पुगेको मुद्धामा आईजिपी कसलाई बनाउने भन्ने सरकारको आफ्नै रोजाईको विषय भएको व्याख्या भएको थियो। सिंह आईजीपी बन्नुभन्दा एक महिनाअघि मात्र देउवा सरकारले एआईजी दरबन्दी थप गरेर त्यसमा उनलाई बढुवा गरेको थियो ।

तर यसपटक पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपी बनाउनुपर्ने भन्दै देउबाले दबाब दिएका थिए । हालको मन्त्री मन्डलमा माओवादी मात्र रहेपनि सरकारलाई नेपाली कांग्रेसको पनि समर्थन रहेको छ । संसदको पहिलो ठुलो दल कांग्रेसले सरकारमा सहभागी हुने आफ्ना मन्त्रिहरु टुंगो लगाइसकेको छैन ।

आईजिपी नियुक्तिमा यसअघि सरकार पटकपटक विवादमा पर्ने गरेको थियो । वरियतामा आफु पहिलो नम्बरमा रहेपनि कनिष्टलाई आईजिपी नियुक्त गरिएको भन्दै तत्कालीन डीआईजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका थिए । अदालतले सरकारको निर्णय उल्टाएपनि सिलवाल आफु भने आईजिपी हुन पाएनन् ।

कुँवरले अब २०८१ चैतसम्म नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर