सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्छु: नवनियुक्त प्रहरी महानिरीक्षक कुँवर
सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक सिंहसहित ९ जना उच्च प्रहरी अधिकृतको बिदाइ
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् ।
तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् ।
नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले प्रणालीगत र पद्दतीगत विकासले संगठनको सुदृढिकरण सुनिश्चित भई बाह्य हस्तक्षेप निरुत्साहित हुने बताउँदै संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने बताए ।
प्रहरी संगठनमार्फत आफ्नो सम्पूर्ण उर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर बिदाइ भएका वरिष्ठ अधिकृतप्रति नेपाल प्रहरी र तमाम सदस्य सदैव कृतज्ञ रहने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठनको हितका सवालमा सेवा निवृत्त वरिष्ठ अधिकृतबाट जिवनपर्यन्त अमूल्य सुझाव एवं मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरे ।
शुभकामनासहित बिदाइ गर्दै सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
संगठनको दिशानिर्देश गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक सिंहबाट बिदाइ सम्बोधनको क्रममा व्यक्त गरेका शब्द र त्यसका भावनालाई हृदयङ्गम गरी संगठनलाई मन, वचन र कर्मले नेतृत्व प्रदान गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।
शुक्रबारदेखि सेवा निवृत भएका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिएमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
उनले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गरे ।
सिंहले संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतिलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । उनले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानप्रति आभारसमेत प्रकट गरेका छन् ।
सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्य एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्य समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई हस्तान्तरण गरेका थिए । साथै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतलाई कृतज्ञताको चिनो प्रदान गरेका थिए ।
समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहलाईसमेत बिदाइ गरिएको थियो । उनलाई नवनियुक्त प्रहरी महानिरीक्षककी श्रीमती लक्ष्मी कुँवरले सम्मान गरेकी हुन् ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै सेवा निवृत्त भएका प्रहरी वरिष्ठ अधिकृतमा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजीपी० सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलमखाँ तथा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० उमाशंकर पन्जियार र जनकराज पाण्डे रहेका छन् ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत तथा जवानलेसमेत सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक सिंहलगायत प्रहरी वरिष्ठ अधिकृतलाई शुभकामनासहित बिदाइ गरका थिए ।
प्रचण्डजस्ता प्रधानमन्त्री भएको देशमा संभव होला र ? हेरौं ।