दूरदराजका दिदीबहिनीको पीडा बेचेर महिलावादको व्यापार
मार्च भन्नेबित्तिकै महिलाहरुको महिना भनेर बुझिन्छ । महिलाका मुद्दाहरु शीर्ष स्थानमा राखेर हुने छलफल तथा गोष्ठी–सेमिनारहरु हाम्रो मानसपटलमा घुम्छन् । वर्षौं पहिलेदेखि यो महिनामा महिलाका कुरालाई विशेष मनन गरी सुनिने हुँदा मार्च महिना र मार्च ८ लाई अझ विशेष रूपमा हेरिन्छ ।
सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटिकनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने प्रस्ताव राखिन् । त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका रूपमा मनाउन थालेका हुन् ।
विश्व समाजमा वर्षौदेखि मार्च ८ मनाउने गरिएको भए पनि नेपालमा भने मनाउन थालिएको धेरै भएको छैन । कागजी रुपमा नै सही, महिलालाई अधिकार दिने कुरामा नेपालले अरु देशभन्दा अग्रगामी छलाङ मारेको देखिन्छ । देशको राष्ट्रपतिदेखि लिएर सभामुख, प्रधानन्यायाधीश र देशका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाहरु पुगेका छन् । यो हाम्रो विशेष उपलब्धि हो । यद्यपि, अधिकांश नेपाली महिलाहरूका लागि भने महिला समानताका कुराहरु कागजमा मात्र सीमित छन् ।
महिला अधिकारकर्मी र सरोकारवालाहरुले जति नै महिला अधिकारको पैरवी गरे पनि, सफलता हासिल गर्यौं भने पनि यहाँ वास्तविकता धेरै फरक छ । यसको लागि धेरै टाढा जानै पर्दैन । यहीँ राजधानीलाई नै नियालेर हेर्याैं भने पनि फरक प्रष्ट देखिन्छ । राजधानीको शहर उही हो, राजधानीको आकाश एउटै हो, तर आकाशमुनि बस्नेहरु प्रत्येकको वास्तविकता यहाँ फरक–फरक छ ।
एकातिर राजधानीका तारे होटलमा मार्च ८ धुमधामले मनाइन्छ भने एर्कोतिर राजधानीको सडकमा बसेर मकै पोल्नेदेखि चिया बेच्ने महिलाहरुलाई मार्च ८ आएको–गएको पत्तो हुँदैन । उनीहरुसँग एकपटक बसेर कुरा गरियो भने यस्तो लाग्छ उनीहरूले पहिलोपटक मार्च ८ को बारेमा सुन्दैछन् । तर उनीहरूको नाम बचेर अर्को कुनै पक्षले महलसम्मको यात्रा तय गरिसकेको हुन्छ । तारे होटलको तमाम सुख–सुविधा भोगिसकेको हुन्छ ।
ती मकै पोल्ने महिलाहरुलाई कहिल्यै नारी दिवस आउँदैन, ती चिया बेच्ने आमा–दिदीबहिनीहरुलाई कहिल्यै महिला दिवस आउँदैन । डोकोमा साग बेच्चाबेच्दै कैयौं आमाले आर्यघाटको यात्रा तय गरिसक्छन् तर तिनका दुःखले कहिल्यै निकास पाउँदैनन् । अचम्म त के लाग्छ भने यस्तो वास्तविकताबारे न महिला अधिकारकर्मीहरुलाई केही थाहा हुन्छ न सरोकारवालाहरुलाई नै यसप्रति चासो ।
राजधानीमा बसेर राजधानीकै आम महिलाहरुको बारेमा अञ्जान हुने अधिकारकर्मी र सरोकारवालाहरुले दूरदराजका महिलाको दुःख सुनाउँदै सेमिनारहरु गरेको देख्दा अट्टहास लाग्छ । कहिलेकाहीं सोच्छु, कहिलेसम्म होला कर्णालीका महिलाको आँशु बेच्ने ? कहिलेसम्म सुदूरपश्चिमका महिलाको नाममा राजनीति गर्ने ? आखिर कहिलेसम्म …. ?
सडकमा नारा लगाएर, मान्छे बटुलेर ठुलो काम गर्यौं भनिठान्ने अधिकारकर्मीहरुलाई ठूलो चुनौती हो ती महिलाहरुको संघर्ष । उनीहरूको जिन्दगी त चिया बेच्दैमा र मकै पोल्दैमा कहिले जान्छ, उनीहरु स्वयम्लाई पत्तो हुँदैन । कर्णाली, सुदूरपश्चिम र मधेश त भन्नलाई मात्र हुन् । न कहिल्यै कर्णालीमा विकास आयो न कहिल्यै महिला अधिकार आयो । बस यहाँ त यिनका नाममा ठूलो राजनीति मात्र भयो र भइरहेको छ ।
आज पनि हाम्रो समाजमा महिलाहरु हिंसा, बोक्सीको आरोप, बालविवाह, दाइजो, छाउपडी र बलात्कारजस्ता अपराधको शिकार भइरहेका छन् । छोरीहरुको मृत्यु गर्भबाट सुरु भएर कहाँ गएर अन्त्य हुन्छ भन्ने कसैलाई थाहा छैन । आफ्नै घरभित्र डर र त्रासको जिन्दगी महिलाहरुले वर्षौंदेखि बाँच्दै आइरहेका छन् । आजभोलि त छोरीहरुलाई एक्लै हिंड्न खतरा छ । साँझ परेपछि घरबाट बाहिर निस्कन खतरा छ । बलात्कारको शिकार हुँदै मरेका छोरीहरूको चीत्कार कानमा यसरी ठोकिन्छ कि कान बन्द गर्दा पनि त्यो चीत्कार शान्त हुँदैन । कानूनको बन्द आँखाले न्याय दिन नसकेको देख्दा मन स्तब्ध हुन्छ । न्यायको मन्दिर नै अँध्यारो लाग्न थालेको छ । यी दिनहरुमा आमाहरु प्रार्थना गर्न थालेका छन् कि आफ्नो गर्भबाट छोरीहरु कहिल्यै नजन्मिउन् ।
अर्कोतिर यो पितृसत्ताले जकडिएको मानसिकताले महिलालाई घरदेखि काम गर्ने कार्यालयसम्म पेलेको छ । महिलाको सोचदेखि व्यक्तिगत निर्णयसम्ममा प्रभाव पारिरहेको छ । आफ्नो निर्णयहरु स्वस्फूर्त रुपमा लिन पनि महिलाहरु हिच्किचाउनुपर्ने अवस्थामा छन् । आज आम महिलादेखि लिएर सदनका महिलाहरु समेत यसका शिकार भइरहेका छन् । महिलाको चरित्रहत्या समेत आम कुरा बन्न गएको छ ।
हाम्रो समाजमा पितृसत्ताले यतिसम्म जरा गाडेको छ कि महिलामाथि हुने यौनिक अत्याचारमा महिलाकै पहिरनदेखि लिएर उनको हाउभाउलाई दोष दिइन्छ । यसको बारेमा हामीले गम्भीर भएर अब सोच्नै पर्छ । हाम्रो लडाइँ जहिले पनि व्यक्तिसँग मात्र भयो । राज्यमा शक्तिको बाँडफाँडका लागि मात्र भयो । तर हामी कहिले लड्ने यस्तो प्रवृत्ति विरुद्ध ? आफूलाई मात्र सबथोक ठान्ने सत्ताको विरुद्ध, महिलालाई लिएर सोच्ने एउटा साँघुरो मानसिकताको विरुद्ध आखिर कहिले लड्ने ?
अबको हाम्रो लडाइँ हाम्रो लागि हुनुपर्छ । हामी महिलाको अस्तित्व रक्षाका निम्ति हुनुपर्छ । सिमोन द बोउवार भन्छिन् – ‘यदि इतिहासमा धेरै कम स्त्रीहरु प्रतिभाशाली भएका छन् भने, यसको कारण उनीहरु स्त्री हुनु होइन बरु यो समाज हो, जसले स्त्रीका सारा अभिव्यक्तिलाई नियन्त्रण गरिरहन्छ र उनीहरूलाई प्रत्येक सुविधाबाट वञ्चित राख्छ । बुद्धिमान स्त्रीको पनि सार्वजनिक हितहरुको लागि आहुति दिइन्छ । यदि उनीहरुलाई विकासको पूरा अवसर मिल्यो भने, यस्तो कुनै काम छैन जुन उनीहरु गर्न नसकुन् ।
आज पनि हाम्रो समाजमा महिलाहरुलाई खेलौना बनाएर राखिएको छ । बच्चा जन्माउने मेसिनको रुपमा हेरिन्छ । यौनको प्यास बुझाउने साधनको रुपमा लिइन्छ । उनीहरुको स्वतन्त्रतामा बन्देज लगाएर आफूलाई महान् ठान्न यो समाज अलिकति पनि हिच्किचाउँदैन । महिलाका आफ्ना इच्छा छन्, चाहना छन्, विचारहरु छन् भन्ने कुरा मान्न यो समाज तयार नै छैन ।
त्यसैले अब हाम्रो लडाइँ यो सत्ता र सोचको विरुद्ध हुनुपर्छ । राज्यका हरेक महिलाहरुलाई सचेत गराउनु, जागरुक गराउनु हामी सबैको दायित्व हो । जबसम्म महिलाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदैन, तबसम्म महिला यसरी नै पीडित भइरहनुपर्नेछ । यस्तो दमन, अतिक्रमण र प्रभुत्ववादी सोचलाई परास्त गर्नैपर्छ । समान हक र अधिकारका भागिदार महिला पनि उत्तिकै हुन् जति पुरुष छन् भन्ने कुरालाई सामाजिक, सांस्कृतिक, राजनीतिक तथा अन्य विभिन्न क्षेत्रहरुबाट पुष्ट्याइँ गर्नुपर्छ । समान हक र समान पहुँचका लागि नारी आन्दोलन अपरिहार्य देखिन्छ । अब हाम्रो समाजलाई यो कुराको विश्वास दिलाउन आवश्यक छ कि महिलाहरु यो समाजका महत्त्वपूर्ण पक्षहरु हुन् । उनीहरु विनाको पूर्णसमाज कल्पना नै गर्न सकिंदैन ।
यसको लागि अब आमरूपमा यो दिवसप्रति सबैको चासो बढ्दै जानुपर्छ । मार्च ८ लाई सरकार र एनजीओको शिकार हुन दिनुहुँदैन । कर्णाली, सुदूरपश्चिम र मधेशका महिलाले समेत यसको आभास गर्न सकुन्, अबको हाम्रो कदम त्यतातिर हुनुपर्छ । त्यसको लागि हामी सम्पूर्ण महिलाहरुले एउटै हुंकार गर्नुपर्छ । तब मात्र नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका महिलाहरुको अधिकारमा समान पहुँच हुनेछ, सबै क्षेत्रमा उनीहरूको समानता सहितको प्रतिनिधित्व हुनेछ । जुन मार्च ८ को पनि अभिप्राय हो ।
राष्टपती देखि गरीबी किसान,पिडित सबै महिलाहरु लाई नारी दिबसको शुभकामना।सुन्दर लेख प्यारी😍