बाबुरामले नेपाली सेनासँग ‘गौरव’ गर्ने दिन कसरी आयो ?
काठमाडौं । दोस्रो जनआन्दोलनको रापताप सकिएको थियो । तत्कालीन सात राजनीतिक दल र भूमिगत नेकपा (माओवादी)बीचमा युद्धविराम भयो । युद्धविराम भएको केही समयपछि २०६३ असार २ गते माओवादीका दुई शीर्ष नेता- पुष्पकमल दाहाल प्रचण्ड र डाक्टर बाबुराम भट्टराई- एकै भेषमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा प्रधानमन्त्री निवास बालुवाटरमा सार्वजनिक भए ।
कास्कीबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासँगै हेलिकप्टरमा काठमाडौं आएका थिए । सार्वजनिक भएर पत्रकारहरुसँग बोल्दा माओवादी नेताले नेपाली सेनालाई तथानाम गाली गरे । प्रचण्डले त बलात्कारी नै भने । सेनाको लाख संख्या घटाएर दश हजार हुनुपर्ने तर्क गरे । सेनाको संख्या घटाउने मुद्दा खासै बजारमा चलेन । बलात्कारी भनेको व्यापक आलोचना भएपछि प्रचण्डले आफ्नो भनाइ फिर्ता लिए ।
माओवादीको हिंसात्मक विद्रोहबाट सार्वजनिक भएकै दिन प्रचण्डले सेनालाई आरोप लगाउँदाका साक्षी भट्टराई पनि नेपाली सेनाका बारेमा सकारात्मक व्यक्ति होइनन् । उनले नेपाली सेनाको बारेमा सार्वजनिक रुपमा सकारात्मक बोलेका थिएनन् ।
हालसालै नेपाली सेनाको ‘आर्मी कमाण्ड एण्ड स्टाफ कलेज’मा प्रमुख वक्ताको रुपमा पुगेका भट्टराईले ‘अर्थतन्त्र र राष्ट्रिय सुरक्षा’ शीर्षकमा दुई हजार बढी शब्दमा आफ्ना कुरा राखे । युक्रेन युद्धको प्रभाव, डिजिटल क्रान्ति, चीन-अमेरिका हुँदै भारत-चीनको प्रतिस्पर्धालगायतका मुद्दामा उनले बोले । भट्टराईको बोलीमा सबैभन्दा रोचक कुरा चैं उनले सेनाबाट पाएको युद्धकालीन सहयोगको किस्सा हो । उनले सेना परिचालन भएको समयमा आफूलाई सोधपुछ गर्दा आफ्नो पहिचान भए पनि सैनिक अधिकारीले छोडिदिएको गम्भीर खुलासा गरेका छन् ।
उनले सन् २००३ मा नवलपरासीको दाउन्नेको एक गम्भीर घटना सार्वजनिक गरेका छन् । नेपाली सेना नेपालको प्रगतिशील मुद्दामा सकारात्मक भएको भन्ने प्रसंगमा उनले भनेका छन्, ‘जनयुद्धकालताका म अझै सम्झन्छु, सन् २००३ मा सेना परिचालन भएको समयमा म पूर्वपश्चिम राजमार्ग भएर हिँड्दा नवलपरासीको दाउन्नेमा सेनाबाट सोधपुछमा परेको थिएँ । त्यहाँ रहेका सैनिक अधिकारीले मेरो अनुहार हेरे । मुस्कुराए र, मलाई जान दिए ।’
यो पनि पढ्नुस् : आर्मी कलेजमा बाबुराम भट्टराईको मन्तव्य: नेपाली सेनासँग विश्वभरका सैनिक प्रेरित छन्
माओवादीलाई नेपाली राज्यसत्तादेखि अमेरिकासम्मले ‘आतंककारी’ घोषणा गरेको समयमा माओवादीका शीर्ष नेतालाई चिनेर छोड्ने सैनिक अधिकारीबारे बाबुरामको खुलासा सुन्दा अहिले माओवादी मूलधारको राजनीतिमा आउँदा सुन्दर सुनिन्छ । तर, नेपाली सेनाको खासखास तप्कासँग माओवादीको कस्तो साँठगाँठ थियो भन्ने शंका पनि यसले उब्जाएको छ ।
आफूलाई युद्धकालमा देखेर पनि छोड्ने मुद्दामा मात्रै नेपाली सेनासँग भावुक भएनन् भट्टराई । उनले नेपाली सेनाको तारिफमा थप तर्क गरे । उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खेलेको योगदानको मात्रै तारिफ गरेनन्, नेपाली सेना विश्वभरका सैनिकहरुको प्रेरणा भएकोसमेत बताए । नेपाली सेनाको व्यवसायिकता र शान्ति मिसनमा पाएको सम्मानलाई सम्झँदै भट्टराईले स्टाफ कलेजको मन्तव्यमा भनेका थिए, ‘हामी सबै तपाईं (नेपाली सेना)सँग गर्व गर्छौं ।’
उसो त माओवादीसँग ‘सफ्ट कर्नर’ राख्ने सैनिक अधिकारीहरु युद्धदेखि शान्ति प्रक्रियासम्म देखिएकै हुन् । युद्धकालमा माओवादीलाई सहयोग गरेकै उपहार अवकाशप्राप्त जर्नेल कुमार फुदुङले २०६४ चैत २८ गते भएको पहिलो संविधानसभामा माओवादीबाट सुनसरीमा प्रत्यक्ष टिकट पाएका थिए । २०६६ वैशाख २० गतेको कटवाल प्रकरणमा कुलबहादुर खड्काले प्रोटोकल र विधान मिचेर प्रचण्ड–बाबुराम क्याबिनेटले प्रधानसेनापति बनाउँदा स्वीकार गरेका थिए ।
उसो त माओवादीले दाङमा सैनिक पोस्ट हान्नु अगाडि ‘सेनालाई नछो, पुलिसलाई नछोड’ भन्ने नारै लगाएका थिए । नेपाली सेनादेखि माओवादी नेतृत्वसँग हिमचिम भएका अवकाशप्राप्त भारतीय जर्नेल अशोककुमार मेहतासम्मले माओवादी युद्धकालमै सन् २००५ मा सार्वजनिक गरेको आफ्नो पुस्तक ‘दि रोयल नेपाल आर्मी’मा लेखेका छन् ।
बाबुराम भट्टराईले पनि केही सैनिक अधिकारीहरुलाई च्यापेका अरु रोचक उदाहरण पनि छन् । जस्तै भट्टराई प्रधानमन्त्री हुँदा २०६८ पुसमा उनले नेपाली सेनाबाट अवकाश पाएका विकास निर्माण महानिर्देशनालयका प्रमुख (प्राविधिकतर्फका) उपरथि नरेश बस्न्यातलाई महानिर्देशनालयमा करारमा राखेको सैनिक अधिकारीहरु बताउँछन् । यस्तै भट्टराईले माओवादी थुनुवाहरुलाई धेरै यातना दिएको भनेर बदनाम भैरवनाथ गणका सैनिक अधिकारी राजु बस्न्यातलाई बढुवा गरेर सहायक रथी बनाएका थिए ।
यतिमात्रै होइन, भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मा सेनाले दुईवटा हेलिकप्टर किन्न साढे दुई अर्ब माग्दा उनले तीन अर्ब दिएका थिए । नेपाली सेनाको आकार ठूलो भएको भन्दै आइरहेको मास मिडिया र सोसल मिडियामा आलोचना भइरहेका वेला प्रधानसेनापति प्रभुराम शर्माले एक्लै डिफेन्स गरेको परिप्रेक्ष्यमा आएको भट्टराईको सेनाबारेको प्रशंसाले सेनालाई सार्वजनिक खपतकै लागि पनि सजिलो भएको छ । सेनासँग लडेका विद्रोही पक्षका नेताले समेत सेनाको तारिफ गर्नुले सेनाले त्यो भनाइ राम्रोसँग सेल गर्न पाएको छ ।
बाबुराम भट्टराईले पछिल्लो समयमा स्टाफ कलेजमा दिएको सेनासँग गौरव गर्ने तथा युद्धकालमा सैनिक अधिकारीले भेटेर पनि छोडेको घटनाले मूलतः तीन कुरा देखाएको छ ।
एक, बाबुराम सेनासँग शान्ति प्रक्रियामा आएर प्रधानमन्त्री बनेपछि मात्रै सकारात्मक भएका होइनन् । युद्धकालमै सैनिक अधिकारीले सेफ गरेकाले उनी सकारात्मक थिए । सैनिक र माओवादी दुवै पक्षले हत्या गर्ने भनेका तल्लो तहका हुन् भन्ने यसले संकेत गर्छ ।
दुई, नेपाली सेनासँग एक त्यस्तो तप्का थियो, जो माओवादीलाई भित्री सहयोग गरिरहेको थियो । नेपाली सेना आफूले दाबी गरेको जस्तो व्यवसायिक नभएको यसले देखाउँछ । सैनिक अधिकारीहरु कसरी विद्रोहीलाई जोगाउन लागेका रहेछन् भन्ने उदाहरण देखाउँछ ।
तीन, माओवादी नेतृत्वले सेनाको संख्या घटाउने, अन्य गम्भीर आरोप बलिया मुद्दा थिएनन् । त्यो सबै राजनीति गर्ने मेलोमात्रै थियो ।