ग्रासरुट अभियानमा देखिएका परिदृश्य – Nepal Press

ग्रासरुट अभियानमा देखिएका परिदृश्य

‘धेरै जोगी भए मन्दिर उजाड हुन्छ’ भन्ने उक्ति नेपाली राजनीतिको गठबन्धन संस्कृतिले छर्लंग पारेको छ । राजनीतिक उत्तरदायित्व नेपाली राजनीतिको संस्कारभित्र पर्दैन । गठबन्धन संस्कृति स्वभावले नै गन्तव्य एकातिर अभ्यास ठीकविपरीत हुने नै हो । करिबकरिब नेपाली राजनीति क्षतविक्षत जस्तो देखिन्छ । अपहेलितमात्र होइन, तिरस्कृत पनि छ । गठबन्धन संस्कृतिबाट नेपाली राजनीतिलाई मुक्त गराउनु ग्रासरुट मिसनको मुख्य उद्देश्य हो । सबै तह र तप्कामा एमाले ५१ प्रतिशतको राजनीति गर्न चाहन्छ । अहिलेको एमालेको उपलब्धि ३३ प्रतिशतको हाराहारीमा देखिन्छ । आआफ्नो पार्टीको कारखाना खोलेर गठबन्धनको नाममा एमालेलाई एक्ल्याउने तरिका नौलो भने होइन ।

पार्टीभित्रको आन्तरिक जीवन सुदृढ र शुद्ध नभएसम्म गठबन्धन संस्कृतिको अन्त्य हुँदैन । विष्णु भगवानले कालकुट विष हवन गरेजस्तो गठबन्धन संस्कृतिका सबै दूषित परिणाम र अपराधको ठेक्का एमालेले लिनुपरेको छ । जनताबाट अनुमोदित भई सत्तामा पुगेर जनताको सेवा गर्ने अथवा अनुमोदित हुन नसके जनताको ग्रासरुटमा पुग्ने अभियान पनि हो । ग्रासरुट अभियानको सार्थकता २०८४ को निर्वाचन परिणामले पुष्टि गर्ला । एमाले, नेकपा र त्यसपछि पुनः एमालेसम्म आइपुग्दा एमाले स्वयंको संगठनको जग केन्द्रदेखि जरासम्म हल्लिएको छ । एमालेलाई पुरानो अवस्थामा फर्काउन र जीवित राख्न पार्टी नेतृत्वले ग्रासरुट अभियानबाट सार्थकता खोज्दैछ । यो अभियानमा धेरै परिदृश्यहरु देखिएका छन् ।

पुनर्गठन प्रधान विषय

पार्टीको नियमित अधिवेशन, छलफल, बैठक र प्रशिक्षण सामान्य कुरा हुन् । एमालेको पार्टी निर्माणमा चिनियाँ अभ्यासको खाँचो देखिन्छ । पार्टीमा इमानदार मानिस अटाउने अवस्था देखिँदैन । तहगत रूपमा पूर्ण निषेधको राजनीति छ । कार्टेलिङ छ । केन्द्रीय नेतृत्व बेखबर हुनुपर्छ । पार्टीको हिजोको अभ्यास निर्वाचनबाट पनि उही पात्र र उही प्रवृत्तिको पुनरावृत्ति हुने अवस्था देखिन्छ । कम्युनिष्ट संस्कृतिमा केन्द्रीय नेतृत्वले ५० प्रतिशत मनोनीत गर्ने अधिकार राख्नुपर्छ । नेतृत्वमा बसेका छन् । तर, जिम्मेवारीबोध यदाकदा कहींकतै छिटपुट पाइन्छ । स्थानीय तहको नेतृत्व निर्माणमा पार्टी केन्द्रले एउटा विज्ञ समूह बनाएर अप्रत्यक्ष रूपमा सूचना संकलन गर्नुपर्छ । हिजोको जस्तो कार्यकर्ताबाट अनुमोदित भन्ने प्रश्नले यथार्थ नतिजा दिने देखिँदैन । केन्द्रले ५० प्रतिशत र ५० प्रतिशत कार्यकर्ताबाट नेतृत्व निर्माण हुनुपर्छ । नेतृत्व निर्माणमा व्यक्तिको क्षमता, योग्यता र इमानदारीको जीन टेस्ट गर्नु आवश्यक ठहरिन्छ ।

सबै तह र तप्कामा एमाले ५१ प्रतिशतको राजनीति गर्न चाहन्छ । अहिलेको एमालेको उपलब्धि ३३ प्रतिशतको हाराहारीमा देखिन्छ । आआफ्नो पार्टीको कारखाना खोलेर गठबन्धनको नाममा एमालेलाई एक्ल्याउने तरिका नौलो भने होइन ।

कार्यकर्ताको पृष्ठभूमिको हेक्का राख्नु

राजनीतिक पृष्ठभूमिबाट नेतृत्व निर्माण भएको हो अथवा एकाएक उदाएका पात्र हुन् ? ठम्याउन जरुरी छ । ठेक्कापट्टा गर्‍यो, पैसा कमायो । पैसा प्रयोग गरी अवसर प्राप्त गर्‍यो । पुनः पैसाका लागि राजनीति गरिरहेको असंख्य दृष्टान्त छन् । एनजीओ चलायो, बोल्न सिक्यो, पैसा कमायो र नेता भयो । नभएको राजनीतिक संस्कार र संस्कृतिमात्र हो । एनजीओ संस्कृति बोकेर नेता हुनेहरुको राजनीतिक बुझाइ र चिन्तन कस्तो हुन्छ ? सामान्यतः कल्पना गर्न सकिन्छ । यिनीहरुको कारण असल, इमानदार कार्यकर्ता पलायन हुँदै गए । अन्ततोगत्वा पार्टी संकटमा पुग्दोरहेछ । यी दृष्टान्तमात्र भए । एउटा बौद्धिक कार्यकर्ता पार्टीमा टिक्न सक्दैन । तर, ठेकेदार, एनजीओ संस्कृतिले हालीमुहाली गरेको हुन्छ ।

पुस्तान्तरणको बुझाइमा पुनरावलोकन

पुस्तान्तरणको व्याख्या र अभ्यास एमालेले परिवर्तन गर्न आवश्यक छ । युवाले नेतृत्व गरेको ठाउँमा सबैभन्दा बढी पार्टी तहसनहस छ । अहिलेको युवाले राजनीतिलाई व्यापार बुझेको देखिन्छ । ठेकेदार नभएका युवा जनप्रतिनिधिहरु विरलै भेटिन्छन् । पार्टीबाट सकेसम्म धेरै पटक खाने भन्ने बुझाइ छ । पुस्तान्तरणको कारण एमालेलाई माया गर्ने धेरै पुराना पुस्ता एमालेमा निरास देखिन्छन् । पार्टीले नेतृत्व निर्माणमा सकेसम्म २० प्रतिशत युवा, ५० प्रतिशत प्रौढ र ३० प्रतिशत पाका उमेरको हिस्सेदारीमा कमिटी निर्माण गर्नुपर्छ । युवाको नेतृत्व क्षमता छैन । कुनै राजनीतिक संस्कार छैन । तर, जबरजस्त पुस्तान्तरणको वकालत गर्दछ ।

संगठनको आकार र गुणमा उठेका सवाल

संगठनको आकार ठूलो भएको हो अथवा तहगत रूपमा नेतृत्वको अकर्मण्यताको गहन प्रश्न हो ? संगठनहरु कामकाजी किन भएनन ? ग्रासरुटसम्म एउटै रोग देखिन्छ । के समीक्षा गर्ने उपयुक्त समय आएको हो ? उपचारको खोजी हुनु जरुरी देखिन्छ । अधिवेशनको समय नेतृत्व हत्याउन होडबाजी चल्छ, मारामार हुन्छ । एउटै व्यक्ति कुनै पनि कमिटी छोड्न चाहँदैन । पद नदिए पार्टी छोडेर जाने धम्की सामान्य भएको छ । कमिटी गठन भएपछि पुनः अर्काे अधिवेशनमा भेट हुन्छ । यस्तो संख्या पूर्ण कमिटीको आधाभन्दा उल्लेख्य देखियो । बैठकमा कहिल्यै नआउने कमरेडहरुका प्रश्न के हुने ?

पूर्ण कमिटीबाट सचिवालय बनायो । सचिवालयको बैठकको कोरम पुग्दैन । सचिवालय भद्दा भयो, पदाधिकारीले काम गरौं भन्यो, पदाधिकारी बैठकको पनि कोरम पुग्दैन । कार्यकर्तामा जिम्मेवारीबोध छैन । निर्णय पालना गर्दैनन् ।

हिजो सानो आकारको कमिटीले उल्लेख्य नतिजा दिन्थ्यो । संगठनको आकार भद्दा भयो भनेर उपल्लो कमिटीलाई रिपोर्टिङ गर्ने कमरेड आफैं नेतृत्वलाई प्रश्न गर्छन् । हामीले सिफारिस गरेका व्यक्तिहरुलाई माथिल्लो कमिटीले बेवास्ता गर्‍यो भन्दै तल्लो कमिटी आफैं सिफारिस गर्छ । आफैं कामकाजी भएनन् भन्दै नेतृत्वको आलोचना गर्न पछि पर्दैनन् । पूर्ण कमिटीबाट सचिवालय बनायो । सचिवालयको बैठकको कोरम पुग्दैन । सचिवालय भद्दा भयो, पदाधिकारीले काम गरौं भन्यो, पदाधिकारी बैठकको पनि कोरम पुग्दैन । कार्यकर्तामा जिम्मेवारीबोध छैन । निर्णय पालना गर्दैनन् । राजनीति गर्छौं भन्छौं । बिहानदेखि बेलुकासम्म भट्टीमा समय बिताउँछौं । तर, महिनामा एकपटक एक दिन पार्टीलाई दिने समय छैन ।

पार्टी कमजोर कहाँ छ ?

पार्टी इमानदार र सोझा कार्यकर्ता भएको ठाउँमा बिग्रिएको छैन । कसले पार्टीलाई धेरै गाली गर्छ, कसको धेरै दुखेसो छ, जसलाई पार्टीले चिनायो, जसलाई पार्टीले पहिचान दियो, जसलाई पार्टीले अवसर दियो र पार्टी बेचेर परिवार पालनपोषण गर्‍यो, ऊ नै सबैभन्दा दुःखी छ । उसले सबैभन्दा धेरै उपदेश दिन्छ । उसले नेतृत्वलाई पाठ सिकाउन खोज्छ । नेतृत्वको हजारौं रणनीति हुन्छन्, बुझ्दैन । हाम्रा दुई आँखाले देखे जस्तो राष्ट्रिय राजनीति हुँदैन । पार्टी भजाएर जीवन जिउन सधैं खुरापाती गर्ने, अर्काेपटक खान आजैदेखि योजना गर्ने, चलखेल गर्ने, सिध्याउने बहादुर कमरेड भएका ठाउँमा पार्टी अत्यन्त कमजोर छ । इमानदार भएर भोलि सफलता प्राप्त गर्ने कसैको लक्ष्य छैन । जो बैठकमा आएर चर्का कुरा गर्छ, काम फिटिक्कै गर्दैन, थोरै पनि गर्दैन, नेतृत्वको मूल्यांकन गर्ने आँखा परिवर्तन गर्नुपर्छ ।

इमानदार कार्यकर्तालाई चर्का कुरा गर्ने फुर्सद हुँदैन । ऊ सधैं नेतृत्वको कुरा सुनिरहन्छ । पार्टी बिक्री गरी खाने कमरेडहरुलाई ब्रेक गरी दिनुपर्छ । कति अडिन्छ, कति टिक्छ ? एकपटक परीक्षण गर्नु आवश्यक छ । ग्रासरुट अभियानपछि एमाले पुरानो फ्रेममा फर्कन्छ । एमालेपछि नेकपा र पुनः एमाले हुँदा केही जग हल्लिएको साँचो हो । हामीले आफ्नो जिम्मेवारी अक्षरसः पालना गर्ने हो भने एमाले पुनः धेरै वर्ष अगाडिको सुसंस्कृत र सुदृढ हुन्छ । यो चानचुने अभियान होइन ।

(ढकाल एमाले ग्रासरुट अभियान मकवानपुरका प्रदेश सहजकर्ता हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *