मिटरब्याज पीडितले खुलामञ्च बाहिरै रात बिताए, बिहानै बालुवाटारमा धर्ना (तस्बिरहरू/भिडिओ)
काठमाडौं । न्याय माग्दै महोत्तरीबाट ११ दिन पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याज पीडितहरूले खुला आकाशमै रात बिताएका छन् ।
धर्नाका लागि काठमाडौंको खुलामञ्च प्रवेश गर्दा महानरले रोकेपछि उनीहरूले खुलामञ्च बाहिर नै रात बिताएका हुन् ।
आज बिहानै उनीहरू प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका छन् ।
निषेधित क्षेत्रमा प्रहरीले रोकेपछि अहिले टंगालमा उनीहरूले धर्ना दिइरहेका छन् ।
पीडितहरूले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन शाहविरुद्ध नाराबाजी समेत गरेका थिए ।
उनीहरूले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर विरोध गरेका छन् ।
पीडितहरूको आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समर्थन जनाएका छन् ।
उनले पीडितका समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।