‘इजोरिया’ र ‘ऐंठन’: पुस्तकका मुद्दा राष्ट्रिय बहसमा आएको संयोग !
काठमाडौं । ‘आख्यानले ठूलो सत्य भन्न सक्छ ।’ दक्षिण कोरियाको मिडिया क्षेत्रमा तीन दशक काम गरेकी पत्रकार बाइक जि येओनले सन् २०१५ मा यस्तो भनिन् । दक्षिण कोरियाको प्रमुख अंग्रेजी अखबार ‘दि कोरिया हेराल्ड’सँग येओनले यस्तो भनेकी हुन् । देशका ठूल्ठूला घटनाक्रममा जोडिएर पत्रकारिता गरेकी, समसामयिक मुद्दामा छलफल तथा बहस चलाएर तीन दशक पत्रकारिता क्षेत्रमा आएकी येओनको यो तर्क उनको नयाँ उपन्यास ‘ह्याण्डस्ट्याण्ड’ आएपछि आएको हो । सत्य उद्घाटन गर्ने सजिलो माध्यमको रुपमा येओनले आख्यानको सहारा लिइन् र त्यसमा सफलता मिलेपछि भनिन्, ‘आख्यानले ठूलो सत्य भन्न सक्छ ।’
आख्यानले ठूल्ठूला सत्य भन्नसक्छ भन्ने दक्षिण कोरियाली पत्रकार तथा आख्यानकार येओनले जस्तै अहिले नेपाली बजारमा आएका दुई आख्यानले नेपाली समाजका ठूल्ठूला सत्यहरु भनेका छन् । रोचक संयोग नै भन्नुपर्छ, यी दुई आख्यानको पेटबोलीका मुद्दा अहिले नेपालमा मूलधारमा बहसमै आएका छन् । सुविन भट्टराईले लेखेर गत भदौमा बजारमा आएको ‘इजोरिया’ र विवेक ओझाले लेखेर फागुनमा बजारमा आएको ‘ऐंठन’ उपन्यासका पेटबोली अहिले नेपाली मूलधारमा बहसमा छन् ।
‘इजोरिया’ : बलात्कार हदम्यादको हुनुहुन्न भन्ने मुद्दाको आख्यान
स-साना चिटिक्क आकारका प्रेमिल उपन्यास लेख्दै बजारमा एकछत्र राज गर्दै आएका लेखक सुविन भट्टराईको छैटौं पुस्तक र पाँचौं आख्यान ‘इजोरिया’ उनका पुराना पुस्तकहरुभन्दा फरक छ । ४८४ पृष्ठको जम्बो उपन्यास भएरमात्रै फरक होइन, उपन्यासका व्यापक मुद्दाहरुलाई एकै सुर्कोमा बाँध्ने कलामा पनि उपन्यास जम्बो छ । ‘इजोरिया’ खस नेपाली भाषाको शब्द होइन । यो मैथिली भाषाको शब्द हो । मैथिली भाषाको शब्द शीर्षक बनेको उपन्यासको कथा मैथिली भाषीको मात्रै छैन । यो जनकपुरकी नेपाली भाषा बोल्ने सिम्रिक र उनका मैथिली भाषा बोल्ने साथी ठाकुरको कथा हो । यो सिन्धुलीदेखि जनकपुर हुँदै मधेस प्रदेशका अरु जिल्ला र कोशी प्रदेशको विराटनगरसम्म फैलिएको कथा हो । सिम्रिककी हजुरआमा मायादेवीदेखि आमा रमिलासम्मको तीन पुस्ते नारी संघर्षको कथा हो इजोरिया । जूनको उज्यालो अर्थ लाग्ने इजोरिया शब्द जस्तै अन्धकारलाई उज्यालोले चिर्दै गएको संघर्षको कथा भन्ने उपन्यास हो इजोरिया । आमा रमिलाले पाएको यातना, हिंसा र बलात्कारका वेदनासँग जुध्न छोरी सिम्रिकले दिएको साथ, ढाँडस र हौसलाको कथा हो इजोरिया ।
आख्यानले ठूल्ठूला सत्य भन्नसक्छ भन्ने दक्षिण कोरियाली पत्रकार तथा आख्यानकार येओनले जस्तै अहिले नेपाली बजारमा आएका दुई आख्यानले नेपाली समाजका ठूल्ठूला सत्यहरु भनेका छन् ।
सबैभन्दा महत्वपूर्ण त बलात्कार हदम्यादको मुद्दाको कथा हो इजोरिया । आमालाई बलात्कार गर्ने गजराजलाई कानूनी कठघरामा ल्याउन सिम्रिकको संघर्ष कथा हो इजोरिया । कथामा बलात्कार हदम्याद हुँदाका दुःखका कानूनी व्यवधानका एकएक जानकारी छ । बलात्कार भएको १० वर्षपछि चलेको मुद्दामा दफा १३३ को बारेमा एक च्याप्टरै छ । बलात्कारका फरक फरक नाता हुँदा फरक फरक सजाय हुने कुरामा पनि पुस्तकले बहस गरेको छ । यो मुद्दामा सिम्रिकले प्रहरीसँग आक्रोश पोख्छिन्, ‘नाता नजिक भए धेरै सजाय, टाढाको भए थोरै सजाय किन ? बलात्कार त बलात्कार नै होइन र ? यसले त बलात्कारीलाई अलिक टाढाको नातामा गर्न चै छुट रैछ भन्ने बुझिएन ?’ जवाफमा प्रहरीले भन्छ, ‘कानूनमै यस्तो छ ।’
इजोरिया मधेसको कथा त हुँदै हो । भाषा, लवज, संस्कृतिको सेरोफोरो मधेसकै छ । माओवादी विद्रोहदेखि मधेस आन्दोलन सबैलाई उपन्यासले छोएको छ । विगत पाँच वर्ष खोज अनुसन्धान गरेर लेखिएको इजोरिया आएसँगै नेपालमा बलात्कारको हदम्याद हुनुहुन्न भन्ने बहस सतहमा आयो । पल शाहदेखि सन्दीप लामिछाने केस आएपछि यसले बहस झनै बढायो । हदम्यादका मुद्दा सडकमा आउनुभन्दा अगाडि इजोरिया आएको थियो । इजोरियाले बलात्कारको हदम्याद हुनुहुन्न भन्ने पेटबोली बोकेको थियो ।
‘ऐंठन’ : टीआरसी विधेयकको बहस उठाएको आख्यान
यो उपन्यास विवेक ओझाको दोस्रो आख्यान हो । कुनै बेला गजल लेख्दा विवेक ‘विशालु’ लेख्ने ओझाले यो उपन्यासमा राज्य र माओवादी दुवैतर्फबाट आममान्छेमा ल्याएका विशालु तनावका बारेमा लेखेका छन् । ऐंठन २०५२ देखि २०६२ सालसम्म चलेको माओवादी हिंसात्मक विद्रोह र त्यसको दमनमा राज्यले गरेको प्रतिहिंसामा पीडित बनेका आममान्छेको ऐंठनको कथा हो ।
३८० पृष्ठको उपन्यासको प्रमुख पात्र बबनकुमार हो । ऊ दाङ शान्तिनगरको जनता माविको शिक्षक हो । उसकी श्रीमतीको सेनाको गोलीबाट हत्या हुन्छ । माओवादीले घाइते छोरालाई पुर्छन् र बबनकुमारलाई अपहरण गरेर लान्छन् । अपहरणमा परेर माओवादी इलाकाहरुमा पुगेर बबनकुमारले माओवादी यातनाका दृश्य देख्छ । माओवादीले आममान्छे चढ्ने बस उडाएकोदेखि १४ वर्षकी बालिकालाई बलात्कार गरेर आमालाई यातना दिएका दृश्य पुस्तकमा छन् । आत्मसमर्पण गरेका सेना प्रहरीलाई पनि माओवादीले भटाभट काटेको र गोली हानेका गैरन्यायिक हत्याका कुरा पुस्तकमा छन् ।
सबैभन्दा महत्वपूर्ण त बलात्कार हदम्यादको मुद्दाको कथा हो इजोरिया । आमालाई बलात्कार गर्ने गजराजलाई कानूनी कठघरामा ल्याउन सिम्रिकको संघर्ष कथा हो इजोरिया ।
माओवादीबाट छुटेर आउँदा सेनाको थुनामा पर्दा बबनकुमारले सेनाको यातना उत्तिकै देख्छ । योनीमा लठ्ठी हाल्नेदेखि सामूहिक बलात्कार, सामूहिक हत्यासम्म गर्छ सेनाले । सेनाले माओवादीको नाममा गाउँमा धेरैलाई यातना र तनाव दिएका कथा पुस्तकमा छन् । उसो त माओवादी र सेनाकै नम्र अनुहारहरुलाई पनि उपन्यासमा देखाइएको छ । माओवादीभित्र राम्रा र नराम्रा दुवै पक्ष भए जस्तै सेनाभित्र पनि राम्रा र नराम्रा दुवै अनुहार भएको उपन्यासले भन्छ । अर्थात् माओवादी र राज्य पक्षबाट भएका गैरन्यायिक हत्या, हिंसाका कुराहरु र त्यसको बीचमा पिल्सिएका आममान्छेका कथा पुस्तकमा छ ।
अहिले नेपालको मूलधारको बहसमा राज्य र माओवादी दुवै पक्षबाट भएका गैरन्यायिक हत्या, हिंशा र मानवतावादविरुद्धको अपराधमा कारबाही गर भनेर एम्नेस्टी इन्टरनेशनल, आरसीजे, ह्युमेन राइट्स वाचलगायतका विश्व संस्थासँगै नेपालमा पनि आवाज आइरहेका छन् । २०७७ सालसम्मको कथा बोकेको उपन्यासमा यो मुद्दा उठेको छ । उपन्यासको पेटबोलीमा आएको कुरा उपन्यास आएसँगै पुनः राष्ट्रिय बहसमा आएका छन् । देशमा संसदीय व्यवस्था थियो । सडकबाटै गणेशमान सिंह नेतृत्वमा तीन दशक लामो पञ्चायत ढल्यो । पञ्चायतको हतियार र संविधान ध्वस्त बनाउन गणेशमान सिंह नेतृत्वको शान्तिपूर्ण आन्दोलन काफी भयो । गणतन्त्र आउन पनि दोस्रो जनआन्दोलन आउनुपर्यो । माओवादीले न राज्यलाई हतियारले कब्जा गर्न सक्यो न त राज्यले माओवादीलाई निमिट्यान्न गर्न सक्यो । अर्थात् हतियारले कुनै प्रभाव पारेन । तर, हतियारले बबनकुमार जस्ता आम मान्छेलाई भने धेरै दुःख दियो ।
चेतना र हतियारको तुलना गर्दै बबनकुमारले चेतनाको युगमा पनि हतियार धेरै सक्रिय भएको भन्दै भनेका छन्, ‘तर, चेतनाको जन्मसँगै हतियारको मृत्यु हुनुपर्थ्यो ।’ कसरी हतियारधारी सत्ता र विद्रोहीसँग हृदय थिएन भन्ने प्रसंगमा बबनकुमारले भनेका छन्, ‘दुनियाँमा जोसँग हृदय छ, ऊसँग शक्ति हुँदैन । जोसँग शक्ति हुन्छ, ऊसँग हृदय हुँदैन । दुनियाँ बनाउनेले तालमेल मिलाउन जानेन ।’
wow बिराट बाबु