एक हप्ते अभियानपछि नयाँदिल्लीबाट सात जना नेपाली बालबालिकाको उद्धार (भिडिओ) – Nepal Press

एक हप्ते अभियानपछि नयाँदिल्लीबाट सात जना नेपाली बालबालिकाको उद्धार (भिडिओ)

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित रेल्वे स्टेशनबाट सात जना नेपाली बालबालिकाको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानपछि उनीहरुको उद्धार गरिएको हो ।

बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत मार्च २७ देखि अप्रिल २ सम्म गरिएको संयुक्त अभियानबाट नेपाल, बंगलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै ४०० बालबालिकाको उद्धार गरिएको छ ।

नयाँदिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्म, प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीहरुले बालबालिकाको उद्धार गरेका हुन् । उद्धाका क्रममा दिल्ली सरकारअन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म चौबीसै घण्टा चलाइएको अभियानमा सात जना नेपाली बालबालिकाको उद्धार गरिएको जानकारी दिए ।

उनले दिल्ली र अन्य राज्यमा निरन्तर रुपमा नेपाली बालबालिकालाई विभिन्न प्रलोभनमा दिल्ली पुर्‍याइने गरेको भन्दै आफूहरुले उद्धार गरेका बालबालिकालाई किन इण्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम भइरहेको बताए ।

नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका धेरै बालबालिका दिल्ली पुग्ने गरेको उनको भनाइ छ । बालबालिका घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला शहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *