एमालेको गणित : माधव नेपाललाई कति कम्फर्टेबल ? (सूचीसहित) – Nepal Press

एमालेको गणित : माधव नेपाललाई कति कम्फर्टेबल ? (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापित गरिदिएपछि सबैभन्दा संकटमा परेका माधव नेपाल आफ्नाे समूहसहित ‘मूलघर’मै फर्कन तयार भएका छन् । कतिपय नेपाल निकट नेताहरु उनलाई ओलीसँग भन्दा प्रचण्डसँगै कम्फर्टेबल हुने सुझाव दिएका थिए ।

पुनःस्थापित नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको गणितले भने नेपाललाई माओवादी केन्द्रसँग जानुभन्दा एमालेमै बसेर शक्ति अभ्यास गर्दा ‘कम्फर्टेबल’ हुने देखिन्छ ।

एमाले फुटाएर माओवादी केन्द्रमा जानका लागि नेपाललाई संसदीय दलले साथ दिंदैन । उनीसँग एमालेका ४० प्रतिशत सांसद छैनन् । लालबाबु पण्डितजस्ता उनका सहयोगीले समेत अब ओलीको पक्षमा लाग्ने बताइसकेको अवस्थामा सांसदहरुको संख्या अझ घट्न सक्छ ।

तर एमालेको केन्द्रीय कमिटीमा भने माधव नेपालसँग बलियो हिस्सा छ । माओवादीसँग एकता गर्नुअघिको २०१ सदस्यीय केन्द्रीय कमिटीका केन्द्रीय सदस्यमध्ये कतिपयको निधन र केही संवैधानिक पदमा गएकाले रिक्त छन् ।

एमालेको उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति, गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, अग्नि खरेल महान्यायाधिवक्ता, धर्मनाथ यादव प्रदेश प्रमुख र सानुकुमार श्रेष्ठ वागमती प्रदेशको सभामुख भएपछि केन्द्रीय सदस्य रहेनन् ।

त्यस्तै रवीन्द्र अधिकारी, महिन लिम्बु र दिनेशचन्द्र यादवको निधन भइसकेको छ भने राधाकृष्ण मैनाली,प्रल्हाद गिरी कारबाहीमा परेर निष्कासन भएका थिए ।

बाँकी रहेका केन्द्रीय सदस्यमध्ये वामदेव गौतम र हरि पराजुली कता खुल्छन् भन्ने प्रष्ट छैन । सोमनाथ अधिकारी प्यासी पनि प्रदेश प्रमुख भएका छन् । त्यस्तै वंशीधर मिश्र र महेन्द्रबहादुर पाण्डे राजदूत भएका छन् । उनीहरुको पद के हुन्छ भन्ने प्रष्ट छैन ।

यी बाहेकका केन्द्रीय सदस्यहरुमध्ये केपी ओलीको पक्षमा १०५ जना देखिन्छन् भने माधव नेपालको पक्षमा ८९ जना देखिएका छन् । यो संख्या सर्वोच्चकाे पछिल्लो फैसलापछि तलमाथि हुनसक्छ । तर एमाले विघटनअघिको आबद्धताका आधारमा केन्द्रीय कमिटीमा ओली पक्ष बहुमतमा भए पनि माधव नेपाल पक्ष पनि बलियो उपस्थितिमा छ ।

पदाधिकारीमध्ये अध्यक्ष ओली,महासचिव ईश्वर पोखरेल,उपमहासचिवव बिष्णु पौडेल र सचिवहरु प्रदिप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ ओली पक्षमा छन् । उपाध्यक्ष बामदेव तटस्थ रहदा अन्य पदाधिकारीहरु उपाध्यक्ष भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली,उपमहासचिव घनश्याम भुसाल,सचिवहरु योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट माधव पक्षमा छन् ।

संसदीय दलमा भने ओलीको करीव दुई तिहाई बहुमत छ । एमालेका १२१ सांसदमध्ये हाल १२० जना छन् । ती मध्ये ओलीको पक्षमा ८२ जना छन् भने माधव नेपालको पक्षमा ३८ मात्र छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर