सुदूरपश्चिममा बढ्दै मानव-वन्यजन्तु द्वन्द्व – Nepal Press

सुदूरपश्चिममा बढ्दै मानव-वन्यजन्तु द्वन्द्व

कैलाली ।

‘गाउँमा बाघ पस्यो ’ केही हुल मान्छेहरू बाटोतर्फ भागे ।

‘कहाँ छ ’ ३५ वर्षीय बमबहादुर खड्काले सोधे ।

‘ऊ उता’ मान्छेहरू देखाउँदै दौडिए ।

आफ्नै दोकानमा बसिरहेका बम पनि पछि पछि दौडिए ।

बाघ भनेर पच्छाइरहेकाहरूले पछि थाहा पाए त्यो चितुवा रहेछ । नजिकैको जंगलबाट गाउँ पसेको चितुवा हेर्नेहरूको घुइँचो लाग्यो ।

‘ला…अब कसलाई खान्छ ?’

साउन ३ गतेको घटना स्थानीयको आँखामा घुम्यो ।

डोटीकै दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेर आक्रमण गर्दा दुईजना घाइते भएका थिए । चितुवाको आक्रमणबाट ४५ बर्सकी पार्वती विकको हात, टाउकोमा र उनकी ३ वर्षीया छोरी लक्ष्मीको विकको घाँटी र टाउकोमा चोट लागेको थियो ।

मंगलबार स्थानीयले देखेको चितुवा शान्त थियो । कुनै बेला हिँड्ने र कुनै बेला बस्ने गरिरहेको थियो । चितुवाको चाल देखेर बिरामी रहेको अनुमान लगाउन गाउँलेहरूलाई कठिन भएन ।

‘त्यो बिरामी थियो, हिँड्न सकिरहेको थिएन । हामीहरू पछि पछि थियौँ चितुवा अघि अघि हिँडिरहेको थियो’ खड्काले सुनाए ।

डोटी सायल गाउँपालिका-५ पटकानी टोलमा मंगलबार दिउँसो करिब २ बजेतिर २ सय भन्दा बढी स्थानीयले चितुवा पच्छाइरहेका थिए । नरबहादुर बोगटीको घरमा चितुवा पस्यो । घरको तल्लो कोठामा कोही थिएन । भएकाले माथिल्लो तल्लाबाट हेरिरहेका थिए ।

‘घरभित्रबाट फेरि ढोका सम्म आयो’ उनले सुनाए । केही समय ढोकामै पल्टिएको चितुवा नउठ्दा सम्म त्यसको फोटो खिच्नेहरूको घुइँचो लागिरहेको थियो । केहीले चितुवाको फोटो खिचेर सामाजिक सञ्जालमा हाले केहीले चितुवासँगको फोटो खिचेर सामाजिक सञ्जालमा हाले ।

‘त्यहीँ बसेको थियो । म त्यहीँ नजिक गएर फोटो खिचेँ’ खड्काले सुनाए ‘म र चितुवा २ मिटरको दूरीमा मात्रै थियौँ ।’ चितुवासँग खिचिएको उनको सेल्फी अहिले भाइरल छ ।

गाउँमा बिरामी चितुवा पसेको हल्ला प्रहरी चौकी र वन कार्यालयसम्म पुग्यो । उनीहरू उद्धार गर्न पुगे । स्थानीय, प्रहरी र बनकर्मीले घेरा हालेर तटबन्धमा फसाएर र चितुवा लगे ।

दिउँसोबाटै बिरामी चितुवाको उद्धार भएपनि उपचार हुन पाएर र बुधबार बिहानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।

‘बिरामी थियो उद्धार गरेर ल्याएका थियौँ । तर, उपचार केन्द्र नहुँदा बचाउन सकेनौँ’ उनले भने ।

वन्यजन्तुको उपचार केन्द्र नहुँदा सुदूरपश्चिममा प्रत्येक वर्ष लोपोन्मुख जनावरहरूको मृत्यु हुने गरेको छ ।

फागुन २३ गते दार्चुलाको शैल्यशिखर नगरपालिका-२ कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा पनि चितुवा मृत अवस्थामा फेला परेको थियो ।

चितुवाको टाउकोमा गहिरो चोट लागेको देखिएको हो । माघ २६ गते पनि बैतडी पाटन नगरपालिका-४ को रातामाटा जङ्गलमा चितुवा मृत फेला परेको हो । घाँटीमा कसिएको घाउ भेटिएकाले पासोमा परी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । उपचार केन्द्र नहुँदा यहाँ पासोमा परेका चितुवालाई बचाउन सकस छ ।

डिभिजन वन कार्यालयका अनुसार हालसम्म बैतडीमा १३ वटा चितुवा मृत फेला परेका छन् ।

पहाडी जिल्लामा मात्र होइन तराइमा पनि यस्ता जनावरहरूलाई बचाउन सकिएको छैन । अघिल्लो चैत्र १७ गते कैलालीको घोडाघोडी नगरपालिका- १० तुलसीपुर सामुदायिक वन नजिकै रहेको झिरौखामा पासोमा परेको अवस्थामा चितुवा फेला पर्‍यो । उद्धार र उपचारमा ढिलाइ हुँदा चितुवा बच्न सकेन ।

मानव-वन्यजन्तु द्वन्द्व

कैलाली कञ्चनपुरका जङ्गल नजिकका बस्तीहरूमा अहिले मानवबाट जनावर र जनावरबाट मानव दुवै जोखिममा छन् ।

कञ्चनपुरको लालझाडी गाउँपालिका- ६ ढक्का शिविरकी यहि माघ ११ गते रत्ना सार्की हात्तीको आक्रमणबाट घाइते भइन् । अघिल्लो बर्ष मङ्सिर २६ गते ढक्का शिविरकै ४५ वर्षीय खगिराज रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

गएको भदौमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटाकी २२ वर्षीया मिरा जोशीको, असार ४ गते कैलालीको टीकापुर नगरपालिका २ की टंकदेवी सोडारीको पनि ज्यान गएको थियो ।

२०७८ कात्तिक २ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट ५५ वर्षीय ध्वजबहादुर कार्की र श्रीमती ४५ वर्षीया मथुरा कार्कीले ज्यान गुमाए । जङ्गली जनावरबाट ज्यान गुमाउनेहरूको संख्या बढिरहेको छ ।

शुक्लाफाँटा राष्टिय निकुञ्जको तथ्यांकअनुसार जङ्गली जनावरको आक्रमणबाट पछिल्लो ३ वर्षमा १४ जनाले ज्यान गुमाए । आर्थिक वर्ष २०७६/७७ मा जङ्गली जनावरले २५ जनालाई आक्रमण गरेको थियो । जसमा ५ जनाको मृत्यु भयो भने १५ जना घाइते भए । आर्थिक वर्ष २०७७/७८ मा जङ्गली जनावरको आक्रमणबाट ३० जना घाइते भए । जसमध्ये १४ जना सामान्य र १३ जना गम्भीर घाइते भएका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ४३ जना आक्रमणमा परेका थिए । जसमा १० जना सामान्य र २७ जना सख्त घाइते भएका थिए । यो अवधिसम्म वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका परिवार र घाइतेहरूका लागि १ करोड ७६ लाख ९८ हजार ९०६ रूपैयाँ राहत रकम प्रदान गरिएको छ ।

यही चैत १० गते कञ्चनपुरको पुनर्वास नगरपालिका-१० भीमबस्तीकी ३२ वर्षीया कलशा सार्कीको बाघले ज्यान लिएपछि स्थानीय अझ त्रसित छन् ।

अहिले फेरी भारतसँग सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्रका गाउँ नजिक बाघ देखिन थालेको छ ।

वन्यजन्तु मानव बस्ती नजिक पुगेपछि मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको छ । कहिले जनावरले मान्छे मारेको त कहिले मान्छेले जनावर एकपछि अर्को घटना भइरहेको छ । यसले चोरी सिकारी पनि बढेको जिल्ला डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुली बताउँछन् ।

कैलालीमा हात्ती र बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ भने पहाडी जिल्ला बैतडीमा चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको संख्या अधिक छ ।

तल्लो स्वराड क्षेत्र भनेर चिनिने पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा चितुवाको आक्रमणबाट २०६८ यता २७ जनाको ज्यान गएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्र मेलौली नगरपालिका–९ अर्थात् साबिकको विशालपुर गाविस हो। जहाँ १० जनाको ज्यान गएको छ ।

त्यसो त २०७४ यता ११ वटा चितुवासमेत मरेको पाइएको छ। ६ वटा पासोमा परेर, एउटा गोली लागेर र अन्य मृत भेटिएको हो। यसले मानव–चितुवा द्वन्द्व बढ्दो देखाउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *