प्रहरीले सहयाेग नगरेपछि ब्याक भए बालेन, गैरीगाउँ पसेन डाेजर
काठमाडौं । गैरिगाउँमा डाेजर चलाएर अनाधिकृत संरचना हटाउने काठमाडाैं महानगरपालिकाकाे प्रयास असफल भएकाे छ । स्थानीय सुकुम्वासीले पहिल्यैबाट बाटाेमा टायर बालेर अवराेध गरेपछि महानगर पछि हट्न वाध्य भयाे ।
महानगरले केही समयअघि गोरखापत्रमा अनधिकृत संरचना भत्काउन सूचना जारी गरेको थियो । त्यहीअनुरुप आज महानगरले डोजर चलाउने स्थानीयमा त्रास भएपछि उनीहरु प्रतिकारमा उत्रन तम्तयार भएर सबै नाकामा बसेका थिए । बालेनका समर्थकहरू पनि त्यहाँ पुगेर नारावाजी गर्न थालेपछि मुठभेडकाे त्रास बढेकाे थियाे । तर प्रहरीकाे साथ नपाएपछि जबरजस्ति सुकुम्वासी बस्तिमा पसाउन महानगरले हिम्मत गरेन ।
महानगरले संरचना भत्काउन डोजर, नगर प्रहरी तैनाथ राखेको थियो । आज दिउँसैदेखि सुकुम्बासी बस्तीमा डोजर चलाउने योजना थियाे । तर सुरक्षा प्रबन्धका लागि गृह मन्त्रालयलाई अनुरोध गरे पनि गृहले इन्कार गरेकाे बुझिएकाे छ । मेयर बालेन स्वयम् सिनामंगलस्थित एपीएफ गणमा पुगेर सुरक्षाका लागि आग्रह गरेका थिए । गणले भने आफूहरुलाई गृह मन्त्रालयको आदेश नआएको भन्दै आएको खण्डमा सहयोग गर्ने बताएकाे थियाे । त्यसपछि बालेन निस्किए । स्थानीय आक्रोशित बनेर सडक अवरुद्ध गरेपछि उनी त्यस स्थानमा पुग्न सकेनन् । महानगर कार्यालयमा तयार रहेका नगर प्रहरी पनि सुरक्षा थ्रेटका कारण पछि हटे ।
यस विषयमा महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेसँग बुझ्न खोज्दा उनले व्यस्त भएको भन्दै बोल्न चाहेनन् ।
महानगरका मेयर बालेन्द्र शाह बालेननिकट स्रोतले भने आजै बस्तीमा डोजर चलाउने योजना नभएकाे दावी गर्याे । गोरखापत्रमा प्रकाशित सूचनाअनुसार बस्ती आफैं हटाउनका लागि माइकिङ गर्ने मात्र कार्यक्रम रहेको स्राेतले बतायाे ।
केही समयअघि थापाथलीस्थित सुकुम्बासी बस्तीको अनाधिकृत संरचना भत्काउन जाँदा केही नगर प्रहरीहरु घाइते भएका थिए ।
गैरीगाउँमा अहिले पनि स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राखेर प्रहरी पनि उपस्थित रहेको छ ।