एरिक भ्यालीसँग कर्णाली सफर गरेका ‘गेमस्काउट’ यात्रीको ३३ वर्षे जंगल यात्रा – Nepal Press
किताबी कुरा

एरिक भ्यालीसँग कर्णाली सफर गरेका ‘गेमस्काउट’ यात्रीको ३३ वर्षे जंगल यात्रा

काठमाडौं । नागरिकताको नाम- केशवराज भेटवाल । तर, लेखन क्षेत्रको नाम- धर्तीचन्द्र यात्री । उनले झण्डै साढे तीन दशकदेखि गर्ने सरकारी इलमको पद- सिनियर गेमस्काउट । तर, उनको अतिरिक्त काम कविता, नियात्रा लेखन ।

यस्तै भिन्नभिन्न परिचय बोकेका धर्तीचन्द्र यात्रीले गत फागुनमा पहिलो नियात्रा ‘जंगलमा ३३ वर्ष’ बजारमा ल्याएका छन् । नियात्रालाई चलेका व्यवसायिक प्रकाशन गृहले छापेको छैन । तत्कालीन श्री ५ को सरकारका सचिव रहेका डाक्टर ठाकुरनाथ पन्तको नामको स्मृति गुठीबाट पुस्तक प्रकाशन भएको छ । एक हजार प्रति छापिएको पुस्तक ११० पेजको छ । थोरै संख्यामा छापिएको सानो आकारको भए पनि पुस्तकमा केही गजब एवं रोचक खुराकहरु छन् ।

खासगरी लाङटाङ राष्ट्रिय निकुञ्जबाट सरकारी इलम सुरु गरेका यात्रीले रसुवामै २५ वर्ष बिताएकाले त्यहाँका धेरै महत्वपूर्ण जानकारी किताबमा दिएका छन् । उनले वन, वन्यजन्तुका कुरासँगै विज्ञ र अध्ययनका कुरा तथा अनुभुति सबै मिलाएर किताब तयार गरेका छन् । नेपालको संरक्षण क्षेत्रमा काम गर्ने सामान्य कर्मचारीले लेखेको असामान्य पुस्तक हो यो । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वनस्पति विभागकी महानिर्देशक राधा वाग्लेले त पुस्तक वन संरक्षणमा सक्रिय कर्मचारीबाट आएको पहिलो पुस्तक हुनसक्ने बताएकी छन् ।

पुस्तकको भूमिकामा डाक्टर वाग्लेले लेखेकी छन्, ‘हालसम्मको मेरो संरक्षण क्षेत्रको कार्यानुभवमा संरक्षणमा लागेका कर्मचारीको यस प्रकारको संस्मरण पहिलो नै जस्तो लाग्छ । यस सन्दर्भमा पुस्तकको छुट्टै महत्व छ ।’

एरिक भ्यालीको परमिट चेक गर्न जाँदा भएको दोस्ती

२०५४ वैशाखमा लाङटाङबाट सरुवा भएर डोल्पा उत्रे यात्री । त्यही समयमा उनले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुकाम पलममा एक हप्ता बिताएर शे-फोक्सुण्डो तालतर्फ यात्रा थाले । त्यसै क्रममा उनको भेट प्रसिद्ध फ्रान्सेली फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीसँग भयो । एरिक भ्याली ती नै अनुहार हुन्, जसले निर्देशन गरेर सन् १९९९ मा बजारमा ल्याएको ‘क्याराभान’ चलचित्र ओस्करमा उत्कृष्ट विदेशी चलचित्रको श्रेणीमा मनोनयनमा परेको थियो । ओस्करको ७२औं संस्करणको दौरानमा क्याराभान सूचीकृत भएको थियो । उनै कीर्तिमानी निर्देशक तथा फोटोग्राफरको पर्मिट चेक गर्ने नाममा यात्रीको भेट भएको थियो । विनाअनुमति क्याराभानको फिल्ड स्टडी गर्न एरिक डोल्पा पुगेको यात्रीले लेखेका छन् । तर, एरिकसँग उनले सात दिन सँगै बिताए ।

पुस्तकको भूमिकामा डाक्टर वाग्लेले लेखेकी छन्, ‘हालसम्मको मेरो संरक्षण क्षेत्रको कार्यानुभवमा संरक्षणमा लागेका कर्मचारीको यस प्रकारको संस्मरण पहिलो नै जस्तो लाग्छ । यस सन्दर्भमा पुस्तकको छुट्टै महत्व छ ।’

एरिकका बारेमा यात्रीले लेखेका छन्, ‘भ्याली हठी स्वभावका थिए । जसले आफ्नो काम पूरा गरेरै छाडे ।’ एकै पालमा एरिक, उनका साथी डेब्रा र आफू सुतेको बताउँदै यात्रीले एरिकसँगै टुल्कु रिम्पोछे गुम्बामा गएर लामासँग साक्षात्कार गरेको लेखेका छन् । विनाअनुमति डोल्पा प्रवेश गरे पनि एरिकले डोल्पा र नेपाललाई धेरै गुण लगाएको यात्रीको तर्क छ । उनले लेखेका छन्, ‘एरिकमा स्वार्थ थियो भने केवल मौलिक भाषा, संस्कृति र साहित्यको थियो । अरु त्यस्तो केही फाइदा लिने मनसायले भने उनी पक्कै नेपाल आएका थिएनन् । पानी जस्तै सफा मन लिएका एरिक धन्य धन्य छन् ।’

नौ हजार इनाम दिन मन्त्री हेलिकप्टरमा, सोर्स लगाएको नाममा दुर्गम सरुवा

धर्तीचन्द्र यात्रीको नियात्रामा नेपाली सत्ता र कर्मचारीतन्त्रका रोचक कुरा आएका छन् । नौ हजारको इनाम दिने कार्यक्रममा मन्त्रीले हेलिकप्टर सफर गरेकोदेखि कर्मचारीहरुको सोर्सफोर्स र सरुवाको चक्रव्यूहसम्मका कथा उनले लेखेका छन् । २०४९ साउन १६ गते नुवाकोछको घोप्टेभीरमा थाई एयरको जहाज दुर्घटना भएको थियो । १३ नेपाली र १४ विदेशी सवार जहाज दुर्घटनाको सूचना दिने तीन स्थानीयलाई दिइने जनही तीन हजारको रकम वितरण गर्न मन्त्री हेलिकप्टरमा पुगेको कुरा यात्रीले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सरकारका तर्फबाट तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामहरि जोशी आएर खबर गर्ने पहिला व्यक्तिहरु तत्कालीन घ्याङ्फेदी गाविसका तीन गोठालालाई जनही रु तीन हजार वितरण गर्नुभयो । उहाँ सरकारी हेलिमा आउनुभएको थियो ।’

यात्रीको बत्तीसपुतलीमा छिमेकी थिए पूर्वकानून तथा न्याय राज्यमन्त्री डम्बरबहादुर बस्नेत । उनै छिमेकी पूर्वमन्त्री बस्नेतको सोर्समा तत्कालीन वन तथा वातावरणमन्त्री मोतीप्रसाद पहाडीले यात्रीलाई मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लागू भएको ‘दि माउन्टेन इन्स्टिच्युट’ परियोजनामा सरुवा गराए । मन्त्रीले मिलाइदिएको सरुवाको पत्र लिएर यात्री तत्कालीन महानिर्देशक डाक्टर तीर्थमान मास्केकोमा पुगे । मास्केले ‘तिम्रो हाकिम म कि मन्त्री’ भन्दै उनलाई लाङटाङकै सेवासुविधामा डोल्पा पठाए । पछि नयाँ महानिर्देशकमा डाक्टर उदयराज शर्मा आएपछि मात्रै यात्रीले पुरानै ठाउँमा आउन पाए ।

गेमस्काउटका दुःख- मृत हात्ती रुङ्दै जंगलमा बास, हाकिमदेखि स्थानीयसम्मको आतंक

हाल शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जका सिनियर गेमस्काउट धर्तीचन्द्र यात्रीले आफूले सिनियर गेमस्काउटको रुपमा काम गर्दाका दुःखहरु नियात्रामा उतारेका छन् । २०६१ सालमा माओवादीको दाङ बन्द सामना गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा रमाना भएर पुगेका थिए यात्री । बर्दियाको लमकोइली फाँटमा जङ्गली हात्ती बिरामी भएको सूचना साथी रमेशकुमार थापाले दिएपछि फिल्डमा पुगे यात्री । हात्तीको खुट्टा कुहिएको पाइयो । उपचार प्रयास गर्दागर्दै उक्त ‘ठुटे गज’ नाम दिइएको जंगली हात्ती म¥यो । त्यसको सम्पूर्ण काम सक्न २३ घण्टा समय लागेको र जंगलमै बिताएको यात्रीले लेखेका छन् ।

मन्त्रीले मिलाइदिएको सरुवाको पत्र लिएर यात्री तत्कालीन महानिर्देशक डाक्टर तीर्थमान मास्केकोमा पुगे । मास्केले ‘तिम्रो हाकिम म कि मन्त्री’ भन्दै उनलाई लाङटाङकै सेवासुविधामा डोल्पा पठाए ।

हाकिमले कनिष्ठ कर्मचारीलाई कसरी तनाव दिन्छन् भन्ने प्रसंग पनि यात्रीले आफ्नो अनुभवबाट सुनाएका छन् । उनलाई २०७३ फागुन ८ गते राति ८ बजे सहायक संरक्षण अधिकृत सूर्य खड्काले ज्यादती गर्छन् । उनलाई गालीगलौज गर्छन् । खाएको खानामा जुठो पानी हाल्छन् । त्यो तनाव यात्रीले फागुन १२ मा तत्कालीन मुख्यसचिव डाक्टर सोमलाल सुवेदीसँग पोख्छन् । सुवेदीले एक्सन लिन्छन् । रसुवाका प्रजिअलाई २४ घण्टाभित्र कार्यालयमा बोलाएर स्पष्टीकरण सोध्न भन्छन् । स्पष्टीकरण सोधिन्छ । पछि खड्काले लिखित भाषामा गल्ती भएको भन्दै माफी माग्छन् ।

स्थानीयले राष्ट्रिय निकुञ्जको परिभाषित काम गर्दा तनाव दिएको कुरा पनि यात्रीले लेखेका छन् । २०५१ ताका संरक्षित ल्यारेक्स सल्लो काटेपछि ग्याल्बु र तेन्जेनलाई यात्री र उनका साथी पासाङ घले मिलेर समात्छन् । तर, त्यही नाममा पछि स्थानीय ठूलाठालु खासगरी तेन्जेनको जमातले हैरान पार्छ । मनोबल गिराउँछ । यी दुई व्यक्ति समात्न नेपाली सेनाले असहयोग गरेको यात्रीले लेखेका छन् । सेनाका क्याप्टेन महेन्द्रजंग लामिछानेले असहयोग गरेको उनले किटेरै लेखेका छन् । सेनासँग कामको सिलसिलामा केही समय अगाडि भएको भनाभनको आधारमा असहयोग भएको उनले लेखेका छन् ।

ठूल्ठूला भेटघाट र ठूल्ठूला भय

यात्रीले ३३ वर्षमा एरिक भ्यालीबाहेक पनि ठूल्ठूला व्यक्तित्वहरुसँग संगत गरेका छन् । जस्तै उनले १२ वर्ष अगाडि जामाचोमा चिनियाँ वन तथा वातावरणमन्त्री भेट्छन् । स्याफ्रुबेंसीमा अमेरिकी राजदूत क्यारल लनसँग भेट्छन् । लाङटाङमा हिउँ चितुवाको फुटप्रिन्ट पत्ता लगाउने अमेरिकी प्राणाीशास्त्री डाक्टर र्‍याण्डल काइज, २०४९ पुसमा हिउँ चितुवा प्रत्यक्ष देख्दाका नर्वेजियन पर्यटक साक्षीहरु साहारा र सान्द्रा भेट्छन् । यीबाहेक नेपालका एकएक विज्ञहरुसँग उनले भेट्ने मौका पाएका छन् । काम गर्ने मौका पाएका छन् ।

२०५१ ताका संरक्षित ल्यारेक्स सल्लो काटेपछि ग्याल्बु र तेन्जेनलाई यात्री र उनका साथी पासाङ घले मिलेर समात्छन् । तर, त्यही नाममा पछि स्थानीय ठूलाठालु खासगरी तेन्जेनको जमातले हैरान पार्छ । मनोबल गिराउँछ । यी दुई व्यक्ति समात्न नेपाली सेनाले असहयोग गरेको यात्रीले लेखेका छन् ।

कामको सिलसिलामा ठूल्ठूला भय पनि यात्रीले सामना गरेका छन् । २०४९ को घोप्टेभीर दुर्घटनास्थल पुग्ने अनुहारमा एक यात्री थिए । २०५८ मंसिरमा रसुवाको गौंथली भीर र स्याउबारीका बीचमा दुई मिनेटको फरकमा बम विस्फोट भयो । सेनाको गाडीलाई ताकेर राखेको धराप पार गरेर बचेकाे थियाे भाडाको मिनी ट्रकमा सवार यात्रीको टोली ।

२०७२ को भूकम्पतामा यार्सागुम्बा लाइसेन्स वितरण गर्न जाँदा सात दिन अलपत्र परेर सेनाको हेलिकप्टरबाट उद्दार हुनेहरुमा पनि यात्री नै थिए । नेपाली सेनाका चालक अधिकृत मेजर पाइलट सुवास खड्काले उनीसहितको टोलीको उद्धार गरेका थिए । भूकम्पको समयमा अनकन्टार क्षेत्रमा सात दिन पीडित हुनु परेको बारेमा लेखक यात्रीले केही गम्भीर प्रश्न गरेका छन्ः

  • बबुराहरुलाई विनातयारी किन पठाइयो विकट ठाउँमा ?
  • किन एउटा सञ्चारको व्यवस्था गर्न सकेनन् निकुञ्ज व्यवस्थापकले ?
  • मेनेजरको दायित्व, कर्तव्य त थाहा नै छ नि ! किन कानमा तेल हालेर बसे संरक्षकले ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *