सुनिललाई शीतल निवासमा ‘सेट’ गर्न पौडेल र देउवामाथि भारतीय दबाब परेको दाबी
काठमाडौं । नेपाल सरकारको मन्त्री र कांग्रेसको सहमहामन्त्री भइसकेको तथा बहालवाला केन्द्रीय सदस्यलाई राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त गरिएकोमा पार्टीभित्रैबाट प्रश्न उठेको छ ।
गठबन्धन गर्दा पनि धनकुटाबाट एमाले नेता राजेन्द्र राईसँग चुनाव हारेपछि सुनिल थापाले कांग्रेस कोषाध्यक्षमा आँखा लगाएका थिए । तर, यसबीचमा एकाएक उनले रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सल्लाहकार बन्न दौडधूप चलाए ।
थापालाई सल्लाहकार बनाउन पार्टी सभापति शेरबहादुर देउवाले दबाब दिएको भनेर शीतल निवासबाट सुरूमा मिडियामा सूचना लिक गरिए पनि उनको नियुक्तिमा देउवा आफैं सन्तुष्ट नरहेको खुलेको छ ।
देउवाले थापाको चाहना सुनेपछि ‘तपाईँ पार्टीको सहमहामन्त्री भइसकेको, मन्त्री पनि भइसकेको नेता । पार्टीमै अरु पनि जिम्मेवारी दिन सकिन्छ, सेरेमोनियल राष्ट्रपतिको सल्लाहकार हुने र ?’ भन्ने प्रश्न गरेर पठाएका थिए ।
थापालाई राष्ट्रपति पौडेलले पनि सोही आशय व्यक्त गरेपछि उनले देउवा र पौडेलमाथि बाह्य दबाब सिर्जना गरेको कांग्रेसका शीर्ष नेताहरूले थाहा पाए । स्रोतका अनुसार आफ्नो पक्षमा वातावरण बनाउन थापाले भारतीय राजदूत नविन श्रीवास्तवमार्फत देउवा र पौडेललाई कन्भिन्स गराएका हुन् ।
नियुक्तिअघि शीतल निवासमा भारतीय राजदूतसहितको भेटघाटसमेत भएको राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वीकार गरेका छन् । त्यो भेट के को लागि थियो भन्ने जानकारी नभए पनि थापासहित शीर्ष छलफल भएको उनीहरूले पुष्टि गरेका छन् ।
संयुक्त राष्ट्रसंघमा जागिर खाएर पेन्सन समेत लिएका र प्रधानमन्त्री सूर्यबहादुर थापाका एकमात्र छोरा सुनिल थापा जागिरका लागि सल्लाहकार बन्नुपर्ने अवस्था होइन । पार्टीमा उनी देउवानिकट भएकाले केन्द्रीय कोषाध्यक्ष पनि पाउन सक्थे ।
तर, कुनै काम नहुने राष्ट्रपतिको राजनीतिक सल्लाहकार बन्नुको पछाडि बाह्य शक्तिकेन्द्रले आफ्नो प्रतिनिधिका रूपमा उनलाई संवेदनशील ठाउँमा सेटल गरेको टिप्पणीसमेत कांग्रेस नेताहरूले गरेका छन् ।
यसअघिका राष्ट्रपति रामवरण यादव र विद्या भण्डारीले पनि केही विज्ञ सल्लाहकार राखेका थिए तर पार्टीको कार्यकारी तहमा रहेका नेताहरुलाई उनीहरूले टीममा राखेका थिएनन् । यादवले हरि शर्मालाई राजनीतिक मामिला सल्लाहकार राखेका थिए । उनी त्यस मामिलाका विज्ञ हुन् तर पार्टीका नेता होइनन् ।
त्यस्तै विद्या भण्डारीको पालामा राजनीतिक मामिलामा सल्लाह दिनेगरी सुशील प्याकुरेलले नियुक्ति पाएका थिए । तर, हत्या अभियोगमा मुद्दा खेपिरहेका अग्नि सापकोटालाई सभामुख बनाउन नहुने भनेर विरोध गरेपछि र आफैं रिट निवेदकसमेत भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
राष्ट्रपति पौडेलको टीममा सुनिल थापाको प्रवेशलाई कांग्रेस नेतादेखि कर्मचारीतन्त्रले समेत अस्वाभाविक रूपमा लिएका छन् ।
दिल्लीले कसरी नेपालमा micro management गर्छ भन्ने कुराको पछिल्लो र बलियो प्रमाण हो यो । यो सही हो कि सुनिल थापा दिल्लीको एजेण्डा पूरा गर्न दिल्लीद्वारा नियुक्त सल्लाहाकार हुन् । उनको अगाडि रामचन्द्र त निरीह राष्ट्रपति हुनेछन् । देउवा पनि भारतलाई खुशी पारेर प्रधानमनत्री खान पल्केका छन् । पद पाए देशै बेच्ने भनेको काँग्रेसले हो । भारतीय राजदुत नेपालमा यस्तो गर्दैछन् र पनि परराष्ट्र मनत्रालय सम्हालेका प्रचण्ड के हेर्दैछन् ? हुनत उनलाई प्रधानमन्त्री नै उसैले बनाईदिएको । राजा हटाउँदा राष्ट्रवादी शम्ति कमजोर हुन्छ भनेर प्रचण्डलाई जनयुद्व नामको व्यक्ति हत्या गराउन लगायो । वास्तविक माओवादी अहिले विजोगको अवस्थामा छन् ।