भन्सारका हाकिमसँग अर्थमन्त्री महतले मागे राजस्व घट्नुको कारण (भिडिओ)
उद्योगी, व्यवसायीलाई दु:ख नदिन निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरूसँग भन्सार नाकाबाट राजश्व कम हुँदै जानुको कारण मागरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात-निर्यातको प्रगति प्रतिवेदन बुझाउन निर्देशनसमेत दिएका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारणसमेत खोजेका छन् ।
कुन भन्सार नााकाबाट कस्ता प्रकृतिका वस्तु आयात-निर्यात भइरहेको छ त्यसको तथ्यांक पनि अर्थमन्त्रीले मागेका छन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका भन्सारमा राजश्व चुहावट भएको खबर आइरहेको कुरालाई भन्सार विभागको नेतृत्वले गम्भिरताकासाथ लिनुपर्नेमा उनको जोड थियो ।
अर्थमन्त्रीले भने, ‘विभिन्न नाकामा के कारणले भन्सार घटेको छ । त्यो भन्सार नाकामा आयातको प्रगति के छ । त्यसको मूल्याङ्कन मलाई चाहिन्छ । कुन प्रकृतिका वस्तुहरू आउने गरेका थिए । जुन भन्सार नाकामा ठूलो मात्रामा भन्सार घटेको छ । कुन वस्तुको आयात कम भएर गयो की अर्को नाकाबाट भएर गयो । त्यसको ब्रेकडाउन मलाई चाहियो ।’
भन्सारमा उद्योगी व्यवसायीलाई अनावश्यक दुःख नदिन महतले भन्सार कर्मचारीलाई आग्रह गरेका छन् । भन्सार नाकाबाट नै विभिन्न सामान चेकजाँच नगरी भित्रिएकोबारे उनले भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशन दिएका छन् ।