रास्वपाको अनुशासन समितिले कसरी गर्दैछ काम ? फरेन्सिक टेस्टबाट हुनसक्छ निर्क्याेल – Nepal Press

रास्वपाको अनुशासन समितिले कसरी गर्दैछ काम ? फरेन्सिक टेस्टबाट हुनसक्छ निर्क्याेल

दुर्गा प्रसाईं भन्छन्- अडियो मैले नै बाहिर ल्याएको हुँ, केपी हजुरबालाई पनि पठाएको थिएँ

काठमाडौं । समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले काम सुरु गरेको छ । पार्टीले दिएको समयावधिभित्र छानबिन सम्पन्न गर्न समितिलाई चुनौतीपूर्ण देखिन्छ ।

रास्वपा सभापति रवि लामिछानेले हिजो एक चुनावीसभामा बोल्दै अबको ७० घन्टाभित्र छानबिन गरेर दोषीलाई कारबाही गर्न नसके आफूलाई नै गढीमाईमा बलि दिन चुनौती दिएका थिए । सभापतिको सो भाषणका कारण पनि अनुशासन समिति हतारमा छानबिन गर्नुपर्ने दबाबमा छ ।

रास्वपाको अनुशासन समितिमा संयोजकसहित ४ सदस्य छन् । अहिले संयोजक भरत देवकोटामात्रै काठमाडौंमा छन् । अरु तीन जना सदस्य काठमाडौं आउने क्रममा रहेको संयोजक देवकोटाले जानकारी दिए ।

‘साथीहरु सबै बाहिर हुनुभएकाले अलिकति अलमल भयो, अब हामी द्रुत गतिमा काम अगाडि बढाउँछौं’, उनले भने ।

पार्टीले दिएको ७२ घन्टाभित्र छानबिन सकेर प्रतिवेदन दिन कठिन रहेको देवकोटाको स्वीकारोक्ति छ । यद्यपि, आफूहरुले सबै प्रयास लगाउने उनले बताए ।

‘हामी तोकिएको समयभित्रै निष्कर्षमा पुग्ने प्रयासमा छौं । यदि त्यो सम्भव भएन भने केन्द्रीय समितिसँग थप समय माग्नुपर्ने हुनसक्छ’, उनले भने ।

अनुशासन समितिले हिजो तीन बजेतिर आरोपी श्रेष्ठसँग २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणको जवाफ नआइसकेको देवकोटाले बताए । स्पष्टीकरणको जवाफ चित्त नबुझे बोलाएर थप बयान लिन सकिने उनको भनाइ छ ।

श्रेष्ठले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्दै आएका छन् । विज्ञप्ति नै जारी गरेर उनले आफ्नो राजनीतिक करिअर समाप्त पार्न षडयन्त्रपूर्वक आवाज सम्पादन गरी अडियो बनाइएको दाबी गरेका छन् । उनले आफ्नो आवाज क्यारिकेचर गरेर अडियो बनाइएकोसमेत बताएका छन् । यद्यपि, रास्वपाका नेताहरु भने अडियोको आवाज श्रेष्ठसँग मिल्दोजुल्दो रहेको बताउँछन् ।

एक केन्द्रीय सदस्यले भने, ‘उहाँले मेरो होइन भने पनि हामीले सुन्दा उहाँकै जस्तो लाग्छ ।’

अडियो श्रेष्ठकै हो वा होइन भनेर एकिन गर्न फरेन्सिक ल्याबमा परीक्षण गर्न सकिन्छ । नेपालमा अडियो परीक्षण गर्ने प्रविधि उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा मात्र हुने गर्छ । मुद्दा परेको हकमा प्रहरीले आफैं भ्वाइस टेस्ट गर्छ । अन्यथा कोही आरोपित वा पीडितले कुनै अडियोमा भएको आवाज आफ्नो नभएको पुष्टि गर्न चाहेमा निवेदन दिन सक्छन् । यो प्रकरणमा आरोपित श्रेष्ठ स्वयम् वा रास्वपाले पनि प्रहरीलाई निवेदन दिएर अडियोको टेस्ट गराउन सक्छन् ।

प्रहरी स्रोतका अनुसार फरेन्सिक ल्याबमा एक-डेढ घन्टामा नै आवाजको परीक्षण हुन्छ । यसले दूधको दूध र पानीको पानी छुट्याउन सक्ने स्रोतको दाबी छ ।

आरोपित श्रेष्ठले अडियोको आवाज आफ्नो नभएको दाबी गरे पनि फरेन्सिक टेस्टका लागि कुनै पहल गरेका छैनन् । यस विषयमा वकिलहरुसँग सरसल्लाह गरिरहेको उनको भनाइ छ ।

व्यवसायी दुर्गा प्रसाईंले भने आफू र श्रेष्ठबीच कुराकानी भएको पुष्टि गरेका छन् । ह्वाट्सएपमा भएको कुराकानी आफूले रेकर्ड गरेर राखेको उनको भनाइ छ । विभिन्न अन्तर्वार्तामा प्रसाईंले आफूहरुबीच गत माघ १ वा २ गतेतिर भएको कुराकानीको रेकर्ड आफैंले बाहिर ल्याएकोसमेत बताएका छन् । उक्त अडियो रेकर्ड आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत पठाइदिएको उनले दाबी गरेका छन् ।

‘मैले हजुरबा (ओली) लाई अडियो पठाएपछि उहाँले ‘यिनीहरु पनि पैसै कमाउन आएका हुन् नाति’ भन्नुभयो’, प्रसाईंको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर