‘झम्के गुलेली’ भाकाको आन्तरिक कथा र अहिलेको विवादबारे चिरफार – Nepal Press
ब्लग

‘झम्के गुलेली’ भाकाको आन्तरिक कथा र अहिलेको विवादबारे चिरफार

एक पटक वरिष्ठ कलाकार हरिवंश आचार्यले आफ्नो पुस्तक ‘चिना हराएको मान्छे’ अरु नै लेखकबाट लेखाइएको आरोप लागेपछि एक टेलिभिजन अन्तर्वार्तामा निकै रिसाएर भनेका थिए, ‘तपाईंले आफूले जन्माएको सन्तान तपाईंको होइन अरु कसैको हो भन्यो भने कस्तो लाग्छ ? मेरो पुस्तक पनि त्यस्तै हो ।’ मेरो संकलन र स्वरमा रेडियो नेपालमा रेकर्ड भएको लोकभाका ‘झम्के गुलेली’माथि पनि समय समयमा यस्तै आरोप लागिरहन्छ । हालै एक युट्युब च्यानलले ‘झम्के गुलेली’ लोकभाकाको विषयमा ममाथि अनर्गल आरोप लगाउँदा म आफू पनि बहुत मर्माहत भएको छु ।

लोकभाकाको रचना हुन्न, सङ्कलनमात्र हुन्छ । मैले सङ्कलन गरेको लोकभाका ‘झम्के गुलेली’माथि बेला बेलामा लगाइने अनर्गल आरोपको खण्डन गर्न आज म बाध्य भएको छु । यो लोकभाकाको इतिहास र मेरो लोक गायनको सुरुवात संखुवासभा जिल्लाको धुपु भन्ने गाउँबाट सुरु भएको हो ।

मेरो जन्म संखुवासभा जिल्लाको साविक धुपु गाविस वार्ड ३ मा भएको हो । गाउँमै विद्यालयस्तरीय शिक्षा हासिल गरें । पछि उच्च शिक्षाको लागि म काठमाडौं हानिएँ । पढाइ सँगसँगै संगीतप्रति अभिरुचि भएकाले डोरेमी संगीत पाठशाला जमलमा २०५८ सालमा भर्ना भएँ । त्यसको एक वर्षपछि नै आफ्नै सङ्कलनमा पहिलो लोकभाका ‘फुलै र फुल्यो ओइलेर गइगयो’ म्युजिक नेपालमार्फत रेकर्ड गराएँ । त्यसपछि २०६१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरें । मेरो संगीत यात्राको कोशेढुंगा भने २०६२ सालमा रेडियो नेपालमा आयोजित राष्ट्रव्यापी लोकगीत प्रतियोगिता भयो । जहाँ मैले उत्कृष्ट सङ्कलकको अवार्ड जितें । त्यसपछि मलाई रेडियो नेपालमा वर्षमा कम्तिमा दुई वटा गीत रेकर्ड गर्ने अवसर मिल्यो । अनि म लोकभाका सङ्कलनको लागि गाउँ, बस्ती, पाखा, पखेरा घुम्न निस्कें ।

गीत रेकर्ड गर्दैगर्दा वरिष्ठ संगीतकार आदरणीय बुलु मुकारुङ स्टुडियोमा टुप्लुक्क आइपुग्नुभयो । मेरो गीत सुनिसकेपछि मलाई धाप मार्दै ‘हौ केटा, यस्तो भाका त बीसौं वर्षपछि पो आयो त ! लु हौ, धेरै पो बज्ने भो । देश दुनियाँले सुन्ने भो है ! लु धेरै राम्रो छ । प्रगति गर्दै जानु है !’ भन्नुभएको कुरा अहिलेसम्म ताजै छ ।

लोकभाका सङ्कलनको क्रममा ‘झम्के गुलेली’ लाई २०६६ सालमा फेला पारेको हुँ । उक्त साल दशैंको अवसरमा म काठमाडौंबाट जन्मथलो संखुवासभा धुपु गएको थिएँ । सो अवसरमा मेरा मावला गएको बेला मेरा मामा गुरुप्रसाद सुवेदीले ‘झम्के गुलेली’को केही गेडा र रहनी खेस्रा गरेर दिनुभयो । जुन यस्तो थियोः

सबै र बाख्रा उकाली लागे अरुनी बाख्रा खोइ भन है झम्के गुलेली
अरु है आउँदा जेसुकै भन म आउँदा चाहिँ पोइ भन है झम्के गुलेली

यो भाका मलाई निकै राम्रो र नयाँ लाग्यो । यसको सर्जक झम्के अधिकारी भनिने उमापती अधिकारी थिए भन्ने कुरा पनि मामाले सुनाउनुभयो । उनी संखुवासभाको माङसिमा खर्क भन्ने ठाउँमा गाई-भैंसीपालन गरेर बस्ने, नौनीघ्यु बेच्ने, बख्खु लगाएर हिँड्ने उक्त क्षेत्रको निकै चर्चित मानिस रहेछन् । उनले ‘झम्के गुलेली’ भन्दै गीत गाउँदै हिँड्दा उनको नाम नै झम्के अधिकारी भएछ । मैले उक्त भाकाको अरु अंशहरु खोजी गर्न थालें । उक्त भाका संखुवासभा जिल्लाको धुपु, बाह्रबीसे, सुनाम्ला, आपुङ, गोरुजुरे आदि ठाउँतिर उबेला निकै चर्चित रहेछ ।

एक दिन म मेरी फुपू हेमकुमारी कट्टेलको घरमा पुगें । फुपूले पनि ‘झम्के गुलेली’ भाका झम्के अधिकारीले गाउने गरेको भन्ने सुनेको भन्नुभयो । तर, गीतका अंशहरु चाहिँ ख्याल नभएको भन्नुभयो । फुपू पनि लोकभाकाहरुमा रुचि राख्ने र उहिले बैंसमा खुब गीत गाउने भएकाले मलाई गीतका विभिन्न भाका र अनुप्रासहरु सुनाउनुभयो । फुपूले गोठालो गर्दा, घाँस दाउरा गर्दा, लेभ्राङ भन्ने ठाउँमा रातोमाटो बोक्न जाँदा गाएका भाकाहरु निकै आर्गनिक र मार्मिक थिए । मैले सबै भाकाहरुलाई डायरीमा टिपोट गरेर फर्किएँ ।

गीत रेकर्ड गर्नुभन्दा अगाडि रेडियो नेपालले ‘म आउँदा चाहिँ पोइ भन है झम्के गुलेली’ भन्ने लाइनको ‘पोइ’ शब्दमा सेन्सर गरेको थियो । यो शब्दको ठाउँमा अरु कुन शब्द राख्ने भन्नेबारे निकै सकस भोग्नुपर्‍यो । सुर्खेतका एक दिग्गज, विद्वान कलाकार, लोकगीत सङ्कलक एवं वरिष्ठ मादल वादक प्रेमदेव गिरीज्युले ‘ओइ’ भन्ने शब्दलाई अनुप्रासमा सिंगारी दिनुभयो । ‘अरुनी बाख्रो’को ठाउँमा ‘घोर्ली बाख्रो’ बनाइयो ।

झम्के अधिकारीको शीर्ष भाका ‘झम्के गुलेली’मा मेरी फुपूले टिपाउनुभएको केही भाकाहरुलाई मिलाएर १० लाइनको गीत बनाएर रेडियो नेपाल छिरें । त्यो बेला रेडियो नेपालमा गीत रेकर्ड गर्न पालो कुर्नुपर्थ्यो । मेरो पालो २०६७ सालको माघ महिनामा आयो । गीतलाई मिठास दिन निकै रियाज र स्वर साधना गरेको थिएँ । गीत रेकर्डबाट मैले ४०० रुपैयाँ पारिश्रमिक पनि पाएँ । मेरो लागि रकम ठूलो कुरा थिएन । आफ्नो गाउँठाउँको एउटा लोकभाका रेडियो नेपालमा रेकर्ड गर्न पाएकोमा ठूलो खुशी लागेको थियो ।

गीत रेकर्ड गर्दैगर्दा वरिष्ठ संगीतकार आदरणीय बुलु मुकारुङ स्टुडियोमा टुप्लुक्क आइपुग्नुभयो । मेरो गीत सुनिसकेपछि मलाई धाप मार्दै ‘हौ केटा, यस्तो भाका त बीसौं वर्षपछि पो आयो त ! लु हौ, धेरै पो बज्ने भो । देश दुनियाँले सुन्ने भो है ! लु धेरै राम्रो छ । प्रगति गर्दै जानु है !’ भन्नुभएको कुरा अहिलेसम्म ताजै छ । साँच्चै उहाँले भने जस्तै ‘झम्के गुलेली’ लोकगीत पारखीहरुमाझ निकै लोकप्रिय भयो र अहिले पनि लोकप्रिय नै छ ।

रेकर्ड भएको ९-१० महिनापछि मात्रै गीत एफएम स्टेसनबाट पनि बज्न सुरु भयो । गीत रेकर्ड गर्नुभन्दा अगाडि रेडियो नेपालले ‘म आउँदा चाहिँ पोइ भन है झम्के गुलेली’ भन्ने लाइनको ‘पोइ’ शब्दमा सेन्सर गरेको थियो । यो शब्दको ठाउँमा अरु कुन शब्द राख्ने भन्नेबारे निकै सकस भोग्नुपर्‍यो । सुर्खेतका एक दिग्गज, विद्वान कलाकार, लोकगीत सङ्कलक एवं वरिष्ठ मादल वादक प्रेमदेव गिरीज्युले ‘ओइ’ भन्ने शब्दलाई अनुप्रासमा सिंगारी दिनुभयो । ‘अरुनी बाख्रो’को ठाउँमा ‘घोर्ली बाख्रो’ बनाइयो । रेडियो नेपालले सेन्सर लगाएको कुरा बीबीसी नेपाली सेवाले पनि थाहा पायो र मलाई पत्रकार सेवा भट्टराईज्यूले बीबीसीमा बोल्ने अवसर दिनुभयो । त्यसैगरी कान्तिपुर दैनिकका पत्रकार, गायक आदरणीय पारस नेपालज्यूले कभर स्टोरी बनाएर गीतको नालीबेली सबै लेख्नुभयो । त्यो अवसर आदरणीय पत्रकार एवं साहित्यकार देवेन्द्रराज भट्टराईज्यूबाट प्राप्त गरेको थिएँ ।

‘झम्के गुलेली’ सञ्चारमाध्यमा बज्न थालेको केही समयमा नै निकै लोकप्रिय भयो । मलाई विभिन्न महोत्सवमा यो गीत गाउन आमन्त्रण हुन थाल्यो । पहिलो चोटि मलाई तेह्रथुम महोत्सवमा आमन्त्रण गरिएको थियो । तर, यो गीतको ट्र्याक तयार थिएन । हतार हतार ट्र्याक बनाउन लगाएर २०६८ सालमा तेह्रथुम गएर पहिलो चोटि स्टेजमा यो गीत गाएको थिएँ । त्यसपछि यही गीत गाउन विभिन्न महोत्सव, सांगीतिक कार्यक्रम र रियालिटी सोहरुमा धेरै चोटि उपस्थित भइसकेको छु ।

म विशुद्ध लोकभाका संरक्षणमा लागेको व्यक्ति हुँ । मैले पैसा कमाउने उद्देश्य राखेको भए उक्त लोकभाकालाई निजी स्टुडियोमा रेकर्ड गराएर बेच्थें होला । तर, लोकभाका भनेको लोकको हो भन्ने उद्देश्य राखेर रेडियो नेपालमा रेकर्ड गराएँ र राष्ट्रकै स्वामित्वमा छाडिदिएँ ।

गीत रेकर्ड भएको आज १३ वर्ष भइसकेको छ । यस बीचमा मैले यसै गीतको लागि केही राष्ट्रिय अवार्डहरु पनि पाएँ । यही गीतका लागि ‘क्लोज अप हिट्स एफएम अवार्ड २०६८’ र ‘पूजा लोकदोहोरी अवार्ड २०६८’ पाएको थिएँ । गीतको लोकप्रियता अहिलेसम्म पनि घटेको छैन । तर, हाल आएर गीतको उत्पत्ति र सङ्कलनको बारेमा धावा बोल्न थालिएको छ । ममाथि गीतको भाका चोरेको आरोप लगाउँदै नक्कली रचनाकार खडा गरी युट्युब च्यानलहरुले गलत सूचना सम्प्रेषण गरिरहेका छन् । तिनै युट्युब च्यानलको अनर्गल सामग्री हेरेर आउने गालीगलौजको बाढी हेर्दा मर्माहत हुन्छु । मबाट ठूलै अपराध भएको जस्तो गरेर ममाथि प्रहार हुन्छ ।

म विशुद्ध लोकभाका संरक्षणमा लागेको व्यक्ति हुँ । मैले पैसा कमाउने उद्देश्य राखेको भए उक्त लोकभाकालाई निजी स्टुडियोमा रेकर्ड गराएर बेच्थें होला । तर, लोकभाका भनेको लोकको हो भन्ने उद्देश्य राखेर रेडियो नेपालमा रेकर्ड गराएँ र राष्ट्रकै स्वामित्वमा छाडिदिएँ । मेरो निःस्वार्थ भावनामाथि कसैले कुदृष्टि राखेर अनर्गल प्रचार गरिदिदाँ ‘झम्के गुलेली’माथि नै अन्याय भएको छ ।

म यो पनि भन्न चाहन्छु कि लोकगीत एउटाको बारीमा मात्र फल्ने फल हैन । यो त एक वरपीपल जस्तै वृक्ष हो । जसको जरा धेरै तलसम्म धसिएर जान्छ । चौतर्फी यसका जराहरु फैलिन पुग्छन् । जुन जरा अरुको सिमानामा पुग्दा गौरव गर्नुपर्छ, रिसले काट्ने होइन । पुराना सर्जकका अनुभवभित्र यी नै रहनी, बथनी भाव, रङ्गहरु लोकगीतमा भेटिन्छन् ‌। भाइरलको नाममा बनेका सृजनाहरुको मूल जरो गमलामा मात्र सीमित हुन्छ । सबैलाई सर्वोपरि हित हुने छायाँ र शितलता नदिनसक्छ । निस्वार्थ मन, शक्तिशाली सोचाइलाई देशको संस्कृतिमाथिको योगदानमा लगानी गर्नसके अझै पनि लोक जीवनका गोरेटोहरुबाट लोकलयको सुवास प्राप्त गर्न सकिन्छ ।

जय लोकगीत, जय लोक संस्कृति !

सुन्दरबजार, कीर्तिपुर


प्रतिक्रिया

One thought on “‘झम्के गुलेली’ भाकाको आन्तरिक कथा र अहिलेको विवादबारे चिरफार

  1. माइलाकाे गीतले लाेक भाकालाई माथि उचालेकाे छ । याे याेगदानकाे कदर गराैं । अझ बढी शुभकामना छ है माइला भाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *