नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटक काठमाडौंमा, विमानस्थलमा पञ्चेबाजाले स्वागत (भिडिओ)
काठमाडौं। चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्वसन्धामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् ।
चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे । हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् ।
उनीहरुको करिव ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् । १८१ चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए ।
मन्त्री किरातीले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिवन्ध खुला हुनु नेपाल र चीनसँगको सम्बन्ध बिस्तार भएको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको पनि उल्लेख गरे ।
उनले भने,‘कोरोना महामारीपछि समूहमा घुम्नसक्ने गन्तव्यको रुपमा खुला गरेको छ । समूहमा नेपाल घुम्न चीन सरकारले खुला गर्नु नेपाल र चीनबीचको सम्बन्ध बढ्छ । नेपालको पर्यटन क्षेत्रको विकासको लागि चिनको योगदानको प्रारम्भ भएको छ । सबैभन्दा बढी यो समूहमा आउने भन्ने छ । अहिले १८१ जना आउनुभएको छ । अब ढोका खुल्यो ।’
त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भुमिका रहेको बताए । उनले लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमति पछिको नेपाल भ्रमणमा पहिलो १८१ चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताए ।
पहिलो समूहमा १८१ जना आएको र अब लगातार रुपमा ७ सय चिनियाँ पर्यटक आउने छन् । २०१९ मा १ लाख ६५ हजार नेपालमा चिनियाँ पर्यटक आएका थिए । चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चीनबाट ५ लाख पर्यटक पठाउने भनेपनि कोरोनाका कारण सफल हुन सकेको थिएन । रेग्मीले यो वर्ष २०१९ को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने अपेक्षा गरिएको बताए । उनले पर्यटकहरुको नेपाल बसाई एक हप्ता हुने बताए ।
त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकहरुको टोली हिमालय एयरलाइन्सको विमान चार्टर उडानमार्फत लगातार आउने तालिका रहेको बताए । उनले अप्रिल १९ तारिकमा अर्को उडानमार्फत आउने तालिका रहेको भन्दै पहिलो टोली भएकाले चीनमा सकारात्मक सन्देश दिनको लागि भव्य रुपमा स्वागत गरिको बताए ।
उनले चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाईमा ३ दिन टे«किङ जाने र ४ दिन काठमाडौं पोखरा घुम्ने बताए । उनले नयाँ वर्ष लागेसँगै चिनियाँ पर्यटकको आगमन भएकाले पर्यटक व्यवसायीहरुमा नयाँ उर्जा थपिएको बताए ।कोरोना महामारी पश्चात चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचिमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपश्चात चार्टर उडानमार्फत नेपाल आउने पहिलो समूह रहेको छ । उनीहरुलाई नेपाल विग माउण्टेन ट्राभलमार्फत आएका हुन् ।