६३ वर्षअघि पहिलो संसदमै आएको थियो काठमाडौंबाट राजधानी सार्ने प्रस्ताव
कुन-कुन देशले राजधानी सारेका छन् ?
काठमाडौं । बिहिबार काठमाडौं महानरका मेयर बालेन शाहले राजधानी सार्ने कुरा गरे । पछिल्लो हप्तामा संघीय सचिवालय सिंहदरबार क्षेत्रको फोहोर नउठाएर काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा संघ सरकारलाई दबाब दिँदै आएका शाहले धम्किको भाषामा राजधानी सार्न भनेका हुन् ।
उनले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’
हप्ता दिन अगाडि ‘संसदलाई सिस्सडोलमा डम्प गर्नु पर्ने’ अनि मात्रै ‘साँच्चिकै देश सफा’ हुने जस्तो अराजक तर्क गरेका बालेनले पछिल्लो समयमा राजधानी सार्ने तर्क गरेका हुन् ।
राजधानी सार्ने तर्क बालेनले फोहोर उठाएर दीर्घकालीन व्यवस्थापनमा समस्या भएपछि उठाएका हुन् । २०१६ असार १६ मा पहिलोपटक बसेको नेपालको संसद बैठकमा चुनिएका केहि सांसदहरुले पनि राजधानी सार्ने तर्क गरेका थिए । उनीहरुले देशको राजधानी सार्ने तर्क सदनमै उठाएका थिए ।
२०७२ चैतमा सांग्रिला बुक्स्बाट प्रकाशित भएको जगत नेपालको पुस्तक ‘पहिलो संसद’मा राजधानी सार्ने कुराको प्रसंग लेखिएको छ । राजधानी सार्ने प्रस्ताव २०१७ साउन २८ मा पहिलोपटक राखिएको थियो ।
क्षेत्र नम्बर १०० पोखरा मध्यबाट चुनाव जितेका नेपाली कांग्रेसका सांसद श्रीकान्त अधिकारीले राजधानी सार्ने प्रस्ताव राखेका थिए । उनले राजधानी पोखरा सार्नुपर्ने प्रस्ताव गरेका थिए । साउन २८ देखि भदौ ४ सम्म सांसददेखि गृहमन्त्री सबैलाई यो बहसले तताएको थियो । प्रस्तावमा नेपाली कांग्रेसबाटै चुनाव जितेका सांसदहरु बलबहादुर राई, राधाकृष्ण थारु, मणिराम शास्त्री, दिलबहादुर बुढा थापा, गणेशकुमार शर्मा, पुष्करनाथ शर्मा, खड्गबहादुृर कार्की, नवराज जोशी, पृथ्वीराज कँडेल आदिको समर्थन थियो ।
अधिकारीको प्रस्ताव अनुसार २०१७ कात्तिक १ बाट माघ मसान्तसम्म सबै मन्त्रालय र सरकारी अड्डाहरु काठमाण्डौबाट सारेर पोखरा लैजाने प्रस्ताव गरिएको थियो ।
प्रस्तावमा सांसदहरुको सवालमा उत्तर दिँदै तत्कालीन गृहमन्त्री सुर्यप्रसाद उपाध्यायले सांसदहरुलाई काठमाडौं नै राजधानी किन हुनुपर्ने भन्ने तर्क गर्दै भनेका थिए, ‘इतिहास र महत्व हेरेर काठमाडौंलाई राजधानी बनाइएको हो । अहिले राजधानी सार्ने तर्क व्यवहारिक र सामयिक होइन ।’
सांसदहरुले गरेका अन्य प्रश्नहरुको उत्तरमा गृहमन्त्री उपाध्यायले लामो तर्क गरेका थिए । राजधानी सार्ने कुरा राष्ट्रियता बिरोधी हुने उनले तर्क गरेका थिए । अझ रोचक त उनले पृथ्वीनारायण शाहले छानेको राजधानी भएकोले झनै सार्न नहुने भनेका थिए ।
सांसदहरुलाई प्रस्ताव फिर्ता लिन आग्रह गर्दै उनले भनेका थिए, ‘नेपाली व्यक्तित्व, इतिहास तथा महत्वको ख्याल गरेर नै काठमाडौंलाई राजधानी बनाइएको हो । समयको आवश्यकताको वास्तै नगरी पुरानै सामन्तवादी र रुढिवादी मनोवृत्तिले प्रेरित भएर राजधानी सार्ने तर्क प्रस्तुत गरिनु व्यवहारिक र सामयिक होइन । आधुनिक नेपालका निर्माता श्री ५ पृथ्वीनारायण शाहले छानेको राजधानी अन्त सार्नुपर्छ भन्नु राष्ट्रियताको विपरीत हो । यसबाट संकीर्णि भाव पनि प्रकट हुन्छ ।’
अन्ततः २०१७ भदौ ४ गते राजधानी प्रस्ताव संसदबाट फिर्ता भयो । प्रस्तावक अधिकारी फिर्ता लिन राजी भए । ‘पहिलो संसद’का लेखक जगत नेपालले राजधानी सार्ने प्रस्ताव किन गरिएको भन्ने प्रस्ताव भएको पाँच दशकपछि समर्थन गर्ने सांसद मणिराम शास्त्रीलाई सोधेका थिए ।
जवाफमा शास्त्रीले काठमाडौंका हेपाइको बिरुद्धमा तर्साउन प्रस्ताव आएको बताएका थिए । उनले भनेका थिए, ‘त्यति बेला हामी धेरै सांसदहरु अल्लारे ठिटै थियौँ । काठमाडौंको प्रतिनिधित्व गर्दैनथ्यौँ । बाहिरबाट आएका हमीलाई यहाँका नेवारहरुले पाखे भनेर अत्यन्त हेयको दृष्टिले हेर्थे । अनि हामीले सल्लाह गयौँ– यिनीहरुलाई तर्साउन केही त गर्नै पर्यो । रिसको झोँकमा राजधानी सार्ने प्रस्ताव दर्ता गराइदियौँ । ठूलै हल्लाखल्ला भइहाल्यो ।’
पहिलो सदनका सांसद शर्माले अन्तिमसम्म राजधानी सार्ने कुरामा अडान लिएको भन्दै थपेका छन्, ‘राजधानी सार्न सरकारले नमानेपछि हामीले भन्यौँ– त्यसो भए जाडोमा चितवन गर्मीमा काठमाडौंलाई राजधानी बनाउनुपर्छ । नत्र संकल्प प्रस्ताव फिर्ता हुन्न । हामीलाई राजधानी सार्नु थिएन । यहाँका मानिसहरुको सेखी झार्नु थियो ।’
२०१७ सालको साउनदेखि भदौसम्म भएको छलफलले राजधानी कि पोखरा पूर्णरुपमा कि चितवनमा जाडो यामको लागि सार्न प्रस्ताव गरेको थियो । त्यो सिरियस प्रस्ताव थिएन । तर, नेपालको विकासका आर्किटेक्ट् तथा भूगर्वविद् हर्क गुरुङले भने राजधानी काठमाडौंबाट चितवनमा सन २००० भित्रै सार्नुपर्ने तर्क गरेका थिए ।
उनले काठमाडौंले नधान्ने भन्दै व्यवस्थापन गर्न त्यस्तो तर्क गरेका थिए । २०४८ चैत १३ गते ‘स्वतन्त्रता साप्ताहिक’मा ‘काठमाडौंको भविष्य’ शीर्षक लेख लेखेर गुरुङले यस्तो बताएका थिए । योजनाबद्ध रुपमा काठमाडौंबाट राजधानी चितवन सार्नुपर्ने उनले बताएका थिए ।
चितवनमा राजधानी सार्ने कुरा गुरुङको मात्रै होइन जापानबाट नेपाल आएर पर्यटन व्यवसायमा जोडिएर पनि नेपाली नागरिकता लिएका ताकासी मियाहाराले समेत गरेका थिए । सन २००५ मा नेपाली नागरिकता लिएका उनले सन २००६ मा ‘नेपाल रास्ट्रिय विकास पार्टी’ खोलेका थिए । त्यो पार्टीले दस्तावेजमा राजधानी चितवन सार्ने प्रस्ताव गरेको थियो ।
यी डेड दर्जन देशहरु जसले राजधानी सारे
राजधानी सार्ने कुरा दुनियाँमा कुनै नयाँ चलन होइन । उदाहरणका लागि पछिल्लो समयमा राजधानी सार्ने देश हो इण्डोनेसिया । सन २०२२ जनवरी १८ मा इन्डोनेसियाले राजधानी जकार्ताबाट सार्न आएका ८० अन्य विकल्पहरु त्यागेर नुसान्तारालाई नयाँ राजधानी बनाउने घोषणा गर्यो ।
३२ अर्ब अमेरिकी डलर परियोजनाको नयाँ राजधानी सार्ने नेतृत्व रास्ट्रपति जोको विदोदोले गरेका थिए । इन्डोनेसिया जस्तै इजिप्टले हालको राजधानी कायरो भन्दा ४९ किलोमिटर पूर्व क्षेत्रमा राजधानी सार्ने परियोजना इन्डोनेसिया भन्दा एक महिना अगाडि निर्णय गरेको थियो ।
दक्षिण एसियाकै उदाहरण दिँदा दुई देशले राजधानी सारेका छन् । अंग्रेजकालीन भारतले सन १९११ मा राजधानी कोलकाताबाट दिल्लीमा सारेको हो । नेपालका राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा राजधानी सारिएको हो ।
पाकिस्तानले पनि सन १९५९ मा राजधानी सारेको थियो । पुरानो राजधानी कराँची थियो भने नयाँ राजधानीको रुपमा इस्लामावाद बनाइएको थियो ।
अंग्रेजकालीन भारत र स्वतन्त्रता पाएपछिको पाकिस्तान देखी इन्डोनेसिया र इजिप्टले हालसालै राजधानी सारेजस्तै धेरै देशहरुले राजधानी सार्दै आएका छन् ।
– रुसः सेन्ट पिटर्सबर्गबाट मस्कोमा राजधानी सन १९१८ मा सरेको हो ।
– ब्राजिलः ल्याटिन अमेरिकी मुलुक ब्राजिलले आफ्नो राजधानी पुरानो सहर रियो दे जेनेरियोबाट नयाँ शहर ब्रासिलियामा सन १९५६ मा सारेको थियो ।
– मौरितानियाः पुरानो राजधानी सेन्ट लुइसबाट नयाँ राजधानी नुआक्चोटमा सन १९५७ मा सारिएको थियो ।
– बोत्स्वानाः सन १९६१ मा पुरानो राजधानी माफेकिङबाट गाबेरोनमा सारिएको थियो ।
– लिबियाः पुरानो राजधानी बेंघाजीबाट नयाँ राजधानी त्रिपोलीमा सन १९६३ मा सारिएको हो ।
– मालाबिः सन १९६५ मा पुरानो राजधानी जोम्बाबाट नयाँ राजधानी लिलियोङ्गेमा सारिएको हो ।
– बेलिजः सन १९७० मा राजधानी बेलिज सिटीबाट बेल्मोपानमा सारिएको थियो ।
– तान्जानियाः पुरानो राजधानी दारेशलामबाट नयाँ राजधानी दोदोमामा सन १९७३ मा सारिएको थियो ।
– नाइजेरियाः पुरानो राजधानी लागोसबाट नयाँ राजधानी आबुजामा सन १९७५ मा सारिएको थियो ।
– आइभोरी कोस्टः पुरानो राजधानी अबिदजानबाट नयाँ राजधानी यामुसुक्रोमा सन १९८३ मा सारिएको हो ।
– जर्मनीः पुरानो राजधानी बोनबाट नयाँ राजधानी बर्लिनमा सन १९९० मा सारिएको हो ।
– काजाकास्तानः पुरानो राजधानी अल्म्याटीबाट नयाँ राजधानी आस्तानामा सन १९९७ मा सारिएको हो ।
– मलेसियाः पुत्रजयाबाट क्यावालाम्पुरमा राजधानी सन २००० मा सरेको हो ।
– म्यानमारः देशको नाम बर्माबाट म्यानमारको रुपमा परिवर्तन भएको देशले राजधानी पनि पुरानो सहर रंगुनबाट नयाँ सहर नेपिदमा सन २००५ मा सारिएको हो ।