गृहमन्त्री हुँदा भ्रष्टाचारको फाइल खोल्न खाेज्दा षड्यन्त्र भयो : रवि लामिछाने
चुनावमा धाँधली हुनसक्ने भएकाले प्रधानमन्त्री र गृहमन्त्रीको गराए ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू गृहमन्त्री हुँदा बलियोसँग खुट्टा टेकेको कारणले आफूविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।
तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेसम्म भएका भ्रष्टाचारको फाइल खोलेरै छाड्ने बताए ।
उनले भने, ‘मैले संसद्का बोल्दा भनेको थिए। भ्रष्टाचारको कुनै पनि कालखण्डको फाइल खुल्छन् भनेर गृहमन्त्री हुँदा। मैले जब खुट्टा दह्रो टेकेपछि धेरै ठाउँ हल्लियो । त्यसको साइडइफेक्ट र पराकम्पहरु अझै पनि आइरहेका छन् । चाहे चुनावको अघिल्लो दिनसम्म पनि त्यसको पराकम्प आउनेछ ।’
उनले उपनिर्वाचनमा धाँधली हुनसक्ने भएकाले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराए। लोकतन्त्रमा जनताले जसलाई मत दिने उसले नै जित्ने बताए ।
उनले भने, ‘हामी काम नभएर रानीतिमा आएका होइनौं भएका सारा काम छाडेर यो अभियानका आएका हौं। यो यात्रामा तपाईंले साथ दिनुभएमा पाँच बर्षमा राजनीतिले कोर्स परिवर्तन गर्छ ।’
उनले योग्य मान्छेहरुलाई लिएर अगाडि जाने भएकाले आगामी स्थानीयदेखि संघीय निर्वाचनको लागि तयार भएर बस्ने आग्रह गरे। उनले उपनिर्वाचनमा एकको बदला तीन बनाएरै छाड्ने दाबी गरे ।