रात्रिकालीन सेवा भएको पोखरा विमानस्थलबाट दिउँसै पनि किन उडेनन् जहाज ? – Nepal Press

रात्रिकालीन सेवा भएको पोखरा विमानस्थलबाट दिउँसै पनि किन उडेनन् जहाज ?

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत ३ दिन उडान-अवतरण भएन । बिहीबार उडान भएको थियो । त्यसपछि शुक्रबार, शनिबार र आइतबार दिउँसोसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान हुन सकेन ।

उद्घाटन भएको करिब ३ महिना पुग्न लाग्दा पनि आन्तरिक उडानमै सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम बिग्रिएपछि ३ दिन आन्तरिक उडानसमेत हुन सकेन ।

विमानस्थल प्रमुख विक्रम गौतमले मौसम बिग्रिएर भिजिबिलिटी (दृश्यता) कम हुँदा उडान हुन नसकेको बताए । आइतबार दिउँसोबाट मौसम खुलेसँगै उडान सुरु भएको विमानस्थल प्रमुख गौतमको भनाइ छ ।

‘भिजिबिलिटी कम भएर विमानस्थलमा उडान र अवतरण नभएको हो, यो पोखरामा मात्रै होइन, धनगढीमा प्रभाव थियो, इटहरीमा प्रभाव थियो, सिमरामा प्रभाव थियो,’ उनले भने, ‘तर, यहाँ (पोखरामा) चाहिँ आजबाट खुल्यो । राम्रो भयो, दिउँसो साढे २ बजेपछि राम्रो भएको छ ।’

पोखरा विमानस्थलमा उडान हुनका लागि ३ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने विमानस्थलका प्रमुख गौतमले जानकारी दिए ।

‘प्रविधिमा आधारित भएर गरिने उडान (आइएफआर) भए पनि ३ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, गत ३ दिनमा २ हजारमात्रै भिजिबिलिटी थियो,’ उनले भने ।

गौतमकै भनाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन भिजिबिलिटी १६ सय मिटर भए पुग्छ । तर, पोखरा विमानस्थलमा चाहिँ किन ३७ सय मिटर चाहिन्छ ? भन्ने प्रश्नमा विमानस्थल प्रमुख गौतममले इकुप्मेन्ट र भौगोलिक विशेषताअनुसार भिजिबिलिटी फरक हुने बताए ।

‘भौगोलिक बनोटअनुसार लिमिटेसन (सीमा) हुन्छ, हाम्रो सीमा ३७ सय मिटर हो, गौतम बुद्ध विमानस्थलको सीमा फरक छ, सिमराको सीमा फरक छ,’ उनले भने, ‘त्यहाँको इकुप्मेन्ट र भौगोलिक विशेषता अनुसार फरक हुन्छ ।’

पोखराबाट बुद्ध, यती, श्री र सौर्य एयरलाइन्स कम्पनी एयरलाइन्सले काठमाडौं, भद्रपुर, भैरहवा, नेपालगन्ज, धनगढी, भरतपुर, जनकपुर, मुस्ताङ लगायत ठाउँमा उडान हुने गरेको छ ।

यसअघि पोखरा विमानस्थलबाट दैनिक ६० उडान–अवतरण हुने गरेका थिए । नयाँ वर्षको बेला पर्यटक पोखरा घुम्न आउने भएकाले उडान बढी हुने अपेक्षा गरिएको थियो । तर, भिजिबिलिटी कम भएसँगै ३ दिन कुनै पनि उडान हुन सकेन ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले उडान नहुँदा नयाँ वर्षमा पोखरा आउने पर्यटकको कम भएको बताए ।

‘नयाँ वर्षका लागि पर्यटकहरु पोखरा घुम्दै आउँदै थिए । उडान नहुँदा पर्यटकहरुलाई दुख भयो, कति उडान क्यान्सिल हुँदा गाडीबाट आउन पनि सकेनन्, यसले पोखराको पर्यटन क्षेत्रमा धक्का पुग्यो’, उनले भने ।

बैंकर आलोक श्रेष्ठले आइतबार अफिस भेट्न भनेर शनिबार जहाजबाटै काठमाडौंबाट पोखरा आउन चाहँदा सम्भव भएन । उडान रद्दको समयको जानकारीसमेत एयरलाइन्सले बेलामा नदिँदा दुख भएको सुनाए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सम्भव हुनेसम्मको उपकरण जडान भएको नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम बताउँछन् । उपकरणको सहयोगमा उडान गर्दा पनि निश्चित दुरी पाइलटका आँखाले देख्ने सफा आकाश हुनुपर्ने उनको भनाइ छ ।

शून्य भिजिबिलिटी (दृश्यता) हुँदा पनि उडान गर्न सक्ने उपकरण जडान पोखराको भौगोलिक बनावटका कारण सम्भव नभएको बताउँछन् ।

‘शून्य भिजिबिलिटीमा पनि उडान गर्नै उपकरण राख्न त काठमाडौंमा पनि राख्न सम्भव छैन, त्यो पनि भौगोलिककै कारण हो’, उनले भने, ‘भौगोलिक बनावटले साथ दिएका विदेशका कतिपय एयरर्पोटमा शून्य भिजिबिलिटीमा उडान गर्ने उपकरण जडान भएको हुन्छ ।’

रात्रिकालीन उडानसमेत पोखराबाट हुँदै आएको छ । विज्ञका अनुसार रात्रिकालीन उडानमा पनि निश्चित दुरीसम्म सफा र खुला आकाश हुनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर