संरक्षण नहुँदा खण्डहर बन्यो विजयपुरगढी, ऐतिहासिक र पुरातात्त्विक सामान व्यक्तिको कब्जामा – Nepal Press

संरक्षण नहुँदा खण्डहर बन्यो विजयपुरगढी, ऐतिहासिक र पुरातात्त्विक सामान व्यक्तिको कब्जामा

विराटनगर । कोशी नामकरणको विरोधमा यतिखेर पहिचानवादीले आन्दोलन गरिरहेका छन् । तर, पहिचानको आन्दोलन चर्किरहँदा विभिन्न परम्परा र जातीय संस्कृतिसँग जोडिएका ऐतिहासिक र पुरातात्त्विकस्थलको संरक्षण र प्रवर्द्धनमा भने कसैले चासो नराखेको भनेर स्थानीयले आलोचना गरेका छन् ।

यसको एक उदाहरण हो विजयपुर गढी । विजयपुरगढी लिम्बूकालीन इतिहासको साक्षी भए पनि यसको संरक्षणमा सम्वद्ध पक्ष उदासीन बनेका छन् ।

विक्रम सम्वत् १८३१ साउन २२ अगाडि विजयपुर बेग्लै राज्य थियो । नेपाल एकीकरणको क्रममा अरुण, सप्तकोशीपूर्वका लिम्बू राजाहरूलाई युद्धमा जित्न नसकेपछि पृथ्वीनारायण शाहले सम्झौता गरेको इतिहासका जानकारहरू बताउँछन् ।

पृथ्वीनारायण शाहले विजयपुरमै यो सम्झौता गरेको इतिहासकारहरूले लेखेका छन् । विजयपुर त्यसताका लिम्बूवानको राजधानीसमेत हो ।

लिम्बूवानको राजधानी भनेर विश्वास गरिने विजयपुर क्षेत्रको संरक्षण तीनै तहका सरकारले गर्न नसक्दा स्थानीयले कब्जा गरेका छन् । ऐतिहासिक क्षेत्रमा कतै सुकुमवासी बसेका छन् भने कतै सो जग्गा व्यक्तिको नाममा भएको छ ।

विजयपुरको अस्तित्व १३औं शताब्दीदेखि सुरू भएको इतिहास छ । १३ औँ शताब्दीमा विजयनारायण रायका पुर्खाले पूर्वी क्षेत्रमा राज्य प्रारम्भ गरेको मानिन्छ । पछि विजयनारायणले विजयपुर गढीमा दरबार सारेको र शासन गरेको इतिहासकार इमानसिंह चेम्जोङले लेखेका छन् ।

इतिहासकार इमान सिंह चेम्जोङले ‘किराँतकालीन इतिहास’ नामक पुस्तकमा विजयनारायणको नामबाट विजयपुर रहेको दाबी गरेका छन् ।

उनका अनुसार, धरान बजारको पूर्वी भागको केही उँचो डाँडोमा विजयपुर रहेको उल्लेख छ । दरबार भने अहिले भएको विजयपुरको सालघारी क्षेत्रमा रहेको मानिन्छ ।

यहाँ दरबार थियो भन्ने कुरा यस क्षेत्रमा रहेको इँटाका टुक्राहरू रहेको उनले दाबी गरेका छन् ।

विजयपुर क्षेत्रमा अहिले पनि दरबारमा प्रयोग गरेका इँटाहरू भेटिने गरेका छन् । यस्तै यही क्षेत्रमा भवन बनाउन प्रयोग गरेका ढुङ्गाहरू पनि प्रशस्त भेटिने गरेको महेन्द्र क्याम्पस धरानका सह प्राध्यापक सञ्जय कोइरालाले बताए । उनका अनुसार अहिले गढी क्षेत्रमा केही अवशेष मात्रै बाँकी छ । अभिलेखहरू सबै नष्ट भई सकेका छन् ।

विजयपुरको राज्यसभा बस्ने ठाउँ भनेर विश्वास गरिने गणेशको मन्दिर रहेको क्षेत्रमा भने अहिले पनि केही पुराना संरचना देख्न सकिन्छ ।

विजयपुर चोक सँगै रहेको यो स्थानमा भेटिएका वस्तुहरू सर्वसाधारणको घरहरूमा पुगेका छन् ।

यस्ता पुरातात्विक र ऐतिहासिक भनिएका महत्त्वपूर्ण सामाग्रीहरू कसैले घरको पर्खाल लगाउन प्रयोग गरेका छन् भने कसैले पूजा गर्नको लागि प्रयोग गरेको भेटिएको कोइरालाले बताए ।

दरबार लोप भएसँगै ढुङ्गाबाहेक सबै कला कौशल र ऐतिहासिक सामग्री हराएका छन् । ढुंगामा कुँदिएका केही मूर्तिलगायत सामाग्रीहरू दरबारनजिकै सुकुमवासी बस्तीमा देखिने उनले बताए ।

स्थानीयवासी राजेन्द्र शर्मा पहिचानको आन्दोलन चलिरहँदा लिम्बूवानको जिउँदो इतिहासको साक्षी विजयपुर गढीको संरक्षणमा सरकारले काम नगरेको गुनासो गर्छन् ।

उनका अनुसार पहिचानवादीहरूले गढी क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा रोक लगाए पनि उनीहरूको हातमा शासन सत्ता नहुँदा यसको संरक्षण गरी पर्यटन प्रवर्धन गर्न नसकेको बताए ।

उनले भने पहिचानको आन्दोलन चलिरहेको छ तर पहिचानको साक्षी विजयपुरको भने संरक्षण हुन सकेको छैन ।

ऐतिहासिक स्थल विजयपुर गढी क्षेत्रमा मनलाग्दी जग्गा हडप्ने प्रक्रिया र सुकुम्वासी बसोबास बढेको छ । राजनीतिक पहुँच र प्रभावका भरमा जग्गा हडपिँदा विजयपुर दरबार तथा गढी झन्डै एक बिघा क्षेत्रफलबाट खुम्चिएर केही कठ्ठामा सीमित भएको छ ।

ऐतिहासिक स्थलको सग्लो नक्साअनुसार २०१७ सालमा भएको नापीमा ‘ऐलानी ब्लक’ देखिन्छ । २०४६ अघिसम्म गढी क्षेत्र सुरक्षित रहेको शर्मा बताउँछन् । तर, पछिल्लो समय विभिन्न कारणले यो क्षेत्र मासिँदै गएको छ ।

सशस्त्र युद्धताका गढी क्षेत्रको जग्गामा सुकुमबासी बस्ती बसालियो । अहिले त्यहाँ २५ भन्दा बढी सुकुमबासीका घर छन् ।

सुकुमवासी बस्ती रहेको क्षेत्रमा ऐतिहासिक र पुरातात्त्विक महत्त्वका समाग्रीहरु भेट्न सकिने लिम्बू संस्कार र सस्कृतिका अध्येता डा. कमल तितेलाले बताए । उनले गढी क्षेत्रमा ऐतिहासिक ढुङ्गा/सामग्री यत्रतत्र छरिएको बताउँछन् ।

उनले बस्ती राखेकै बेला भएको उत्खननमा त्यहाँ पुरातात्त्विक महत्त्वका भाला, हतियार भेटिएको बताए ।

उनले केही भाला पुरातत्त्व विभागले लगेको बताए । आफूले समेत स्थानीय युवासँग एउटा भाला २ हजार रूपैयाँमा किनेको उनले जानकारी दिए । ‘त्यो भाला मेरो घरमा सुरक्षित छ,’ तितेला सुनाउँछन् ।

केही वर्षअघि पूर्वअञ्चलाधीश अम्बिकाप्रसाद श्रेष्ठले सो क्षेत्रमा रहेका पुरातात्त्विक महत्त्वका सामग्री आफूले संकलन गरेर राखेको बताएका थिए । उनले २०१५ सालसम्म विजयपुर गढीमा दुई वटा तोप रहेको समेत बताएका थिए ।

उनले तत्कालीन बडाहाकिम भूपालमान सिंह कार्कीले ती तोप मोरङको पुरानो सदरमुकाम रङ्गेली लगेको बताएका थिए ।

यस्तो छ विजयपुरको इतिहास

वि.सं. १८२४ सम्म मकवानपुरका सेनवंशीहरूले शासन गरे । १८२४ मा कामदत्त सेनको हत्या गरेर बुद्धि कर्ण रायले विजयपुरको शासन सत्ता आफ्नो हातमा लिएको इतिहास छ । विजयपुर गढीमा बनाइएको स्मारक अनुसार थिवोङ याक्थुङहरुको शासनकालमा सोईयक लादोहाङले चौबिस थुमको राजा भई सान गढी र जलालगढी निर्माण गरी पहाड मधेस शासन गरे ।

ई.सं. १३६४ मा लिम्बू घरानाका साङ्लाईङ्ले मोरङमा राज्य स्थापना गरे । स्मारकमा सातौँ पीढीका विजयनारायण रायले ई.सं. १५८४ मा मुरेहाङ खेवाहाङलाई पहाड-मधेसको राजा, उनका उत्तराधिकारीहरूले ६/६ महिना विजयपुरमा बसी राजकाज चलाउन पाउने उल्लेख छ ।

स्मारकमा विजयनारायण रायले आफूले मोरङको मात्र राजा हुने सम्झौता गरी राजधानी वाराताप्पाबाट विजयपुर सारेको उल्लेख छ ।

ई.सं. १६०९ मा मुरेहाङका छोरा वाजु राय (बाजाहाङ) ले मकवानपुरका लोहाङ सेनहरूसँग सहयोग मागेर विजयनारायण रायको शासन हत्याउने क्रममा मृत्यु भएपछि लोहाङ सेनको विजयपुरमा प्रवेश भएको मानिन्छ ।

कामदत्त सेन राजा भएको समयमा राजा र चौतारीया बिचको मनमुटाबले बुद्धि कर्ण र कामदत्त सेनमा पनि सम्बन्ध राम्रो भएन ।

ई.सं. १७६९ मा वुद्धीकर्णले कामदत्त सेनलाई सत्ताच्यूत गरी शासनको बागडोर आफ्नो हातमा लिए । ई.सं. १७७४ मा पृथ्वीनारायण शाहले विजयपुर नेपालमा गाभे ।

विजयपुरका संस्थापक विजयनारायण र अन्तिम राजा बुद्धि कर्णका वंशज लिम्बू जाति भएको स्मारकमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *