चुनावी खर्चको विवरण नबुझाउने ७४ जना उम्मेदवारको नाम सार्वजनिक (सूचीसहित) – Nepal Press

चुनावी खर्चको विवरण नबुझाउने ७४ जना उम्मेदवारको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ मा निर्वाचन खर्चको विवरण पेश नगर्ने ७४ जनाको नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार निर्वाचन खर्चको विवरण तोकिएको समयभित्र पेश नगर्ने ३७ जना प्रतिनिधिसभाका र ३७ जना प्रदेशसभाका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो ।

आयोगको विवरण अनुसार प्रतिनिधिसभामा भाग लिएर निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेमा सवैभन्दा बढी २२ जना स्वतन्त्र उम्मेदवार छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्जका ३ जना, जनता समाजवादी पार्टीका २ जना रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, जनता प्रगतीशिल पार्टी नेपाल, नेपाल जनता पार्टी, नेपाली जनता दल, नेपाल सदभावना पार्टी, हाम्रो नेपाली पार्टी, मंगोल नेश्नल अर्गनाइजेसनका एक-एक जना उम्मेदवार रहेका छन् ।

यस्तै प्रदेशसभा निर्वाचनमा सबैभन्दा बढी १६ जना स्वतन्त्र उम्मेदवारले निर्वाचन खर्च बुझाएका छैनन् । राजनीतिक दलमा राष्ट्रिय प्रजतन्त्र पार्टी नेपालका तीन, नेपाल लोकतान्त्रिक पार्टी, जनमत पार्टी, जनसमाजवादी पार्टी नेपालका दुई-दुई उम्मेदवारले निर्वाचन खर्चको विवरण पेश गरेका छैनन् । यस्तै जनता प्रगतिशील पार्टी नेपाल, नेपाल जनता पार्टी, नेपाली जनता दल, हाम्रो नेपाली पार्टी, मंगोल नेश्नल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, नेकपा (एकीकृत समाजवादी) नेकपा (माले) र नागरिक उन्मुक्ति पार्टीका एक-एक जना उम्मेदवारले निर्वाचन खर्चको विवरण पेश नगरेका हुन् ।

सात दिनभित्र सार्वजनिक गरेको जानकारी गराउन निर्देशन

आयोगका अनुसार प्रतिनिध सभाका दुई हजार तीन सय ७३ जना उम्मेदवार र प्रदेश सभाका ३ हजार एक सय १८८ जना उम्मेदवारसहित जम्मा पाँच हजार पाँच सय ६१ जना उम्मेदवारलाई निर्वाचन खर्चको विवरण सात दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आफू उम्मेदवार भएको जिल्लाको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नका लागि निर्देशन पनि दिएको छ ।

२०७९ साल मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश निर्वाचनमा भाग लिई संघीय कानूनमा तोकिएको समयावधि भित्र निर्वाचन खर्चको विवरण नबुझाउने प्रतिनिधि सभातर्फ ३७ (सैंतीस) जना र प्रदेश सभातर्फ ३७ (सैंतीस) जना उम्मेदवारसहित जम्मा ७४ जना उम्मेदवारको नामावली आयोगको वेबसाइटमा प्रकाशन गरेको छ । त्यस्ता उम्मेदवारलाई आफ्नो सफाईसहितको स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेश गर्न आदेश दिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५  दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नु पर्ने कानूनी व्यवस्था छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर