अर्थ मन्त्रालयमा चार जना सहसचिव जगेडामा
काठमाडौं । अर्थ मन्त्रालयले चार जना सहसचिवलाई जगेडामा राखेको छ । सचिव थन्क्याउने थलोको रुपमा परिचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हो । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव थन्क्याउने अर्को थलो हो । तर, पछिल्लो समय अर्थ मन्त्रालय पनि त्यही सूचीमा देखिएको छ ।
बाहिरबाट ल्याएका सहसचिव भुपाल बरालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् । बजेट महाशाखा प्रमुख रहेका धनीराम शर्माको ठाउँमा उत्तर खत्रीलाई राखिएको छ । शर्मालाई कुनै महाशाखा तोकिएको छैन ।
यता बाबुराम सुवेदी, जनकराज शर्मा र रघुराम विष्ट पनि अर्थमै छन् । कुनै महाशाखा प्रमुख नदिइएका धनीराम, बाबुराम र जनकराजले बजेटको मस्यौदा लेखन समितिमा रहेर काम गरिरहेका छन् ।
आर्थिक नीति विश्लेषण महाशाखाका सुमन दाहाल योजना आयोगमा सरुवा भएको हल्ला चलेको थियो । तर, उनी सोही शाखामै छन् ।
स्रोतका अनुसार अब बजेट निर्माण गरुञ्जेल यतिकै राख्ने र बजेटपछि जिम्मेवारी तोकिनेछ । महाशाखाविहीनलाई महाशाखा तोक्दा पनि महाशाखामा भइरहेका थप ४ जनालाई अर्थबाट अन्तै पठाउनुपर्ने हुन्छ ।
सामान्यतया विगतमा महाशाखाका प्रमुखहरुको प्रतिनिधित्वमा बजेट लेखन हुँदै आए पनि यस पटक बजेट लेख्न नै अर्थ बाहिरका सहसचिव ल्याइएको छ ।
मन्त्रालयमा अहिले ९ वटा महाशाखा छन् । ९ वटा महाशाखाका ९ र अतिरिक्त ४ गरी १३ जना सहसचिव छन् । ६ जना सहसचिवको टीमले बजेटको मस्यौदा लेखिरहेको छ ।
अर्थ सचिवमा तोयम राया छन् । उनको ठाउँमा अर्थमन्त्रीले कन्फर्टेबल सचिव खोजिरहेका छन् । तर, त्यसमा मन्त्री आफैंले चाहेर ल्याउन सक्ने अवस्था उनको पार्टीभित्र बनेको छैन ।
स्रोतका अनुसार सचिवमा केहीको नाममा चर्चा भए पनि बजेटभरि हेरफेर नगर्ने कि भन्ने मनस्थितिमा अथमन्त्री डा. प्रकाशशरण महत पुगेका छन् ।