शंकर पोखरेल भन्छन् : अस्थिरता बढाउन पुराना दलविरुद्ध अनर्गल प्रचार भयो
‘राजनीतिमा पैसावाला प्रवृत्ति हावी भयो’
रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता सिर्जना गर्न र बलिया तथा पुराना राजनीतिक दल निर्माण हुन नदिने गरी कमजोर बनाउने खेल भइहेको बताएका छन् ।
राजनीतिमा पैसावाला प्रवृत्ति हावी हुँदै गएकोले यसलाई रोक्नुपर्ने बताउँदै उनले पैसावालाले मात्रै चुनाव जित्ने भनेर टिकट दिने प्रवृत्तिलाई फेर्नुपर्ने अन्यथा राजनीति गलत बाटोमा जाने धारणा राखेका छन् ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको मिसन ग्रासरूट समीक्षा बैठकलाई बिहीबार बुटवलमा सम्वोधन गर्दै पोखरेलले भने–‘चुनाव पैसा भएको उम्मेदवार भन्दा चुनाव नीतिगत रूपमा बुझन जरूरी छ ।’
लुम्बिनीका संस्थापक मुख्यमन्त्री रहेका महासचिव पोखरेलले अब आउँदो निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने गरी अगाडि बढ्न उनले नेताकार्यकर्तालाई आग्रह गरे ।
‘बहुमतको, सरकार बनाउन जनमत वृद्वि गर्ने महत्वपूर्ण हो’ महासचिव पोखरेलले भने, ‘चुनाव पार्टीको विषय बन्नुपर्छ । पार्टीले उसको अभियान लाई नेतृत्व गर्नुपर्छ । बलियो राष्ट्रिय शक्तिको नेतृत्व अब एमालेले मात्र गर्न सक्ने पोखरेलले दावी गरे ।
एमालेको योजना सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिका हुने गरी योजना बनाउनुपर्ने पोखरेलको भनाइ छ । पार्टीको बिकल्प जनताले खोजेको विषयमा विश्लेषण खोज्दै अगाडि बढ्नुपर्ने पोखरेलले बताए ।
जनताको सरोकारका विषयमा विभिन्न जिम्मेवारीमा रहेकाहरुको ध्यान नगएको अहिलेको जनमतले देखाएको बताउँदै जनतासंगको सम्बन्ध टुट्न नदिनेगरी संयन्त्र बनाउन र त्यसलाई चुस्त राख्न सबै तहको नेतृत्वलाई आग्रह गरे । जनमत वृद्धिका लागि जनप्रतिनिधिलाई सफल बनाउनुपर्छ, चुनावका बेला मात्र पार्टी खोज्ने जनप्रतिनिधिलाई सहीं ढंगले परिचालन गर्न आवश्यक रहेको पोखरेलले बताए ।
‘जनताका विषयका हामीले मुद्दा बनाउन नसक्दा जसले समाजलाई भड्काउछन् उनैका पछि लाग्न थाले, बलिया र पुराना शक्ति जनसरोकारका मुद्दा बोक्न सकेनौ भने कमजोर हुनेछौं । जनसरोकारका विषय पहिचान गरी पार्टीलाई परिचालन गर्न अब ढिलाई नगरौं’ उनले बताए, ‘जनप्रतिनिधिलाई अलोकप्रिय बनाउने आफूले टिकट नपाए पार्टीले उठाएको उम्मेदवारलाई हराउन लाग्ने कामका कारणले हामीलाई कमजोर बनाएको हो । यस्ता प्रवृत्तिलाई निमिट्यान्न पार्नुपर्छ ।’
पार्टी नीतिगत हिसाबले, राजनीतिक हिसाबले, सांगठनिक हिसावले एक रहेको बताउँदै सार्वजनिक रूपमा जनप्रतिनिधिको टिकाटिप्पणी गर्नु आवश्यक नरहेको पोखरेलको भनाइ छ । मिसन, उद्देश्यप्रति समर्पित हुनै पर्छ । पार्टीका पक्ष, नीति पक्षमा केन्द्रित हुनुपर्नेछ– महासचिव पोखरेलको भनाइ छ ।
अहिलेको अभियानले सबै तहमा नेतृत्व र जनताबीचको दुरी कम गरेको र सबै क्षेत्रमा पार्टीका जिम्मेवारीलाई ऊर्जा थपेको उनको भनाइ छ ।
दुई दिने समीक्षा बैठकमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, डा. राजन भट्टराई तथा लुम्बिनी प्रदेशबाट केन्द्र, प्रदेशको विभिन्न जिम्मेवारीमा रहेका नेताहरु तथा १२ जिल्लाका अध्यक्षहरु सहभागी रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।