कुशलको धुवाँधार शतक– एउटै इनिङमा बनाए अनेक राष्ट्रिय कीर्तिमान – Nepal Press

कुशलको धुवाँधार शतक– एउटै इनिङमा बनाए अनेक राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपालका बाँया हाते ब्याटर कुशल मल्लले जारी एसीसी प्रिमियर कपमा ओमानविरुद्ध धुवाँधार शतक प्रहार गरे । यसलाई उनको व्यक्तिगत करिअरमा मात्र होइन, नेपालका कुनै पनि ब्याट्सम्यानले खेलेको सर्वोत्कृष्ट इनिङका रुपमा हेरिएको छ ।

२०.३ ओभरमा ७२ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो । पाचौं विकेटका रुपमा क्रिजमा प्रवेश गरेका कुशलले हार्ड हिटिङको नमूना देखाए । उनलाई २२१ रनको स्थितिमा पुर्याएर व्यक्तिगत १०८ रन बनाउँदै आउट भएका थिए ।

ओमानविरुद्ध शतक प्रहार गर्दा कुशलले एकै इनिङमा चार राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने नेपाली खेलाडी बने । यसअघि सर्वाधिक छिटो एक दिवसीय सतकको कीर्तिमान नेपालका कप्तान रोहितकुमार पौडेलको नाममा थियो ।

पौडेलले विश्वकप लिग २ अन्तरगत पपुवा न्यूगिनीविरुद्ध ९१ रनमा सतक प्रहार गरेर बनाएको रेकर्ड मल्लले भत्काएका हुन् । रोहितले भन्दा ३२ कम बल खेलेर कुशलले शतक बनाए ।

कुशलले आजकै इनिङमा बनाएको अर्को रेकर्ड हो सर्वाधिक छक्काको । उनले ५९ औं बलमा विशाल छक्का प्रहार गर्दै १०० रनको माइलस्टोन छोएका थिए । खेलमा यो उनको नवौं छक्का थियो । शतक बनाइसकेर पनि उनले थप एउटा छक्का हान्न भ्याए । यसरी कुशलले खेलमा कुल ६४ बल सामना गर्दै १० छक्का प्रहार गरेका छन् ।

समग्र एकदिवसीयमा सर्वाधिक छक्का हान्ने किर्तिमान पनि कुशलले आजको म्याचबाट आफ्नो नाममा बनाउन सफल भए । नेपालका लागि ओडीआईमा सर्वाधिक छक्काको कीर्तिमान रोहितकुमार पौडेलको नाममा थियो । उनले अहिलेसम्म ४५ एकदिवसीयमा २३ छक्का हानेका छन् । तर, आजको म्याचबाट कुशलको ओडीआइ छक्काको संख्या २८ पुगेको छ । कुशलले केवल २१ एकदिवसीय म्याचमा रोहितको रेकर्ड तोडेका हुन् ।

यस्तै, कुशलले नेपालका लागि सबैभन्दा तल्लो क्रममा आएर शतक हान्ने अर्को कीर्तिमान राखेका छन् । उनले आज छैटौं नम्बरमा ब्याटिङ गरेका थिए । यसअघि शतक बनाउने ब्याट्सम्यानहरुमध्ये कुशल भुर्तेल र आसिफ शेखले ओपनिङमा ब्याटिङ गरेका थिए । यस्तै पूर्वकप्तान पारस खड्काले पनि यूएईविरुद्ध ओपनिङमै आएर शतक हानेका हुन् ।

दिपेन्द्र सिंह ऐरीले चौंथो तथा रोहितकुमार पौडेलले पाचौं नम्बरमा शतक बनाएका थिए । उनीहरु दुवैले पपुवा न्यूगिनीविरुद्ध हानेको शतक भने खेर गएको थियो ।

कुशल नेपालका लागि शतक हान्ने सबैभन्दा कान्छा खेलाडीसमेत बनेका छन् । उनी अहिले १९ वर्षका भए । नेपालका लागि शतक हान्ने अरु पाँचै जना खेलाडी कुशलभन्दा जेठा हुन् । कुशलले चार वर्षअघि एक दिवसीयमा अर्धसतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडीको विश्वकीर्तिमान समेत राखेका थिए । त्यसबेला उनको उमेर १५ वर्ष थियो ।

सबैभन्दा कम उमेरमा ओडीआई शतक हान्ने विश्वरेकर्ड चाहीँ पाकिस्तानका साहिद अफ्रिदीको नाममा छ । उनले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंकाविरुद्ध शतक प्रहार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर