स्वनिर्माणमा पराजित पोमु – Nepal Press

स्वनिर्माणमा पराजित पोमु

कवि वैरागी काइँलालाई बीसको दशकतिरै यो देश साँघुरो लागेको थियो । त्यो सीमिततामा आफू बाँचेको हुँकार गर्न उनले कवितामार्फत् मातेर भाषण गरे । सायद मात्नु त्यतिबेला निरंकुश पञ्चायती व्यवस्थाले निम्त्याएको हीनताबोधको काथार्सिस थियो र भाषण गर्नु एक काव्यिक चेतावनी ।

त्यतिबेलाको निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध कविले त्यो साहस गर्नु चानचुने कुरा थिएन । भलै जहानियाँ राणाशासन, पञ्चायती व्यवस्था, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा व्यवस्था फेरिए । तर, सत्ताले निर्माण गरेको शासकीय चरित्रको संरचनाहरु अझै यथावत छ । ती संरचनाभित्र सुषुप्त रुपमा जकडिएर बसेका छन् विभेदका अनेकौं रुपहरु । जहाँभित्र निसासिरहेका छन् अनेकौं सिमान्त अस्तित्वहरु । ती अन्याय, शोषण र असमानताविरुद्ध फेरि पनि कोही न कोही त उभिएर बोल्छन् नै ।

इतर साहित्यिक अभियानमार्फत सिमान्तकृतको आवाज मुखरित गरेर पहिचानको मुद्दालाई थप सवल बनाउने कवि हुन् पराजित पोमु । पन्ध्र वर्ष कोरियामा बसेर स्वदेश फर्किएपश्चात् बजारमा ल्याएको कविता संग्रह हो ‘मद्वारा मेरो निर्माण’ । संग्रहभित्रका प्रायः कविताहरु पहिचानको पक्षधरतामा उभिन्छन् । मानवीय मूल्यको जगमा टेकी समानता र सहअस्तित्वको वकालत गर्छन् । प्रेम र संवेदनाको आवाज बुलन्द गर्छन् । मुन्धुम र आदिवासी सौन्दर्य उनको लेखनको मुख्य स्रोत हो । जहाँबाट निसृत भएर उनका कविताहरुले विश्व दृष्टिकोणको फराकिलो क्षितिज चिहाउँछन् । दर्शनको मौलिक आयाम निर्माण गर्छन् ।

संग्रहमा ३८ कविता समावेश छन्, तीन खण्ड छन् । तीनवटै खण्डमा तीन फरक समालोचकहरुको समालोचना पढ्न पाइन्छ । सुरुमा अस्तित्वको तङ्सिङ् भन्ने खण्ड छ । जहाँ अस्तित्व चिन्तनका कविताहरु समावेश छन् । तङ्सिङ्ले शिर उठाउने अनुष्ठान भन्ने बुझाउँछ । जसरी तङ्सिङमा येवा साम्बाहरुले पृथ्वीको उत्पत्तिदेखिको मुन्धुमहरु फलाकी शिर उठाउने कार्य गर्दछ । त्यसरी नै कविले आफ्नो अस्तित्व उठाउन खोजेका छन् ।

संग्रहमा ३८ कविता समावेश छन्, तीन खण्ड छन् । तीनवटै खण्डमा तीन फरक समालोचकहरुको समालोचना पढ्न पाइन्छ । सुरुमा अस्तित्वको तङ्सिङ् भन्ने खण्ड छ ।

यस खण्डका कविताहरुमा दोस्रो खण्ड अम्लारी प्रेम भन्ने छ । यसमा प्रेमसम्बन्धी कविताहरु छन् । मुन्धुमअनुसार अम्लारी (सुनाखरी) फूल प्रेमको प्रतीक हो । अन्तिम खण्ड समयको चोत्लुङ भन्ने छ । जहाँ संक्रमणकालीन समयका अनुहारहरु चिहाउन खोजिएका कविताहरु छन् । खण्डमा समाविष्ट हरेक कविताहरुले पक्कै पनि खण्डको नामसँग अर्थ र सम्बन्ध राख्छ नै । तर, पहिलो र अन्तिम खण्डका कविताहरु प्रायः उस्तै अर्थ र प्रयोजनका लाग्छन् ।

तर, कविलाई तीनवटै खण्ड राख्नु छ । जीवन, अस्तित्व र प्रेम । यी मूलभूत तीन तत्वले जीवन बनेको हुन्छ हुन्छ भन्ने कविको बुझाइ छ । कविताभरि तीन पङ्क्ति, तीन हरफको विशेष प्रयोग छ । तिनको अर्थ धेरै लाग्छ । किराँत साम्जिक मुन्धुमअनुसार सुम्लेङ अर्थात तीनको कुरा बारम्बर आउँछ । सायद कवि यसप्रति सम्मोहित छन् ।

मानिसको परिचय भन्नु नै उसको पहिचान हो । पहिचान नरहे आफू हुनुको अर्थ रहन्न । सबैमा आफ्नो अस्तित्वप्रति प्रेम हुन्छ । कवि पोमुका कविताले त्यही प्रेमलाई घनीभूत रुपमा प्रकट गरेका छन् । कवितामा भूगोल र संस्कृतिप्रति प्रेम छ । नोस्टाल्जिया छ । कविताहरुले भन्छन्, कोरिया रहेर पनि कवि आफ्नै जराचिन्तनमा मग्न रहन्छन् । आफ्नो आदिम इतिहासको पदचाप खोज्छन् ।

संग्रहमा संग्र्रहित अधिकांश कविताहरुले कविताको अस्तित्व बाँच्नुको स्पेस खोज्छन् । यस मानेमा उनका कविताहरु अस्तित्ववादी धारको देखिन्छन् । पहिचानको कुरा गरिरहँदा कवि अरुको पहिचानप्रति पनि संवेदनशील छन् भन्ने कविताले प्रस्ट देखाएको छ । कविताहरु अरुको पहिचानप्रति समभाव राख्दै सरसर्ती बहेका छन् ।

राजनीतिक विश्लेषक लुइ अल्थुजरको भनाइअनुसार सत्ताले वैचारिक राज्य उपकरण र दमनकारी राज्य उपकरणमार्फत जनतालाई नियन्त्रण गर्न खोज्छन् । आफ्नो एकात्मक वैचारिकीको मोडेलमा रुपान्तरण गर्न खोज्छन् । इतिहासलाई हेर्ने हो भने सदिऔंदेखि आदिवासीहरुको इतिहासलाई कुल्चेर एकात्मक हिन्दू सत्ताले यो देशमा दमन र शोषणको नयाँ संस्करण कोरेको हो । विभेदको श्रृंखला सुरु गरेको हो । राजनैतिक र अर्थसामाजिक रुपमा सिमान्तकृत पारेको हो ।

संग्रहमा संग्रहित अधिकांश कविताहरुले कविताको अस्तित्व बाँच्नुको स्पेस खोज्छन् । यस मानेमा उनका कविताहरु अस्तित्ववादी धारको देखिन्छन् । पहिचानको कुरा गरिरहँदा कवि अरुको पहिचानप्रति पनि संवेदनशील छन् भन्ने कविताले प्रस्ट देखाएको छ ।

कविलाई पनि फक्ताङलुङको काखमुनि मेटिँदै गरेको आफ्नो इतिहासको खुब माया छ । छोपिँदै गरेको आफ्नो पुर्खाहरुको गाथाको चिन्ता छ । उनी कवितामार्फत एकजोर दियो कलश राखेर, सेक्मुरी फूल सिउरेर ढलेको माङ्गेन्ना उठाउन चाहन्छन् । उनलाई अब आफ्नै मस्तिष्कको गुलामी स्वीकार्य छैन । आफ्नै निरीहतामा बाँच्न स्वीकार छैन । उनी चेतनाको चुम्लुङ बस्न चाहन्छन् । तीन तियाली चार बाचा गरेर असमानताहरु थुन्न चाहन्छन् । सात राते तङ्सिङ राखेर समानताको मुन्धुम फलाक्न चाहन्छन् ।

पूँजीवादले विश्वलाई गिँजोलेको छ । मानिस उपभोक्तावादी अर्थतन्त्रको हिस्सा बनेका छन् । यसबाट सबैभन्दा प्रताडित तेस्रो विश्वका नागरिकहरु भएका छन् । उनीहरु आफ्नो देश छोडेर रोजीरोटीको निम्ति दोस्रो देश पलायन हुन बाध्य छन् । दोस्रो देशमा श्रम बेच्ने क्रममा श्रमसँगै स्वाभीमान, ज्ञान, सीप र स्वतन्त्रता पनि बेच्न पुग्छन् । पन्ध्र वर्ष कोरियामा बिताएका कविलाई पनि पलायन हुन बाध्य भएकोमा हीनताबोध छ । मेसिनसँगै गुज्रने रोबोटिक जिन्दगीसँग बितृष्णा छ । मेसिनमा मेटिँदै गरेको आयु र सकिँदै गरेको उर्बर किशोरवयको लघुताभास छ ।

कोरिया बसाइको क्रममा लेखिएका उनका कविताहरुले यस्तै निरासाहरुको गीत गाउँछन् । तर, चरम यान्त्रिकीकरणको चपेटामा परे पनि कवि उज्यालोको सपना देख्न छाड्दैनन् । रेमिट्यान्सको उज्यालोमा मुस्कुराइरहने खुशीहरुसँग एकाकार गर्न छाड्दैनन् । एक कविताको पंक्ति छ:

बुबा येहाङको लागि रहरे घडी
आमा लान्धामाको लागि सुनफूल
दिदी युन्छोमाको लागि आइफोन
भाइ सेसेहाङको लागि भटभटे

आँसु, पसिना र रगत बगाउँदै परदेशबाट कविता लेख्ने कविहरुको कवितामा शासकप्रतिको चरम आक्रोश र निरासाको भाव व्यक्त भएको हुन्छ । तर, कवि पोमुको कविताले फरक तरिका अपनाएर आक्रोश र निराशा पोख्छन् । उनका कवितालाई प्रतिशोधको फिलुङ्गोमा जलेर शासकलाई ढुङ्गा हान्नु छैन, सराप्नु छैन । बरु उनलाई त परिवर्तनको वैकल्पिक चेतले उज्यालोको गीत गाउनु छ ।

पूँजीवादले विश्वलाई गिँजोलेको छ । मानिस उपभोक्तावादी अर्थतन्त्रको हिस्सा बनेका छन् । यसबाट सबैभन्दा प्रताडित तेस्रो विश्वका नागरिकहरु भएका छन् । उनीहरु आफ्नो देश छोडेर रोजीरोटीको निम्ति दोस्रो देश पलायन हुन बाध्य छन् ।

कवि पोमुका कविताहरु समयको बेथिति, कुरीति र गलत संस्कृतिको हाउगुजीले चिन्तित छन् । उनका कविताहरु यस्तो संक्रमणकालीन अवस्थाविरुद्ध प्रगतिवादी विचार छेड्छन् । राजतन्त्रको जरा उखेलेर देशमा गणतन्त्र स्थापित भए पनि सत्ताको अधिनायकवादी चरित्र अझै महसुस गर्न सकिन्छ । उनका कवितालाई अझै पनि इतिहासको कालो रगत बगाएर बीच सडकमा उभिरहेको सालिकहरुप्रति त्रास छ ।

अहिलेसम्मकै उत्कृष्ट संविधान भनी लेखिएको समावेशी संविधान पनि जलाउन उद्यत नागरिकहरु पनि छन् । केही निश्चित समुदायले संविधानको संरचनात्मक लाभ लिइरहेको अवस्थामा पक्कै ती नागरिकहरुलाई संविधानले अपनत्वबोध नगराएकै कारण विरोध गर्ने गरेका छन् । सत्ताको अधिनायकवादी चरित्रले निम्त्याएको असमानता र विभेद अनि त्यसको पोषणमा मौलाएको वर्गीय, राजनैतिक एव चैतनिक शोषण र विभेदप्रति कवि कवितामार्फत् असन्तुष्टि पोख्छन् ।

उनका कविताले यस्तो संरचनात्मक समस्याको सिर्जनात्मक पुनर्निमाण गर्न खोज्छन् । ‘राग्ये गाउँ’ कवितामा यस्तै आशय पाइन्छ । सहअस्तित्वको सवालबाट उनका कविताले बहुरङ्गी समाजको कल्पना गर्छन् । प्रगतिशील समाजको आह्वान गर्छन् । कहींकतै उनीभित्र सुषुप्त रुपमा रहेको विद्रोही चेत पनि कविताले दरिलो गरी बोकेको छ । उनका कविता आगोसँग खेल्ने कुरा गर्छन् । फिलिङ्गोसँग खेल्ने कुरा गर्छन् । ‘धुवाँको आकृति’ कवितामा यस्तै विद्रोहको बिगुल फुकेको पाइन्छ:

सार्की दाइ युद्धमा जान
जुत्तामा काँटी ठोकिरहेछ

उनका कविता लैंगिक समानताको पक्षमा खरो उभिन्छ । नारीहरु राजनीति र आर्थिक रुपमा कमजोर हुनु नै उनीहरुउपर हिंसा र दमनको श्रृंखला सुरु हुनु हो भन्ने बुझाइ उनका कवितामा प्रस्टसँग देखिन्छ । नारीहरुलाई प्रेममात्रै नभएर सम्मान र अवसर पनि प्रदान गर्नुपर्छ भन्ने उनका कविताको मुख्य आह्वान हो । मुन्धुममा मुजिना खेयङ्ना, खाप्पुना मुरङ्ना र युमाहरुले मानव विकास र सभ्यताको तान बुन्दै प्रगतिशीलताको गाथा गाएको स्तुति पाइन्छ । लिम्बू समुदायमा पनि नारीको स्थान उच्च छ । उनका कविताहरुले यही आइडियोलोजीबाट नारीहरुलाई हेर्न खोज्छन् ।

उनका कविताको ठोकुवा छ, अबका नारीहरु परम्पराको साँघुरो घेराभन्दा माथि उठेर उनीहरु राजनैतिक रुपमा आफ्नो उपस्थिति जनाउन कटिबद्ध छन् । आर्थिक परनिर्भरताको चंगुलबाट माथि उठेर आफ्नो भविष्य आफैं निर्माण गर्न प्रतिबद्ध भइसके । कोरियामा काम गर्ने एकचौथाइ नेपाली श्रमिकहरु महिला छन् । ती महिलाहरु उनका कवितामा संघर्षका प्रतिमूर्तिहरु हुन् । यति हुँदाहुँदै उनका कविताहरुमा प्रगतिशील नारीवादको आवाज भने नगुञ्जिएको हो कि भन्ने चैँ लागिरहन्छ । बलात्कार र घरेलु हिंसा जस्ता समस्याबाट प्रताडित नारीहरुउपर नबोलेर कवि कतै भागेको हो कि झैं लाग्छ ।

आँसु, पसिना र रगत बगाउँदै परदेशबाट कविता लेख्ने कविहरुको कवितामा शासकप्रतिको चरम आक्रोश र निरासाको भाव व्यक्त भएको हुन्छ । तर, कवि पोमुको कविताले फरक तरिका अपनाएर आक्रोश र निराशा पोख्छन् । उनका कवितालाई प्रतिशोधको फिलुङ्गोमा जलेर शासकलाई ढुङ्गा हान्नु छैन, सराप्नु छैन ।

जातीय विभेद र वर्गीय असमानताको साँघुरो पर्खालले किचेर प्रेमको हत्या गर्ने देश हो यो । इतर आवाजको अभियन्ता भएको नाताले यस्तो कुरुप सांस्कृतिक अवशेषविरुद्ध आवाज उठाउनु कविको दायित्व हो । तर, कवि सामाजिक न्यायलाइ भुलेर वैयक्तिक प्रेमको अतिसय भावनामा डुब्छन् । रुमानी सपनाको कल्पनाहरुमा गोता खान्छन् । कोरा अनुभूतिहरुमा रोमाञ्चित हुन्छन् । सीमापारिको नायुमाका सम्झनाहरुमा विरक्तिन्छन् । सँगै हुन नसकेकोमा गुनासो गर्छन् । नवराज बिकको लास भेरी खोलामा तैरिरहँदा कवि हिउँले पुरिएको हान नदीको किनारमाथि बसेर न्यानो यौनिकताको आभाषले कुण्ठित हुन्छन् । हिउँ परेको रात, मन, महसुस, मध्यरातको जुन र सागर कविताहरुमा त्यस्तै आसय पाइन्छ ।

उनका कविताहरुले प्रकृतिको कुरा गर्छन् । सिर्जना र निर्माणको कुरा गर्छन् । पर्यावरणीय साहित्यको दृष्टिकोणबाट पनि उनका कविताहरु सार्थक देखिन्छन् । ‘चराहरु’ कविताले निर्वाणको कुरा गर्छ । ‘ॐ मणि पध्मे हुँ’ कविताले अध्यात्मको कुरा गर्छ । केही कविताहरु दार्शनिक लाग्छन् । ‘अभिजात्य पूर्णता’, ‘उपस्थिति’, ‘एकदिन’ यस्तै उत्कृष्ट दर्शन मिश्रित कविताहरु हुन् ।

उनी मृत्युपछिको शून्यताको कुरा गर्छन् । यस मानेमा उनका कविताहरु जीवनवादी छन्, अस्तित्ववादी छन् । दर्शनको कुरा गर्न उनी कविताको विराट क्यानभास निर्माण गर्छन् । उनका कविताहरुले डेरिडा हुँदै निकोला टेस्ला र फाल्गुनन्दसम्म खोज्छन् । वेद, त्रिपिटक र मुन्धुम खोज्छन् । यस अर्थमा उनका कविताहरु अलि जटिल जस्ता लाग्न सक्छन् ।

कविको शैली मौलिक छ । बेलाबेला उनी वान लाइनर कवि जस्तो पनि लाग्छन् । ती वान लाइनर स्टेटमेन्टहरुमा पूरै कविताको थिम भेट्न सकिन्छ । उनको हरेक कवितामा दर्शनिक चेत भेटिन्छ । एक बसाइमा पढ्न सकिने कविताहरु हैनन् पोमुका । बेलाबेला उनी प्रयोगधर्मी पनि देखिन्छन् । उनको प्रायः विम्बहरु मुन्धुमी छन् ।

उनका कविताहरु पढ्दा येवाले मुन्धुम फलाके झैं महसुस हुन्छ । सरल कविताहरु पढिरहेका पाठकलाई उनका कविताहरु थोरै जटिल लाग्न सक्छन् । तर, कविताको नाममा कुण्ठा र वैयक्तिक भावना लेख्नेहरुलाई उनका कविताहरु पाठशाला हुन् । कवि पोमु आफ्नो निर्माण आफैं गर्न चाहन्छन् । त्यो निर्माण भनेको चेतनाको हो, वैचारिकीको हो । सायद उनी एकल नश्लीय चिन्तनको जगमा उभिएको शासकहरुले स्थापित गरेको संरचनाहरुभित्र कैद हुन स्वीकार्दैनन् । भाष्यहरुभित्र बाँच्न स्वीकार्दैनन् । कथित इतिहासको फ्रेमभित्र आफ्नो आदिम डोबहरु पहिल्याउँदा उनी निसासिएका छन्, छटपटिएका छन् । उनको चेतना मुन्धुमी बोध, वैचारिकी र दर्शनले निर्दिष्ट गरेको छ । उनी मुन्धुमी स्कुल अफ थटबाट चेतनाको विनिर्माण गर्न चाहन्छन् र त्यहीभित्र आफ्नो सग्लो र अग्लो कद खोज्न चाहन्छन् । वास्तविक अस्तित्व नियाल्न चाहन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *