तिलौराकोट दरबार क्षेत्रको सौन्दर्यकरणमा नेपाली सेनाको साथ
रुपन्देही । विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको प्राचीन तिलौराकोट दरबार क्षेत्र सरसफाई सुरू गरिएको छ ।
२५६७ औं बुद्धजयन्तीको अवसर पारेर तिलौराकोट दरबार क्षेत्रको सौन्दर्यकरण र पुरातात्विकस्थलको संरक्षण गर्दै झाडी सफाइ थालिएको हो ।
लुम्बिनी विकास कोषको समन्वयमा नेपाली सेनाको शमशेर दल गण गोरुसिंगे कपिलवस्तुको सहयोगमा एक हप्तासम्म दरबार दक्षिणतर्फ रहेको झाडी, बुट्यान सरसफाइ गरिने प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।
विश्व सम्पदा सूचीमा सूचीकरणका लागि अधिकांश मापदण्ड पूरा भइसकेको अझ सुन्दरताको लागि सफा अभियान थालिएको उनले बताए ।
सरसफाइ शुभारम्भमा लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईसहित नेपाली सेनाका शमशेर दल गण गोरुसिंगेका गणपति प्रमुख सेनानी दिलिप घले, कोषका पुरातात्व महाशाखाका वरिष्ठ पुरातात्वविद् हिमाल उप्रेती, लेखा अधिकृत भीमबहादुर बस्नेत, वनस्पति शाखा प्रमुख कमलेश बर्मा, पत्रकार मनोज पौडेललगायत सहभागी थिए ।
एकहप्तासम्म नेपाली सेनाका शमशेर दल गण गोरुसिंगेका सहसेनानी क्याप्टेन अमृत गुरुङको नेतृत्वमा झाडी सफाई हुने लुम्बिनी विकास कोष, तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले जानकारी दिए ।
नेपाली सेनाका ५० जना र लुम्बिनी विकास कोषका तर्फबाट सुरक्षकर्मी र मालीहरू १३ जना गरी ६३ जनाको टोली झाडी सफाइमा जुटेको उनले बताए । भगवान गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबारमा पछिल्लो समय पर्यटकहरू आउनेक्रम बढेको छ ।