सन्दीपमाथिको मुद्दाको फैसला पेशी आज, साउदीविरुद्ध म्याच खेल्छन् ?
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला सुनुवाइका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेशी रहेको छ ।
यसअघि जाहेरवालाका कानून व्यवसायीले दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।
सन्दीप हाल एसीसी प्रिमियर कप खेलिरहेका छन् । नेपालले प्रतियोगिताअन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा साउदी अरबविरुद्ध खेल्दैछ । अदालतमा पेशी रहेपनि सन्दीप नेपाली टोलीमा उपलब्ध हुनेछन् ।
‘बहसमा कानून व्यवसायी सहभागी हुने हो । सन्दीप गइरहन पर्दैन’, उनीनिकट स्रोतले भन्यो ।
पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेयता सन्दीपले नेपाली राष्ट्रिय टोलीका लागि महत्वपूर्ण प्रदर्शन गर्दै आइरहेका छन् । नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता कायम र विश्वकप छनोटमा स्थान बनाउँदा उनको भूमिका महत्वपूर्ण रहेको छ ।