गोकुलमको जितमा सावित्राको पाँच गोल
काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला फुटबल क्लबले भारतिया महिला लिगको पहिलो खेलमा इस्ट बेङगल फुटबल क्लबलाई ८–२ गोलको नतिजामा पराजित गरेको छ ।
गोकुलमको जितमा साबित्राले ह्याट्रिकसहित ५ गोल गरिन् भने, इन्दुमति, दाङमेइ गे्रस र भिभियान कोनाडुले एक–एक गोल गरे । बेङ्गोलका रिम्पा हल्दर र तुल्सी हेमब्रामले एक–एक गोल फर्काएका थिए ।
खेल सुरु भएको दोस्रो मिनेटमा गोल गर्दै साबित्राले गोकुलमलाई अग्रता दिलाएकी थिइन् । त्यको दुई मिनेट नबित्दै साबित्रालनै गोल गर्दै गोकुलमको अग्रता दोब्बर पारिन् ।
इन्दुमतिले ८औं मिनेटमा गरेको गोलमा गोकुलमलले ३–० को अग्रता बनाएको थियो । निरन्तर गोकुलमको अक्रमणमा परेको बेङ्गोलकी रिम्पा हाल्दरले १०औं मिनेटमा पहिलो गोल फर्काएकी थिइन् ।
भारतिय राष्ट्रिय टिमका स्टार खेलाडीहरुको बाहुल्यता रहेको गोकुलमले सुरुआतदेखिनै बेङ्गोलमाथि दबाव बनाएको थियो । नेपाली महिला फुटबल टिमकी सर्वाधिक गोल कर्ता साबित्राले २२औं मिनेटमा ह्याट्रिक पुरा गर्दै गोकुलमको अग्रता ४–१ बनाइन ।
पहिलो हाफमै ४–१ को अग्रता बनाएको दोस्रो हाफमा ४ गोल थप्यो । ६३औं मिनेटमा तुल्सी हेमब्रामले दोस्रो गोल फर्काएपनि बेङ्गोल खेलमा फर्कन सकेन ।
साबित्राले ७०औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दा गोकुलमले ५–१ को अग्रता बनायो । त्यसको सात मिनेट नबित्दै दाइमेइ गोलले छैटौं गोल गरिन् । भिभियानले ७९ औं मिनेटमा र साबित्राले ८९औं मिनेटमा गोल गर्दा गोकुलमले ८–२ को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
जारि लिगमा नेपालका ६ खेलाडी बिभिन्न टिममा सामेल छन् । नेपाली राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा सेथु फुटबल क्लब, रेनुका नगरकोटे र सरु लिम्बु किक स्टार्ट फुटबल क्लबमा छन् । भने, रेखा पौडेल स्टोर्टस ओडिसा र अन्जना राना मगर मुम्बई नाइट्स फुटबल क्ल्बमा आबद्ध छन् ।