कतारविरुद्ध नेपालको ब्याटिङ धराशयी, तल्लो क्रमले गर्ला उद्दार ?
काठमाडौं । कमजोर मानिएको कतारले नेपालको बलियो ब्याटिङ क्रमलाई धराशयी बनाइदिएको छ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा टस हारेर ब्याटिङमा निम्याइएको नेपालले २० ओभरभित्रै ६ ब्याट्सम्यानहरु गुमाएको हो ।
दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाई गयान मनाविराले खुराम सहजादको हातबाट क्याचआउट गराएसँगै नेपालको विकेट पतन सुरु भएको थियो । भुर्तेलले आउट हुनुअघि ८ बलमा २ रन मात्रै जोड्न सके । तेस्रो नम्बरमा आएका भीम सार्की पनि आज चल्न सकेनन् । उनी १२ बलमा ६ रन बनाएर आउट भएका थिए ।
दुई ब्याट्सम्यान गुमाएर दवावमा आएको नेपाललाई आसिफ शेख र कप्तान रोहित पौडेलले सम्हाल्ने प्रयास गरे । उनीहरुबीच ४८ रनको साझेदारी भएको थियो । तर, १२.४ ओभरमा आसिफलाई इक्रामुल्लाह खानले आउट गरेपछि नेपालले थप ३ विकेट लगातार गुमाएको छ । आसिफले २७ बलमा २ चौकासहित १९ रन जोडे । आसिफलाई पछ्याउँदै कप्तान पौडेल पनि पेभिलियन फर्किए । उनले ३६ बलमा २ चौकाको मद्दतले २७ रन बटुले ।
विष्फोटक ब्याट्सम्यान कुशल मल्लको ब्याट पनि चलेन । छैटौं नम्बरमा आएका मल्ललाई ओयसिस अहमदले आफ्नै बलमा क्याच आउट गरे । मल्लले आउट हुनुअघि ५ बल खेल्दै ३ रन मात्र बनाएका थिए । अघिल्लो म्याचमा ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका सोमपाललाई नेपालले आज पाचौं नम्बरमा पठाएको थियो । तर, यो प्रयोग असफल भयो । लुज पुल सट खेल्दै उनी आउट भए ।
अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख छन् । दिपेन्द्र नेपालका म्याचविनर हुन् भने आरिफ पनि कठिन अवस्थामा टिकेर खेल्न सक्ने ब्याट्सम्यानका रुपमा चिनिन्छन् । अब नेपालको आशा यही जोडीमा टिकेको छ । यद्यपि, नेपालसँग अझै पनि गुल्शन झा र सन्दीप लामिछाने छन्, जो ब्याटबाट योगदान दिन सक्छन् ।
यो समाचार लेख्दासम्म नेपालले २२ ओभरमा ६ विकेट गुमाएर ८७ रन बनाएको छ ।