लुम्बिनीका मुख्यमन्त्री चौधरीको शपथ आज
कांग्रेस–माओवादीले टुंगाउन सकेनन्, साना ४ दलबाट आजै मन्त्री बन्ने
रुपन्देही । लुम्बिनी प्रदेशमा हिजो नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको शपथ आज हुँदैछ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
आज विहान साढे ११ बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ । मुख्यमन्त्रीसँगै मन्त्रीहरुको पनि शपथ गराउने तयारी गरिएपनि कांग्रेस र माओवादीबाट मन्त्रीको आकांक्षी धेरै र मन्त्रालय कम भएका कारण आज साना दलबाट सहभागी हुने मन्त्रीको मात्र शपथ हुने संभावना बढी छ ।
मिलेसम्म माओवादी र कांग्रेसबाट पनि एकएक जना सहभागी गराउने गरी तयारी गरिएपनि टुंगो लागेको छैन । गठबन्धन दलहरु बीच मन्त्रालय बाँडफाँडको विषय पनि सबै नटुंगिएकाले ढिलाई भएको नेताहरुको भनाइ छ ।भागबण्डा मिलाउन मन्त्रालय थप गर्ने योजनामा रहेका दलहरु सहमत भइसकेका छन् । भागवण्डाको लागि अहिले बिहान गठबन्धन दलको बैठक पुनः बस्ने तयारीमा छ ।
प्रदेश प्रमुख अमिक शेरचनले आज नै सबै मन्त्रीहरुको सपथ गराउने गरी तयारी गर्न दलहरुलाई आग्रह गरे पनि भागबण्डाको विषय नमिल्दा त्यो सम्भावना नदेखिएको कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए । गठबन्धन दलमा कांग्रेसले ४, माओवादीले ३ र साना दलले ४ मन्त्रालय राख्नेगरी करिब सहमति जुटेको भनिएपनि साना दललाई संख्या नपुगेकाले समस्या थपिएको हो ।
आज लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपाबाट एकएक जना मन्त्री बन्ने निश्चित भएको छ । लोसपाबाट सन्तोष पाण्डे, जसपाबाट भण्डारीलाल अहिर, जनमतबाट सिके गुप्ताको नाम गइसकेको छ भने उन्मुक्तिबाट नाम छनौट भएको छैन ।
प्रदेश प्रमुख शेरचनले विहीबार मुख्यमन्त्री चौधरीलाई नियुक्तिपछि बढाई ज्ञापन गर्दै पटकपटक शपथ ग्रहण गराउदा अनावश्यक खर्च बढ्ने हुँदा एकै पटक सबै मन्त्रीको सपथ गराउने गरी तयारी गर्न सुझाव दिएका थिए ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३र३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।
गत पुस २७ मा संविधानको धारा १६८ को २ अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन भएको हो । ८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको सरकारको विपक्षमा रहने भएका छन् ।