कोइरीलाई सभामुखले ‘बिरामी’ भन्दा संसदमा हंगामा, सुरुमा समर्थन गरेका रविको पछि विरोध (भिडिओ)
काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर संसदमा हंगामा भएको छ । सभामुख देवराज घिमिरेले अस्वस्थताका कारण संसदका १० वटा भन्दा बढी बैठकमा अनुपस्थित रहेका सांसदहरुमा कोइरीको नाम लिएपछि विवाद भएको हो ।
प्रनिधिसभाको पहिलो अधिवेशन अन्त्य हुने दिन आज सभामुखले अस्वस्थ सांसदहरुको विदा स्वीकृतिका लागि प्रस्ताव पेश गरेका थिए । त्यसमा कोइरीको पनि नाम थियो । सभामुखले सांसद कोइरी २०७९/१०/२५ देखि २०८०/०१/१५ सम्म संसद वैठकमा २१ पटक अनुपस्थित रहेको जानकारी दिए । उनीसहित सबैको अनुपस्थितिको सूचनालाई स्वीकृतिको लागि पेश गर्दा सुरुमा सबै सांसदहरुले यसलाई समर्थन गरे । त्यसपछि सभामुखले प्रस्ताव पास भएको घोषणा गरे ।
तर, सभामुखले घोषणा गर्दागर्दै माओवादी सांसद हितराज पाण्डेले हात उठाएर बोल्न समय मागेका थिए । उनले सांसद कोइरी बिरामी नभएर फरार भएको बताए ।
‘उहाँबाहेक अरुको मात्रै विदा स्वीकृति गरिने जानकारी गराउँछु,’ पाण्डेले भने । उनले बोलेसँगै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु कुर्सीबाट उठेर सभामुखसँग विरोध जनाएका थिए ।
रास्वपा सांसद रवि लामिछानेले सुरुमा टेबलमा ढ्यापढ्याप पार्दै सभाुमखको प्रस्तावमा समर्थन जनाएका थिए । तर, जसै माओवादी सांसद पाण्डेले विरोध जनाए, उनीसहितका रास्वपा संसदहरु कुर्सीबाट उठेर होहल्ला गर्न थाले ।
रास्वपाका रवि, नेपाली कांग्रेसका रामहरी पाण्डे, रमेश लेखकले बोल्न समय मागे । सभामुखले पाण्डेको कुरा आफूले जानकारीमा लिएको र यसलाई संविधान र प्रचलित कानून बमोजिम निरुपण गर्ने भनेर आश्वस्त पार्न खोजे । तर, सांसदहरु आसनमा बसेनन् । अन्ततः सभामुखले कांग्रेस सांसद लेखकलाई बोल्न समय दिए ।
लेखकले फौजदारी अभियोगका प्रतिवादीलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा बिरामी भनेर प्रस्ताव ल्याइनु हास्यास्पद भएको बताए ।
उनले भने, ‘उहाँविरुद्ध फौजदारी अभियोगमा मुद्दा अदालतमा छ । अदालतले उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । गृह मन्त्रालय प्रहरीले खोजी गरिरहेको छ । भेटिनुभएको छैन । भेटिनुभयो भने अदालतको आदेश बमोजिम थुनामा जानुपेर्न अवस्था छ । यस्तो स्थापित तथ्यका बारेमा पनि सभामुखबाट बिरामी हुनुहुन्छ भनेर प्रस्ताव पेश गर्नुभन्दा जगहँसाइ के होला ? कसरी प्रस्ताव आयो ? कसरी वाचन गर्न लगाइयो ? एकछिनका लागि हामी चुप लागौंला, तर मानिसले के भन्छन् ? प्रतिनिधिसभाका प्रतिनिधिहरु बसेर फरार अभियुक्तलाई बिरामी छ भनेर निर्णय गरेर घर गए भन्दैनन् ? यो अत्यन्त गम्भीर प्रश्न छ ।’
उनले कोइरीलाई अस्वस्थ भनिएको सभामुखको प्रस्ताव नै रेकर्डबाट हटाउन माग गरे ।
त्यसपछि सभामुखले बोल्नका लागि रास्वपाका लामिछानेलाई समय दिए । उनले आफू गृहमन्त्री हुँदा नै कोइरीको खोजी गरेको र उनी भारतमा रहेको सूचना आएको बताए ।
लामिछानेले भने, ‘यो मेरालागि पेचिलो विषय हो । यसलाई लिएर धेरै आलोचना खेपेको छु । गृहमन्त्री भएका बेला फरार अभियुक्तका रुपमा खोजी गरेका थियौं । खोजी गर्दा उनको सालोले भागेर भारतमा रहेको भनेर मलाई तस्वीर पठाएका थिए । उहाँ फरार अभियुक्त हो । एउटा फरार अभियुक्तलाई बिरामी करार गर्ने हो भने लोकतन्त्रका लागि योभन्दा मजाक केही हुँदैन ।’
नेमकिपाका सांसद प्रेम सुवालले चाहिँ कार्यव्यवस्था समितिमाथि प्रश्न उठाए ।
उनले भने, ‘फलानो मान्छेलाई फरार भनेर किन सभामुखलाई जानकारी दिएनन् ? यस विषयमा प्रधानमन्त्री, गृहमन्त्री र बिरामी भनेर परामर्श दिने कार्यव्यवस्था परामर्श समितिले जिम्मेवारी लिनुपर्छ ।’
विवाद बढ्दै जाँदा एमाले सांसद रघुजी पन्तले बोल्न समय मागे । उनले फरार अभियुक्तलाई बिरामी ठहर गर्ने पक्षमा आफ्नो पार्टी पनि नरहेको बताए । तर, उनले कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री र प्रधानमन्त्रीमाथि प्रश्न उठाए ।
‘गृहमन्त्री, प्रधानमन्त्रीको कुर्सीमा बस्ने अनि फरार छन् भनेर हुन्छ ? सिमानापारीका धेरै अपराधी गोप्यरुपमा प्रहरीले पक्रेर देशभित्र ल्याएको छ । पक्राउ गरेर ल्याएर थुन्न नसक्ने अनि समस्यालाई संसदमा धकेल्नु भनेको गाइजात्रा हो । सत्तापक्षले नै नियमावली विपरित संसद अवरुद्ध गर्न मिल्छ ? पक्रिन नसक्नेले नै संसद अवरुद्ध गर्ने तमासा गर्नु हुँदैन ।’
त्यसपछि आफू संविधान र कानूनबमोजिम चल्नेभन्दै सांसदहरुलाई बस्न आग्रह गरे । आफूलाई फरार हो होइन भन्ने आधिकारिक सूचना नआएको र बिरामीको सूचना आएकोमा त्यसलाई पेश गरेको स्पष्टीकरण दिए । तर, सांसदहरु नबसेपछि उनले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।