राष्ट्रपति रामचन्द्र पौडेलको ‘सादगी’ चित्रमा दुई महिनामै लागेका पाँच दाग ! – Nepal Press
टिप्पणी

राष्ट्रपति रामचन्द्र पौडेलको ‘सादगी’ चित्रमा दुई महिनामै लागेका पाँच दाग !

काठमाडौं । २०७९ फागुन २५ गते भएको राष्ट्रपति चुनावमा रामचन्द्र पौडेल विजयी भएर देशको तेस्रो राष्ट्र प्रमुख बने । पौडेलले फागुन २९ मा शपथ लिए । पौडेलको जीतको खबरदेखि शपथग्रहणसम्मको दिनमा देशका मूलधारका धेरै मिडियाले पौडेलको नाम अगाडि एक विशेषण जोडेर भने ‘सादगी’ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली बृहत् शब्दकोशको दशौं संस्करण २०७५ ले सादगीको यस्तो अर्थ लगाएको छ, ‘सादा हुनाको भाव, गुण वा अवस्था, सादापन, सरलता, निष्कपटता ।’

शब्दकोशले दिएको सागदीको अर्थ र मिडियाले दिएको सादगीको उपमा दुवै अहिले पौडेललाई दिन आवश्यक छ वा छैन भन्ने विवाद गर्न सकिने अवस्था आएको छ । हुन त नेपालका यस अगाडिका दुवै राष्ट्रपति आआफ्ना केही कदमका कारण विवादमै आएका थिए । तर, रामचन्द्र पौडेलको विवाद भने पदमा पुगेको दुई महिना कट्नुभन्दा अगाडि सुरु भएको छ । मिडियाले बनाइदिएको राष्ट्रपति पौडेलको सादगी मानकको चित्रमा अहिले दागैदाग लागेका छन् । यहाँ पाँच दागको चर्चा गरिएको छ-

१. सपथ अगाडि नै पशुपतिनाथ दर्शनमा देखिएको तामझाम

नेपालमा राजसंस्था अन्त्य गरेर बनेको कान्छो राजकीय पद हो राष्ट्रपति । राष्ट्रपतिमा नागरिकले साँच्चिकै सादगी अनुहार चाहेका छन् । राष्ट्रपतिको औपचारिक यात्रामा हुने झन्झट र तनाव भोग्न आम नागरिक चाहँदैनन् । तर, नेपालका राष्ट्रपतिले नागरिक मतको सम्मान गर्न सकिरहेका छैनन् । कथित प्रोटोकलको नाममा जनतालाई तनाव दिने मामिलामा पौडेल राष्ट्रपति चुनिएलगत्तै सक्रिय भए । फागुन २६ गते उनले शपथै लिएका थिएनन् । उनी आम नागरिकलाई असहज हुने गरी आलोचित शैलीमा पशुपति पुगे । पूजाआजा गरे । सादगी पौडेलको तस्बिरमा लागेको पहिलो दाग यही थियो ।

राष्ट्रपतिको शपथ अगाडिको पशुपतिनाथ यात्राको तामझामलाई बिर्साउन पौडेलले शपथग्रहणपछि कुमारी दर्शन गरेर चिर्न प्रयास गरे । उनले चैत ४ गते हनुमानढोकामा रहेको कुमारी घरमा सडक अवरुद्ध नगरी यात्रा गरे । त्यसमा भने उनले तारिफ पाए । मिडियामा उनको सकारात्मक कभर भयो । सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया आए । तर, उनै राष्ट्रपति पौडेलले सदनमा यात्रा गर्दा पुराना राष्ट्रपतिहरुले जस्तो सडकमा तामझाम गर्छन् वा गर्दैैनन् त्यो भने हेर्न बाँकी छ ।

२. सल्लाहकार नियुक्तिको भीडभाड

राष्ट्रपति नेपालको आलंकारिक पद हो । पदमा आवश्यक नियमित सचिवालयका सदस्यहरुबाहेकका थुप्रै अनुहारहरुको नियुक्ति पौडेलले गरेका छन् । कानूनी तथा संवैधानिकविज्ञ सल्लाहकारमा बाबुराम कुँवर, आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल, प्रेस सल्लाहकारमा किरण पोखरेल, राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा, परराष्ट्र सल्लाहकारमा सुरेश चालिसेलगायतको जम्बो सल्लाहकार टोली छ पौडेलको । पौडेलको सल्लाहकार नियुक्ति अनावश्यक भएको कुरा सदनमै पनि उठेको छ ।

आलंकारिक राष्ट्र प्रमुखले गरेको सल्लाहकार नियुक्तिमा सबैभन्दा राम्रो सवाल सांसद रघुजी पन्तले राखेका छन् । गत चैत १२ गतेको प्रतिनिधिसभा बैठकमा पन्तले भनेका थिए, ‘भारतमा राजेन्द्रप्रसाददेखि द्रौपदी मुर्मुसम्म आइपुग्दा १५ जना राष्ट्रपति भए । तर, कसैले पनि सल्लाहकार राखेको भेटिँदैन किनभने त्यो संसदीय व्यवस्था हो । संसदीय व्यवस्थामा राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री हो, क्याबिनेट हो ।’

यहाँ बुझ्नुपर्ने अर्को रोचक पक्ष यो छ कि राष्ट्रपतिको सल्लाहकारको भीड नबनाउने भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश हो । राज्यकोशको पैसा दोहन हुने सल्लाहकारको भीड नियुक्ति गर्ने नेपाल चैं विश्वका गरिब देशहरुमध्ये एक हो ।

३. राष्ट्रपतीय भवन दरबार जस्तै बनाउने प्रोटोकल

कुमारी घरमा यात्रा गर्दा पौडेलले सादगी देखिने प्रयास गरे । उनको सादगी प्रयासले अपांगता भएका पदकधारीलाई शीतलनिवासमा आफैं तल आएर पदक दिँदा निरन्तरता पायो । बैशाख १ गते पौडेलले अपांगता भएका व्यक्तिलाई आफ्नो ठाउँबाट ओर्लेर पदक दिएको भनेर सकारात्मक चर्चा भयो । पौडेल सचिवालयले त्यो तस्बिर मिडियामा बाँड्यो । आधिकारिक वेबसाइटमा समेत राखेको छ । तर, त्यो तस्बिरले जन्माएको प्रश्न अर्को पनि छ । अहिलेसम्म राष्ट्रपति भवन किन अपांगतामैत्री भएन ? पौडेलले यत्रो राजनीतिक जीवनमा अपांगमैत्री संरचना बनाउन के पहल गरे ?

पदक वितरणको दिन राष्ट्रपति भवन राजदरबार भएको अर्को दुःखद प्रसंग छ । त्यो हो, कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पदक पाइन् । छोरीले पदक पाएको प्रत्यक्ष हेर्न भनेर गोरखाबाट आएका बुबालाई भित्र छिर्न दिइएन । जनतालाई प्रोटोकलबाट असर नगरोस् भनेर प्रयास गरेका पौडेलको राष्ट्रपति भवनले यो मामिलामा राजदरबारको जस्तै कथित प्रोटोकल बनायो । सर्वसाधारण त परै जाओस्, पदकधारीका पितालाई समेत प्रवेश निषेध गरेर राजदरबारको झल्को राष्ट्रपति भवनले दिएको छ । भवन छिर्न नपाएका पिताको बारेमा आरोही श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘बुबालाई राष्ट्रपति र राष्ट्रपति भवन हेर्न निकै ठूलो इच्छा थियो । यसैको लागि भनेर आरुघाट, गोरखाबाट आउनुभयो । तर, मसँगै जानुभएको बुबालाई गेटबाट भित्र जान दिएन र निरास हुँदै फर्किनुभयो । यता पुरस्कार पाउँदा पनि मेरो मन भने अमिलो भयो ।’ यो पूर्णिमाको व्यक्तिगत पीडामात्रै होइन, पौडेलको सादगी चित्रमा लागेको दाग पनि हो ।

४. देशमै हुने उपचारमा महँगो विदेश यात्रा

नेपालमा नेताहरुको उपचारमा भएको करोडौं खर्चमा आम मान्छेको आक्रोश छ । नेपालमै उपचार गर्न नचाहने नेताहरुमा त झनै सार्वजनिक आक्रोश चुलिँदो छ । यही आक्रोशको आगोमा तेल थप्ने काम नेपालमै हुने उपचार गर्न पनि पौडेलले गरेको विदेश सयरले गरेको छ । पौडेलको उपचार के हुनुपर्ने हो, त्यो नेपालमा गर्न सकिन्थ्यो वा सकिँदैनथ्यो भन्नेमा कुनै जानकारी सार्वजनिक नगरी उनलाई ६२ लाख रकममा हवाईजहाज चार्टर गरेर बैशाख ६ गते भारत लगियो । यसमा धरानका मेयर हर्क साम्पाङले शुक्रबार उत्तेजक टिप्पणी गरे । उनले पौडेलको सम्पूर्ण खर्चमा दुई करोड बढी खर्च आउने उदाहरण दिँदै सामाजिक सञ्जालमा लेखे, ‘राजा फाल्नुको कारण यही मोज गर्न रहेछ ।’

यो आक्रोश हर्क साम्पाङको मात्रै होइन । आम मान्छेको हो । यस विषयमा लेखक सुजित मैनालीको टिप्पणी मनासिब छ । उनले सामाजिक सञ्जाल ट्विटरमा बुधबार लेखेका छन्, ‘शीतलनिवासले राष्ट्रपतिको स्वास्थ्यबारे अपडेट गराइरहेछ । राष्ट्रपति विदेशी अस्पतालमा भर्ना हुने गरी अस्वस्थ भएका हुन् भनी आममानिस रत्तिभर पनि आश्वस्त छैनन् । यसै त राजनीतिप्रति चरम वितृष्णा उत्पन्न भइरहेको बेला राष्ट्रपति उपचार प्रकरणले आगोमा घ्यू थपिरहेछ ।’ पौडेललको उपचार प्रकरण पनि उनको सादगी चित्रमा दाग लगाउने उदाहरण बनेको छ ।

५. बिरामी कुरुवालाई पनि डलरमा भत्ता

राष्ट्रपति पौडेलको उपचार देशमै सम्भव हुँदाहुँदै भारतमा लगेकोमा आलोचना छँदैछ । त्योभन्दा अर्को रोचक आलोचना चैं पौडेलसँग पुगेका बिरामी कुरुवाले पनि राज्य स्रोतबाट डलरमा भत्ता लिने प्रावधानमा रहेको छ । देशसञ्चार अनलाइनले यसबारेमा विभिन्न समाचारहरु बनाएको छ । बिरामी कुरुवाले २५० अमेरिकी डलर दैनिक भत्ता पाउने गरेका छन् । २५० अमेरिकी डलर भनेको अहिलेको एक डलरको १३० रुपैयाँको सटहीदरअनुसार ३२ हजार ५०० रुपैयाँ हुन आउँछ । यो रकम नेपालमा धेरै इलमीहरुले मासिक पाउने तलबभन्दा धेरै हो । यसले थप आक्रोश बढाएको छ ।

यसबारेमा पत्रकार तथा लेखक मनोज दाहालले गरेको टिप्पणी सान्दर्भिक छ । उनले बुधबार लेखेका छन्, ‘राष्ट्रपति उपचार गर्न विदेश जाँदा खर्च सरकारले व्यहोर्नुसम्म त ठीकै होला । तर, भ्रमणदलका सबै सदस्य (परिवारका सदस्य र बिरामी आफैंसहित)लाई २५० अमेरिकी डलरसम्मको दैनिक भत्ता त राज्यकोषमाथि सरासर लुट हो यार !’

दाहालले उठाएको यो मुद्दालाई गत १३ गते राष्ट्रपतिका सल्लाहकारले सार्वजनिक गरेको प्रेस विज्ञप्तिले भने ऐन–कानूनमै आधार भएको भनेर सदर गरेको छ । किरण पोखरेलले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग अलग व्यवस्था गरिएको प्रस्ट छ ।’

बेलाबेला राष्ट्रपतिले प्रोटोकलको व्यवधान हटाएर जनतासँग जोडिएको व्याख्या गर्ने सचिवालयले डलरमा लिएको बिरामी कुरुवाहरुको भत्तालाई भने ऐन-कानून जस्ता प्रोटोकलै टेकेर प्रतिरक्षा गर्ने अवस्था आएको छ । यो अलोकप्रिय प्रतिरक्षाको उदाहरणले त राष्ट्रपति पौडेलको सादगी चित्रमा सबैभन्दा ठूलो दाग लागेको छ ।


प्रतिक्रिया

One thought on “राष्ट्रपति रामचन्द्र पौडेलको ‘सादगी’ चित्रमा दुई महिनामै लागेका पाँच दाग !

Leave a Reply

Your email address will not be published. Required fields are marked *