प्रहरी समायोजन नहुँदा असुरक्षित रहेको मधेशका मुख्यमन्त्रीको गुनासो, भने- गोजीबाटै दुई पटक रुपैयाँ चोरी भयो (भिडिओ) – Nepal Press

प्रहरी समायोजन नहुँदा असुरक्षित रहेको मधेशका मुख्यमन्त्रीको गुनासो, भने- गोजीबाटै दुई पटक रुपैयाँ चोरी भयो (भिडिओ)

जनकपुरधाम । मधेसका मुख्यमन्त्री सरोज कुमार यादवले प्रहरी समायोजन नहुँदा आफै असुरक्षित बनेको गुनासो गरेका छन् ।

मिटर ब्याज पीडितको समस्या समाधान गर्न गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय समुद्घाटन समारोहमा मुख्यमन्त्री यादवले गृहमन्त्री नारायणकाजी श्रेष्ठ अगाडी नै आफै असुरक्षित बनेको गुनासो पोखे ।

मुख्यमन्त्री यादवले सभामुख हुँदा गृह जिल्ला गएको बेला गोजी नै काटेर ५० हजार रुपैयाँ चोरी भएको सुनाए । उनले भने, ‘अस्ति अध्यक्ष उपेन्द्र यादवको विजयी जुलुसमा गएको थिए । त्यो दिन पनि मेरो गोजीबाटै रुपैयाँ चोरी भयो ।’

उनले प्रश्न गरे, ‘जहाँ मुख्यमन्त्री र मन्त्रीहरू नै असुरक्षित छन् भने जनता कसरी सुरक्षित हुन्छन् ?’ उनले प्रहरी समायोजन नहुँदा प्रदेशका जनता असुरक्षित बनेको र भ्रष्टाचार मौलाउँदै गएको बताए ।

प्रहरी समायोजन नभएकाले मिटर ब्याज पीडितहरू पनि न्याय नपाएको उनले बताए । उनले कर्मचारी र प्रहरी समायोजन भयो भने २४ घण्टामै सबै पीडितलाई न्याय दिने पनि दाबी गरे ।

उनले अहिले प्रदेशमा रहेका प्रहरी प्रदेशका गृहमन्त्रीसँग समेत सहकार्य र समन्वय नगर्ने गरेको बताए । ‘प्रदेशमा कुनै घटना घट्यो भने यहाँका मुख्यमन्त्रीलाई समेत थाहा हुँदैन’, उनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर