देशभरका विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरिसकेका छन् : शिक्षा मन्त्रालय – Nepal Press

देशभरका विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरिसकेका छन् : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जानकारी गराइएको हो ।

वैशाख दास्रो हप्तासम्म आइपुग्दा देशभरका सबै विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरिसकेका मन्त्रालयका सह–सचिव तथा प्रवक्ता दीपक शर्माले बताए ।

यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६-१० को लागि १ करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाहरुबाट कक्षा १–५ को लागि १ करोड १८ लाख थान पाठ्यपुस्तक छपाई गरी ७७ वटै जिल्लाका सूचीकृत १ हजार २६७ स्थानीय विक्रेताहरुमार्फत बिक्री वितरण भइरहेको उनले बताए ।

उनले पाठ्यपुस्तक नपुगेको ठाउँमा सम्पर्क भएको मितिले २ दिनभित्र सबैभन्दा नजिकको विक्रेता तथा पुस्तक पसलमार्फत पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

उनले ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा २०८० साल वैशाख २ गतेदेखि देशभरका विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान जारी रहेको उल्लेख गरे ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता शर्माले काठमाडौं महानगरपालिकाले विद्यालयको नामाकरणको सम्बन्धमा गरेको पछिल्लो निर्णय महानगरपालिकाको अधिकारको विषय भएको बताए । उनले स्थानीय तहले विद्यालयको नाम परिवर्तन गर्न, विद्यालय गाम्भ, स्थानान्तरण गर्न र आवश्यक परेमा बन्द पनि गराउन सक्ने बताए ।

‘स्थानीय तहले विद्यालयको नाम परिवर्तन गर्नसक्छ । विद्यालय गाभ्नसक्छ । स्थानान्तरण गर्नसक्छ । भनेको टेरेन भने बन्द गर्न पनि सक्छ । ति विद्यालयहरु कुनै समय खोलिदाखेरी अनुमति नलिइकन खोलेका विद्यालय होइनन् । अनुमति लिएर खोलेका त्यतिखेरको नाम राख्दाखेरी अन्तर्राष्ट्रिय मात्र छैन अरु विभिन्न किसिमका नामहरु छन्’, उनले भने, ‘ति एउटा प्रक्रियासँगले नेपाली परम्परा सुहाउँदो नाम राखौँ । अन्तर्राष्ट्रिय भन्ने हो भने अन्तर्राष्ट्रिय विद्यार्थीपनि हुनुपर्यो भन्ने मान्यतामा त्यो आएको हो । महानगरले गरेको विषय चाहीँ हामीले डिटेल हेरेका छैनौँ ।’

उनले काठमाडौं महानगरपालिकाको निर्णयको आधिकारिकता भने मन्त्रालयमा आइनसकेको स्पष्ट पारे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर