मर्यादाक्रममा सिडिओभन्दा तल राखेपछि मेयर–उपमेयरद्वारा कार्यक्रम बहिष्कार – Nepal Press

मर्यादाक्रममा सिडिओभन्दा तल राखेपछि मेयर–उपमेयरद्वारा कार्यक्रम बहिष्कार

रूपन्देही । प्रमुख जिल्ला अधिकारी (सिडिओ)भन्दा तलको मर्यादक्रममा राखेपछि तिलोत्तमा नगरपालिकाका मेयर र बुटवल उपमहानगरकी उपमेयरले कार्यक्रम बहिष्कार गरेका छन् । उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा सरकारले तय गरेको मर्यादाक्रम भन्दा आफूहरुलाई तल राखिएको भन्दै उनीहरुले कार्यक्रम नै बहिष्कार गरेका हुन् ।

बिहीबार आयोजित पदस्थापन कार्यक्रममा अतिथिका रुपमा निम्त्याइएका तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरे र बुटवल उपमहानगरपालिका उप–प्रमुख गोमादेवी आचार्यले कार्यक्रम बहिष्कार गरेका हुन् ।

आयोजकले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई प्रमुख अतिथिको रुपमा निम्याएको थियो भने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा ईश्वर गौतम, बुटवल उपमहानगरपालिका प्रमुख र तिलोत्तमा नगरपालिकाका प्रमुखलाई विशिष्ट अतिथिको रुपमा आशन ग्रहण गराएको थियो ।

कार्यक्रम सञ्चालकले आशन ग्रहण गराउन सुरु गर्नासाथ बुटवल उपमहानगरपालिकाको प्रतिनिधित्व गरेर कार्यक्रममा सहभागी हुन पुगेकी उपप्रमुख आचार्य मञ्चतिर नगइ कार्यक्रमस्थलबाट बाहिर निस्किइन् भने तिलोत्तमा नगरपालिका प्रमुख घिमिरे मञ्चमा पुगे पनि बसेनन् ।

‘सरकारले मर्यादाक्रम जारी गरेको छ तर वहाँ हरुले अपमान गर्ने उदेश्यका साथ नगरप्रमुख उपप्रमुख भन्दा तलको मर्यादाक्रममा रहेका प्रमुख जिल्ला अधिकारीलाई प्रमुख अतिथिको रुपमा आशनग्रहण गराएर हामीलाई अपमान गरियो त्यसैले बसिएन’, तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले भने, ‘ बुटवल उद्योग बाणिज्य संघले अपमान गर्ने उद्देश्य राखेको देखियो , पत्र पठाउदा प्रमुख अतिथिको नाम उल्लेख गरिएको थिएन ।’

बुटवल उपमहानगरपालिका उपप्रमुख आचार्यले आयोजकले जनप्रतिनिधिको अपमान गरेर राजनीति गर्न खोजेको बताइन् । ‘म कार्यक्रममा समयमै पुगेकी थिएँ । आयोजकले अनजानमा गरेको भुल भए ठीकै थियो, नियतवस गरेको प्रष्ट भयो । त्यसैले कार्यक्रममा बस्न उपयुक्त लागेन छोडेर हिंडे’ उनले भनिन् । नगरप्रमुख घिमिरे र उपप्रमुख आचार्य आयोजकले तय गरेको समयमै कार्यक्रमस्थल पुगेका थिए ।

आयोजकले प्रमुख अतिथिका रुपमा कार्यक्रम स्थलमा प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्न ढोकामा पर्खिरहेका बेला नगर प्रमुख घिमिरे र उपप्रमुख आचार्य कार्यक्रम स्थलभित्र कार्यक्रम सुरु हुने प्रतीक्षामा बसिरहेका थिए ।

सरकारले पछिल्लोपटक सार्वजनिक गरेको मर्यादाक्रममा प्रमुख जिल्ला अधिकारीलाई गाउँ पालिका प्रमुख भन्दा तल राखिएको छ ।

आयोजक बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमालले संघको कसैलाई अपमान गर्ने उद्देश्य नभएको र प्रमुख अतिथिको रुपमा उद्योग बाणिज्य महासंघका वरिस्ठ उपाध्यक्ष चण्डीराज ढकाललाई निम्ता गरिएको र अन्तिम समयमा उहाँ नआएकोले तलमाथि हुन गएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर