केपी ओलीले डायल गरिरहेको ‘रङ नम्बर’
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाएक पूर्वराजसंस्थाविरुद्ध अस्वाभाविक उत्तेजना देखाउन थालेका छन् । पछिल्ला केही भाषणमा उनले पूर्वराजा र उनको परिवारलाई तानेर दिएका अभिव्यक्ति असान्दर्भिकमात्र होइन, अनुचितसमेत छन् ।
ओली अहिले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता हुन् । उनको दल नेकपा एमाले कोशी प्रदेश सरकारबाहेक सबैतिर विपक्षी कित्तामा धकेलिएको छ । तर, ओलीका पछिल्ला अभिव्यक्तिमा प्रतिपक्षीभन्दा सत्ताधारी दलकै नेताको भाव आउँछ ।
उनको बोलीले मिडिया मसला बने पनि जनमानसमा सकारात्मक प्रभाव छोड्न सकिरहेको छैन । खासगरी पूर्वराजपरिवारविरुद्ध अनावश्यक र अतार्किक रुपमा खनिँदा उनको लोकप्रियतामै आघात पर्न थालेको छ ।
विपक्षी दलका नेता कि सत्ताका रक्षाकवच ?
ओली विपक्षी दलका नेता हुन् । तर, सरकारको बचाउ गर्दै आन्दोलनकारी र पूर्वराजपरिवारविरुद्ध सत्ताको रक्षाकवच बनेर हिँडेका छन् । यसले प्रचण्डलाई त हाइसञ्चो नै भएको छ । हिजो मधेस आन्दोलनका बेला पनि ओली विपक्षमा थिए । तर, आन्दोलनकारीका बारेमा बोलेर मधेसवादीको तारो एमालेलाई बनाए । सत्तामा बस्ने कांग्रेस-माओवादीले आन्दोलनमा दमन गर्दा पनि गाली ओलीले पाए ।
प्रमुख प्रतिपक्षी दलको रुपमा बोल्नलाई धेरै जन-जनका मुद्दा छन् ओलीका । विगत ६० वर्षमा पहिलोपटक नेपालमा आर्थिक मन्दी छाएका समाचारहरु आएका छन् । माओवादी युद्धकालदेखि कोभिडको समयसम्ममा नआएको आर्थिक मन्दी अहिले आएको छ । ओलीले त्यो मुद्दामा मौनता साँधेका छन् ।
महावीर पुन जस्ता अनुसन्धानकर्मी सडकमा सुत्न बाध्य भइरहेका छन् । ओलीले उनको मुद्दामा पनि बोल्न चाहेका छैनन् । भारत भ्रमणमा जान मरिहत्ते गरेका प्रधानमन्त्री प्रचण्डले भारतको निम्तो नै पाएका छैनन् । चीनले बोआओ फोरम फर एसियाको मञ्चमा बोलाएको निम्तो अस्वीकार गरेर भारतको निम्तोको प्रतीक्षामा रहेका प्रचण्डप्रति ओलीको कटाक्ष सुनिएको छैन ।
शेयर बजारमा एउटा स्टक एक्सचेन्स हुँदाहुँदै नयाँ ल्याएर निश्चित स्वार्थ समूह पोस्ने काम भएको छ । सदनमै कुरा उठेको छ । ओलीको ध्यान यतापट्टि पनि छैन ।
मुद्दा कति छन् कति !
मूल्यवृद्धिले जनताको ढाड सेकेको छ । शिक्षक तथा कर्मचारीको तलब र पेन्सन दिनसमेत राज्यलाई धौधौ परिरहेको छ । सामाजिक सुरक्षा भत्ता कटौतीका कुरा आएका छन् । यही समयमा राष्ट्रपतिले जम्बो सल्लाहकार नियुक्ति गर्नेदेखि नेपालमै उपचार हुन सक्ने रोगमा विदेश गएर राज्यकोष दोहन गरे ।
प्रधानमन्त्रीले पूर्वलडाकुलाई साढे दुई अर्बभन्दा बढी रकम बाँड्ने तयारी गरेका छन् । स्वयं सत्ताधारी दलबाट व्यापक विरोध भइरहेको छ । तर, ओलीको बक फुटेको छैन । यद्यपि एमालेका अरु नेताले विरोध गरेका छन् ।
जनतालाई छुनसक्ने ज्वलन्त मुद्दाहरूमा यसरी मौनता साँधिरहेका ओलीले आफ्नो मुख्य निशाना त्यो ‘दरबार’ लाई बनाइरहेका छन्, जुन अस्तित्वमै छैन । मरेको बाघको जुँगा उखेले जसरी चिहानमा दफन भइसकेको राजसंस्थालाई ठूल्ठूलो स्वरले लल्कारेर जगहँसाइ गरिरहेका छन् ओली ।
एउटा आमनागरिकको हैसियतमा रहेका पूर्वराजा र उनको परिवारमाथि यसरी फायर खोल्नु ओलीको बहादुरी होइन । उनले दिएका अभिव्यक्तिहरु कति अलोकप्रिय छन् भन्ने त सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु हेर्दा नै थाहा हुन्छ । सधैं उनको भक्तिगान गरेर नथाक्ने कार्यकर्ताहरुसमेत यसपालि दिक्क भएका देखिन्छन् । केहीले सामाजिक सञ्जालमा प्रदीप ज्ञवालीदेखि विष्णु रिमालसम्मलाई मेन्सन गरेर सार्वजनिक आलोचनासमेत गरेका छन् ।
आखिर किन यसरी लगातार ‘रङ नम्बर’ डायल गरिरहेका छन् ओली ? के यो उपचुनावमा प्राप्त निराशालाई विषयान्तर गर्ने प्रयासमात्रै हो ? हो भने त्यो ओलीका निम्तिमात्र नभएर सिंगो एमालेका लागि महँगो पर्नसक्छ ।
पछिल्लो एक सातामा ओलीले बोलेका कुराहरुलाई नियालौंः
फेक अकाउन्टको ट्विटमाथि रियल आक्रोश
पछिल्लो समयमा केपी ओलीलाई झापा यात्राको क्रममा गाडीमा ढुंगा प्रहार भयो । त्यही विषयलाई लिएर पूर्वयुवराज्ञी हिमानी शाहको नाममा खुलेको नक्कली आईडीमा लेखिएको ट्विटलाई लिएर उनी गर्जिए । हिमानी शाहको नामको नक्कली अकाउन्टमा लेखिएको थियो, ‘झापामा केपी ओलीको गाडीमाथि ढुंगामुढा गर्दै जनताले कालो झण्डा देखाएका छन् ।’
नेपाली हिज्जेमात्रै होइन भाषा पनि सही थिएन त्यो ट्विटमा । फेरि अर्को कुरा, हिमानीले समसामयिक वा राजनीतिक मुद्दामा कहिल्यै टिप्पणी गर्ने गरेकी छैनन् । त्यसमाथि कुनै अमूक नेताविरुद्ध उनले यसरी सार्वजनिक टिप्पणी गर्ने कुरा असम्भव नै छ । सामाजिक सञ्जालमा सधैं अपडेटेड ओलीले त्यो ट्विट सक्कली होइन भन्ने सहजै छुट्याउन सक्थे । तर, सम्भवतः अरुले सुनाइदिएको कुरामा विश्वास गरेर उनले अन्धाधुन्ध बोलिदिए ।
एकदम आक्रोशित भएर उनले भनेका थिए-
‘यो कुराको लहरो कहाँ कहाँ छ भनेर प्रकट भइहाल्छ । ज्ञानेन्द्र शाह, उसका परिवार, उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हान्या देखिन् । अनि ट्विट गरीगरीकन जनताले केपी ओलीलाई ढुंगा हाने । मैले यसको जवाफ दिनु नपरोस्, ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर । बढ्दा फुरफुर गर्ने होइन । हामीले धेरै हिसाबकिताब नगरेर छोड्या छौं । हाम्रा साथीहरुलाई जेलबाट बाहिर निकालेर ड्याङ ड्याङ गोली हानेर मार्दा छोड्या छौं । चमैतामा गोली हानेर मार्दा छोड्या छौं । अनेक हिसाबकिताब गरेका छैनौं । अनेक हिसाबकिताब । म भन्दैछु अनेक हिसाबकिताब गर्या छैनौं । हामी सहनशील भएका हौं । हिसाबकिताब गर्न सुरु गर्नु नपरोस् । छोराबुहारी धेरै अगाडि सारेर फुरफुर नगर, म चेतावनी दिन्छु ।’
साँच्चै फेकलाई रियल भनेर सचिवालय वा आसपासका विश्वासिलाले गलत सूचना दिएको हो भने पनि अब फेक भएको सार्वजनिक भइसकेको छ । देशको पूर्वप्रधानमन्त्री जस्तो व्यक्ति झुक्किएको भनेर होला पूर्वराजाको सचिवालयले सार्वजनिक रुपमै विज्ञप्ति निकालिसकेको छ । तर पनि ओलीले आफ्नो बोली सच्याएर क्षमायाचना गरेका छैनन् । न उनको सचिवालयले कुनै प्रस्टीकरण दिएको छ ।
आफूमाथि आक्रमणको दोष पनि पूर्वराजालाई
केपी ओलीले आफूमाथिको आक्रमणमा पूर्वराजपरिवारको नाम जोडेपछि प्रधानमन्त्री प्रचण्डलाई हाइसञ्चो भएको छ । उनले सोमबार ओलीको बोलीमा लोली मिलाउँदै पूर्वबाट सामन्तीका स्यालहरु बस्न थालेको टिप्पणी गरे । विपक्षी दलको नेताले प्रश्न सत्तासँग गर्नुपर्नेमा पूर्वराजातिर सोझ्याएपछि प्रधानमन्त्रीलाई त हाइसञ्चो नै भयो ।
सत्तासँग प्रहरी छ । सशस्त्र बल छ । सेना छ । गुप्तचरी संयन्त्र छ । सूचना छ । झन्डै दर्जन दलहरुको जम्बोरी गठबन्धन भएकाले उनीहरुको तामझाम ठूलै छ । ओलीमाथि झापामा भएको हमला प्रयासमा राज्यसत्ताकै कमजोरी हो । विपक्षी दलको नेताको सुरक्षाको जिम्मा सरकारको हो ।
राज्यको सुरक्षा निकायलाई चुनौती दिने र पूर्वप्रधानमन्त्रीको जिउधनको रक्षामा असर गर्ने खालको प्रहार सामान्य होइन । यसमा गृहमन्त्री, प्रधानमन्त्री र सरकारलाई प्रश्न उठाउन सकिन्छ । अहिले कोशी प्रदेश हुनुहुन्न भन्ने आन्दोलनमा लागेका कार्यकर्तामा सत्ताधारी गठबन्धनका मुख्य तीन दलहरु माओवादी, समाजवादी र जसपा हुन् ।
यो विषय पूर्वसञ्चारमन्त्री तथा अहिलेका प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले सदनमा उठाइसकेका छन् । उनले ओलीमाथि हुनसक्ने प्रहारको सूचना सरकारलाई अग्रिम दिए पनि ध्यान नदिएको भन्दै सरकार र गृहमन्त्रीको गैरजिम्मेवारीपनको आलोचना गरिसकेका छन् र त्यो संसदको रेकर्डमा छ ।
यता ओली आफैंले चाहिँ आफूमाथिको आक्रमण प्रयासमा पनि पूर्वराजा र उनको परिवारलाई जोडिदिएर हचुवा टिप्पणी गरेका छन् । उनले एउटा भाषणमा माधव र प्रचण्डका कार्यकर्ताहरुले ढुंगा हानेको आरोप लगाए । त्यतिसम्म ठीकै थियो । तर, अर्को भाषणमा अपत्यारिलो रुपमा पूर्वराजसंस्थालार्ई मुछ्न पुगे । कुनै तथ्य, प्रमाणविनै ओलीले आफूमाथि पूर्वराजा र उनको परिवारले आक्रमण गराएको लाञ्छना लगाए । दरबारियाले आफूमाथि छौंडा खेलाएको टिप्पणीसमेत गरे ।
हालै अखिल नेपाल किसान महासंघको एक कार्यक्रममा ओलीले पूर्वराजा परिवारलाई जोडेर यस्तो अभिव्यक्ति दिएका थिए-
‘हामीले तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा कार्यक्रम गरेका थियौं । अलिअलि सुन्नु पनि भयो होला । जाँदै गर्दा बीचमा केही गुण्डा जस्ता अराजनीतिक व्यक्तिले हमला गर्ने प्रयास गरे । पहिचानको राजनीति भनेर ढुंगामुढा गरे । (यसमा) संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको देखिया छ । यो अनेकमार्फत देखिया छ । भित्रभित्र चलाउनेलाई म छौंडा खेलाउने भन्ने गर्छु । यिनीहरुले, पूर्वदरवारियाहरुले छौंडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन् ।’
सत्ता र शक्तिविहीन पूर्वराजा ज्ञानेन्द्र परिवारलाई र समर्थकलाई ओलीले आरोप लगाएर सत्ताधारीलाई हाइसञ्चो गरिदिएका छन् । उनको आलोचना हेर्दा यस्तो लाग्छ, प्रदेश १ को नाम कोशी राखिएकोमा पहिचानवादी होइन, राजावादीलाई बढी आक्रोश छ । यो नितान्त बेवकुफी तर्क हो । यथार्थ यो हो कि राजावादीहरु पहिचानवादीहरुले भनेका लिम्बूवान तथा किराँत जस्ता जातीय नामकरणको पक्षमा छैनन् । आफ्नो हुँदै नभएको मुद्दामा राजावादीले ओलीलाई किन ढुंगा हान्लान् ?
ल ठीकै छ, राजावादीले धमिलो पानीमा माछा मार्न पहिचानवादीको जुलुसमा पसेर ढुंगो हानेछन् भने पनि ओलीले प्रश्न सरकारलाई गर्ने हो । उनले प्रहारको निशाना कता साँध्नेसम्म पनि भेउ नपाएको हो ? यदि पूर्वराजपरिवारले व्यवस्था उल्ट्याउन लागेको सूचना ओलीसम्म पुगेको भए उनले यसबारे सरकारको नेतृत्वलाई जानकारी दिन सक्छन् ।
ओलीले राजावादीको आलोचना गर्ने नाममा अर्को बेप्रसंगको तर्क निकाले । किसान महासंघकै कार्यक्रममा उनले ‘राजतन्त्र फटाहा, स्वार्थी र बुद्धि नभएकाले मात्रै मान्ने’ टिप्पणी गरे । ओलीले भनेका छन्, ‘राजतन्त्र कि स्वार्थी, फटाहाले मान्छ कि मूर्खले मान्छ । कोहीकोही अज्ञानीले पनि मान्छ । एकथरि अज्ञानी हुन्छन् केही पनि बुझ्दैनन् । त्यही भएर मान्छन् । अर्कोथरि स्वार्थ साधना गर्न मान्छन् । दलाल र बुद्धि नभएकाहरुले मान्छन्, जन्मिँदै यस्तो हुनुपर्छ भनेर ।’
कुनै पनि देशमा अनेक ‘वाद’ मान्ने मानिसहरु हुन सक्छन् । प्रजातन्त्रले सबै विचारलाई सम्मान गर्छ र गर्नुपर्छ । कुनै पनि विचारलाई निषेध गर्नु, घृणा गर्नु लोकतन्त्रको सौन्दर्य होइन । ओलीले आफ्नो विचारको जति पनि वकालत गर्न पाउँछन् । गणतन्त्रको पक्षमा जति पनि बोल्न उनलाई छुट छ । तर, फरक विचार मान्नेलाई दुत्कार्नुले उनको राजनीतिक उचाइ बढ्दैन । उनले आफूलाई गणतन्त्रवादी देखाउन राजावादीलाई गालीगलौज गरिरहनु पर्दैन ।
सात दल र माओवादीबीच भएको १२बुँदै सम्झौता नेपालमा गणतन्त्रको जग हाल्ने मुख्य दस्तावेज हो । त्यो दस्तावेजका दुई मस्यौदाकार आफू र ओली भएको बाबुराम भट्टराईले सूर्यबहादुर थापाको किताब ‘मेरा नौ दशक’ पुस्तक लाेकार्पणमा बताएका छन् ।
ओलीकी धर्मपत्नी राधिका शाक्यले पनि आफ्नै पुस्तक ‘मेरा अनुभूति’ मा २०६२ मा १२बुँदे सम्झौता हुँदा ओली दुई महिना दिल्ली बसेको उल्लेख गरेकी छन् । गणतन्त्रको प्रस्थान विन्दुको मस्यौदाकारका एक सदस्य, २०३० असोज २३ गते रौतहटमा पक्राउ परेर २०४४ असार ११ गतेसम्म राजतन्त्रकालमै बन्दी बनेका अनुहारदेखि जनआन्दोलन हाँकेको दलका नेता ओलीलाई गणतन्त्रवादी प्रमाणित गर्न यस्तो मेहनत आवश्यक नै छैन ।
अहिले बेमौसममा पूर्वराजालाई पटकपटक लाञ्छना लगाउनुले उनकै राजनीतिक छवि कमजोर बनाइरहेको छ । फेरि गणतन्त्र आएको डेढ दशकमा सकिएको राजतन्त्रलाई लिएर सार्वजनिक मञ्चमा बोल्दा पब्लिकले पत्याउने अवस्था पनि छैन ।
ओली अभिव्यक्तिकै कारण एमालेको कोशी सरकारलाई सकस !
सात वटा प्रदेश सरकारमध्ये एमाले टिकेको कोशीमात्रै हो । कोशी प्रदेश नामकरणमा एमाले, कांग्रेस, माओवादी जस्ता प्रमुख तीन दलको मिल्ती छ । एमालेका हिक्मत कार्कीले मुख्यमन्त्री भएर, कांग्रेसका उद्धव थापा प्रमुख प्रतिपक्षी दलका नेता भएर र माओवादीका नेता बाबुराम गौतमले सभामुख भएर तथा माओवादी नेता इन्द्र आङ्बोले माओवादीको संसदीय दलको नेता भएर गरेको समन्वयकै कारण प्रदेश १ को नामकरण सम्भव भएको हो ।
फागुन १७ गते भएको नामकरणको दिन ८६ जना सहभागी भएको मतदानमा ८२ ले पक्षमा मत दिएका थिए । ४ जनाले विपक्षमा । तर, अहिले प्रदेश नामकरणमा ओली र एमालेको मात्रै हात भएको जस्तै सन्देश माओवादी तथा समाजवादीले फैलाएका छन् । त्यो सन्देशमा बल पुग्ने गरी ओलीले धाराप्रवाह अभिव्यक्ति दिइरहेका छन् ।
पहिचानवादीहरुको आन्दोलनको तारो पहिचान पक्षधरको राजनीति गरेको दाबी गर्ने माओवादी हुनुपर्ने हो । तर, भइरहेको छ एमाले । यसमा ओलीको प्रतिक्रियाले आगोमा तेल थप्ने काम गरेको छ ।
कोशीमा राप्रपाका कारण एमालेको सरकार टिकेको छ र राप्रपाले साथ दिएसम्म टिक्ने अवस्था छ । तर, राजावादीविरुद्ध मनपरी बोलेर राप्रपा चिढ्याउने र भएको एउटा सरकार पनि आफ्नै कारण गुमाउने अवस्था ओलीले नै सिर्जना गर्दैछन् । ओलीका कारण हिक्मत कार्की कोपभाजनमा पर्ने अवस्था छ ।
हिक्मत कार्कीले परिपक्व र जिम्मेवार नेताको भूमिका देखाए । तर, ओली हिक्मत जति परिपक्व, जिम्मेवार र दूरदर्शी देखिएनन् । ओलीले संयम र धैर्य नलिई रङ नम्बर डायल गरिरहँदा एमालेले थप क्षति व्यहोर्ने र थप एक्लिने सम्भावना देखिन्छ ।
ओली जतिको नेताले राष्ट्रिय महत्वको विषयमा संसदमा बोले हुन्छ । पूर्वराजाले व्यवस्थाविरुद्ध गतिविधि गरेको हो भने संसदबाटै सरकारको ध्यानाकर्षण गराउन सकिन्छ । विपक्षी दलको नेतालाई संसदको रोष्टम जहिले पनि खुला छ र समयको पाबन्दी पनि हुन्न ।
पार्टीका भ्रातृ संगठनका सानातिना कार्यक्रममा पनि आफैं उपस्थित भएर घन्टौं रङ नम्बर डायल गर्दा उनको ओज घट्ने र लोकप्रियता ओरालो लाग्नमात्र हो । बरु केही समय सार्वजनिक रुपमा भाषणबाजी नगरी भित्री रणनीति बनाउने, विभिन्न क्षेत्रका विज्ञ र युवा पुस्ताका इनोभेटरहरुलाई बोलाएर पार्टीलाई बलियो बनाउनेबारे राय सुझावहरु लिँदा फाइदा हुनेछ ।
पत्रकार महाेदयकाे विश्लेषण खासै दमदार देखिएन,हिमानीकाे फेक आईडि भए उनीबाट अहिलेसम्म किन आधिकारिक खण्डन आएन त ?
लेखकको निकै राम्रो लेख। केपी ओली, अध्ययनशील तर निकै तुच्छ र आडम्बरी नेता हुन्। अहिले राजामाथि ओकलीरहेको विष उनको लागि कुनै दिन भारी हुनेछ। राजसंस्था स्थापना नभई सुखै छैन।
Bhim g – तपाई को अध्यन गर्नी बानी छैन जस्तों छ- धेरै पहिले आईसक्यों-
बालाई अझैं अगाडि बढन दिनुपर्छ ।