५० जनाभन्दा बढीको पार्टी परित्यागले पर्वत कांग्रेसमा बज्यो ‘घण्टी’, रास्वपामा समाहित हुन छलफल चल्दै – Nepal Press

५० जनाभन्दा बढीको पार्टी परित्यागले पर्वत कांग्रेसमा बज्यो ‘घण्टी’, रास्वपामा समाहित हुन छलफल चल्दै

पोखरा । नेपाली कांग्रेस पर्वतको सभापतिका प्रत्यासीसहित ३१ जनाले वैशाख १३ गते पार्टी परित्याग गरे । कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभाापतिको प्रत्यासी मिलन सुवेदी नेतृत्वमा फलेवास नगरपालिकाका सचिव सागर भुसालसहितले पार्टी छाडेका थिए । त्यसो त प्रदेशसभा निर्वाचनमा पर्वत ‘क’ मा कांग्रेसबाट उम्मेदवार बनेका कमलराज पौडेल पनि सुवेदीसहित पार्टी छाड्नेको सूचीमा छन् ।

उनीहरूले पार्टी छाडेको वैशाख १३ त्यही दिन हो, जसको एकदिनअघिमात्रै तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको नतिजा आएको छ । जहाँ, कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डा स्वर्णिम वाग्ले विजयी भएका थिए ।

सुवेदी, पौडेल र जिल्ला कार्यसमिति सदस्य किसान थापाकै पदचाप पछ्याउँदै ४ दिनपछि कांग्रेस पर्वतका क्षेत्रीय सचिव ठाकुर रसाइलीले पार्टी परित्याग गरे । १४औं महाधिवेशनबाट क्षेत्रीय सचिवमा निर्वाचित भएका रसाइलीले सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसको साधारण सदस्यसमेत नरहने निधो गरे ।

पछिल्लो समय पार्टीभित्र गुटबन्दी तथा द्वन्द्व बढेको तर त्यसको रचनात्मक व्यवस्थापन हुन नसकेको रसाइली बताउँछन् ।

‘जनअपेक्षासहितका काम गरी आशा भरोसा दिलाउने सवालमा समेत जिम्मेवार पदमा रहेर पनि केही गर्न नसकिने अवस्था बनेकाले कांग्रेस परित्याग गरेँ,’ उनले भने ।

अहिले कांग्रेस पर्वतमा पार्टी परित्यागको लहरै चलेको छ । कार्यकर्ताले तनहुँ १ र चितवन २ को उपनिर्वाचनमा समानुपातिकतर्फ आएको मत पनि जोगाउन नसक्दा आलोचित बनेका कांग्रेस परित्यागको लहर चलाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले उपचुनावको परिणामपछि ठूला पार्टीहरूप्रति जनताले चासो नदेखाएको र पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता देखिएको बताउँदै गर्दा पर्वतबाट कांग्रेसमा खतराको घण्टी बजेको हो । एक हप्तामा मात्रै कांग्रेस पर्वतका ५० भन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । कांग्रेस परित्याग गर्नेमा जिल्ला सभापतिका प्रत्यासीदेखि जिल्ला समिति सदस्यसमेत छन् ।

कांग्रेस पर्वतले भने अवसरवादीले छोड्दैमा पार्टीलाई फरक नपर्ने दाबी गरेको छ । अवसरवादीले मात्रै पार्टी परित्याग गरेको कांग्रेस पर्वतका सभापति युवराज जोशीले बताए । ‘धेरै त अवसरवादीहरुले पार्टी परित्याग गरेका छन्, घन्टीको नयाँ लहर आएको बेला केही अवसर लिन पाइन्छ कि भनेर कांग्रेस परित्याग गरेका हुन्,’ उनले भने, ‘केही मान्छे इमान्दार पनि छन्, उनीहरु कांग्रेसमै फर्किन्छन् भन्ने हामीलाई विश्वास छ ।’

कांग्रेस परित्याग गरेको समूहले डा. स्वर्णिम वाग्लेसँग वार्ता पनि गरिसकेको छ । वार्तामा सहभागी मिलन सुवेदीले आफूहरू छिट्टै नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने प्रतिक्रिया दिए । उनले पार्टी परित्याग उपनिर्वाचन परिणामको उपज नभई पहिलेदेखिकै तयारी भएको बताए । रास्वपासँग राजनीतिक सहकार्य गर्ने दिशातर्फ अगाडि बढेको सुवेदीको भनाइ छ ।

कुनै पनि व्यक्तिले पार्टी छोड्नु पार्टीका लागि गम्भीर विषय भएको कांग्रेस गण्डकी प्रदेश समितिका महामन्त्री विष्णु लामिछानेले बताउँछन् । ‘कुनै पनि व्यक्तिले पार्टी छोड्नु भनेको गम्भीर विषय हो, किनभन्दा एउटा कार्यकर्ता उत्पादन गर्नका लागि एउटा कार्यकर्ता योग्य बन्न थुप्रो समय लाग्छ, पार्टीले धेरै लगानी गरेको हुन्छ,’ उनले भने ।

राजनीतिमा तत्कालै केही पाउनुपर्छ भन्ने सोचले पार्टी परित्याग गरेको महामन्त्री लामिछानेले उल्लेख गरे । ‘कहिलेकाहीँ के हुन्छ भने राजनीतिमा धैर्य भएन भने मान्छेले गर्न सक्दैन, राजनीति भनेको दीर्घकालीन रुपमा दिगो हिसाबले सबैले गर्न सक्ने परिस्थिति बन्दैन,’ उनले भने, ‘राजनीतिमा धेरै कुरा त्याग्न सक्नुपर्छ । कतिपय साथीहरुको सोच तत्कालै केही पाउनुपर्छ भन्ने छ ।’

स्वतन्त्रको लहर देखेर पार्टी परित्याग गर्नु गलत भएको महामन्त्री लामिछाने बताउँछन् । ‘वातावरण के बन्दियो भने स्वर्णिमजी उता गएर जिते, हामी पनि त्यहाँ गएपछि पाइन्छ भन्ने एउटा सोच छ । त्यो सोचचाहिँ गलत सोच हो, राजनीतिमा धैर्य भएन भने काम लाग्दैन । ठिक छ, अहिले स्वतन्त्र पार्टी भर्खर सुरु भएको पार्टी हो धेरै कार्यकर्ता छैनन्, त्यो परिस्थिति बनेको छ,’ उनले भने, ‘सधैँ त्यो परिस्थिति बन्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर