रुसी कूटनीतिज्ञमाथि युक्रेनी सांसदद्वारा मुक्का प्रहार (भिडिओ)
काठमाडौं । युक्रेनी सांसदले रुसका कुटनीतिज्ञमाथि मुक्का प्रहार गरेका छन् । घटना टर्कीको अंकारामा आयोजित ब्ल्याक सी इकोनोमिक कोअपरेसनको बैठकको क्रम भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बैठकको क्रममा चलिरहेको फोटो सेसनमा युक्रेनी सांसद अलेक्जेन्डर मारिकोव्स्की युक्रेनको झण्डा बोकेर उभिएका थिए । सोही क्रममा रुसी प्रतिनिधिले उनको हातबाट झण्डा खोसेर फ्याँकिदिएको सार्वजनिक भएको भिडिओमा देख्न सकिन्छ ।
त्यसलगत्तै युक्रेनी सांसदले रुसी कूटनीतिज्ञमाथि मुक्का प्रहार गरेका थिए । मुक्का प्रहारपछि दुई जनाबीच केही समय भनाभन भएको भिडियोमा देख्न सकिन्छ ।
युक्रेनी सांसद अलेक्जेन्डरले सो घटनाको भिडिओ सार्वजनिक गर्दै रुसी प्रतिनिधिको लागि उक्त मुक्का अत्यावश्यक रहेको बताएका छन् । उक्त भिडिओ द किभ पोस्टका एक पत्रकारले समेत शेयर गरेसँगै इन्टरनेटमा उक्त क्लिप २४ घण्टाभित्र ३० लाखभन्दा बढीले हेरेका छन् ।